
४ मंसिर, काठमाडौं । यसैसाता ८३ वर्षमा लाग्ने झिल्लीप्रसाद पोखरेललाई केही वर्षयताका जनप्रतिनिधिहरुले गरेको काम कारबाहीमा पटक्कै चित्त बुझेको छैन ।
यसपटक उनले मतमार्फत आफ्नो आक्रोश व्यक्त गरे । पञ्चायतदेखि नियमित भोट हाल्दै आएका उनी शनिबारमात्रै सितापाइलाको पद्म कोलोनीबाट हाडीगाउँ नजिकैको राममन्दिरमा आएर बसेका थिए ।

‘पहिले त मुर्खहरुलाई छानिएछ । खाए, मजा गरे, उडाए न देशलाई, न जनतालाई’ आइतबार बिहान हाँडीगाउँमा भेटिएका पोखरेलले मत हालेर निस्केपछि भने, ‘मैले राम्रो मान्छेलाई हाले । जनताको दुःख बुझ्ने, देशलाई टेवा दिने मान्छे छानेर आएँ ।’ उनले त्यो ‘राम्रो मान्छे’ को हो भन्ने चाहिँ खुलाएनन् ।
…
बालुवाटारको राष्ट्र बैंक कार्यालय अगाडि भेटिएका जयबन्धु अर्याल (७०)ले चाहिँ यसपटक आफ्नो रुझान परिवर्तन गरेनन् ।
पहिले जसलाई हाल्थे, त्यहि दोहोर्याए । तर हरेक दलमा वृद्धावस्थासम्म युवापुस्तालाई जिम्मेवारी नदिने कार्यशैलीप्रति उनको आक्रोश छ ।
‘२५ वर्षको हुँदादेखि मेरो पेशा नै यही हो भनेर लागेका छन्’, दिग्दार हुँदै उनले भने, ‘म बुढो नभएसम्म यसैमा लाग्ने हो, हाम्रो अरु के नै काम र पेशा छ र ? राजनीतिमा यो लम्पट हुने शैली ठिक भएन ।’
…
धापासीका किरणदेव पन्त अर्थशास्त्री हुन् । २०५० सालमा स्वेच्छाले स्वास्थ्य मन्त्रालयको जागिर छाडेका उनले यसपटक मध्यमार्गी रुझान अपनाएको बताए । ‘मैले मुड बदलेँ, बुढाहरुलाई छानिन्’ उनले भने, ‘भर्खरका आलाकाँचा पनि मेरो रोजाइमा परेनन् ।’

तर अघिल्लो शैली र स्वरुप भने उनले पुरै बदले । उनी भन्छन्, ‘यसपटक अलि परिवर्तन हुनुपर्छ भन्ने सोचाइ भयो । मैले केही परिवर्तन गरे ।’ सुन्दा अमुर्त लाग्ने उनको यो भनाइ भित्र परम्परागत सोच चाहिँ बदलेको संकेत पाइन्छ ।आक्रोशको ज्वाला
सडकछेवैको व्यापारिक भवनमा जाने सिंढीमा आफ्ना ४/५ जना साथी बटुलेर बसेका बूढानीलकण्ठका रामबहादुर श्रेष्ठ मतदानपछि चरम आक्रोशित अवस्थामा भेटिए । पछिल्लो ५ महिनामा आफ्नो क्षेत्रमा निर्वाचित स्थानीय जनप्रतिनिधिको मुल्यांकन गर्दै उनले भने, ‘काम गर्ने केटाहरु आएनन ।’
त्यसपछि उनी सोझै राष्ट्रिय राजनीतिमा प्रवेश गरे । ‘अहिले हामीले तीनवटा नेताहरुलाई बढार्नुपर्छ भन्ने भावना हो मेरो । टाउकेजति त एउटै आउनु हुँदैन’, उनले आक्रोश पोख्दै भने, ‘यो देश खाने नै यिनीहरु हुन् । पार्टीहरु नराम्रा होइनन, ठिकै थिए । मान्छे नराम्रा भएर निस्किए ।’ उनका कुरा सुनेर बसेका सबैले एकै स्वरमा हो मा हो मिलाए ।
छेवैमा बसेका कृष्णबहादुर शाहले उनलाई रोके, अनि च्याट्ठिएर भने, ‘शेरबहादुर देउवाले ५ पटक प्रधानमन्त्री खाने होइन नि । अरुलाई पनि त मौका दिनुपर्यो त ।’
उनका साथी प्रल्हाद रायमाझीले कुठ्ठी कसेर थपे, ‘अब आउने केटाहरुले देश बनाउनुपर्छ, ठूलो पार्टीका नेताले देश बनाएनन् ।’
पहिलेदेखिकै कुनै दलमा रुझान कायम राख्ने प्रेमबहादुर लामाले चाहिँ ‘भित्र गएर मात्रै कसलाई भोट हाल्ने हो, थाहा हुन्छ’ भन्दा बाँकी साथीहरुले उनलाई गिज्याए र गलल्ल हाँसे । यस्तो अवस्थामा पनि युवा उम्मेदवार छान्न नसक्ने भन्दै उनलाई अरुले गिज्याएका थिए ।
अहिले मतदातालाई रिस उठ्ने अनेक कारण छन् । महंगी बढेको छ । उनीहरु अस्तिसम्म डेढ/दुई सय रुपैयाँ पर्ने तेललाई अहिले किन साढे ४ सय रुपैयाँ पु¥याएको ?’ भनेर प्रश्न गर्छन । मुल्यवृद्धि र महँगीवारे उनीहरुलाई अरु कारण थाहा छैन, सत्तामा बसेका प्रमुख दलहरुका मुख्य नेताहरुका कारण यस्तो भएको ठान्छन् ।
‘अप्ठेरोमा साथ पाएनौं’
काठमाडौं–५ का करिब आधा दर्जन मतदानस्थल घुम्दा कैयौ मतदाताले कोरोना कालमा ब्यहोर्नुपरेको समस्या सम्झिए । अनि आफ्नै क्षेत्रबाट निर्वाचित भएका, त्यतिबेला सरकारको दोस्रो वरीयतामा रहेका उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेलको भूमिका सम्झिए । उनी त्यतिबेला कोरोना महामारी नियन्त्रणसम्बन्धी उच्चस्तरीय संयन्त्रका संयोजक समेत थिए । मतदाताहरुले त्यो बेलामा उनको भूमिकामाथि खुलेरै प्रश्न गरे ।
धापासीको हात्तीचोक केन्द्रमा दौरासुरुवाल र माला लगाएका एमाले उम्मेदवार ईश्वरप्रसाद पोखरेल मतदान गरेर बाहिर निस्किए । त्यसको केहिबेरमा मतदान गरेर निस्किएका राधाकृष्ण खत्रीले ‘रुखलाई भोट हालिदिएँ’ भने ।
अघिल्लोपटक कहाँ मतदान गरेको भनी नबताउने उनले भने, ‘युवा उम्मेदवार रहेछन् । केही गर्छन कि ? जितेर राम्रा काम गरुन् ।’

उनलाई अघिल्ला सांसद पोखरेलको कामकारबाही पटक्कै चित्त बुझेको रहेनछ । अरु बेलामा आफ्नो क्षेत्रमा वास्ता नगर्ने पोखरेलले कोभिड महामारीका बेलामा समेत त्यही रवैया अपनाएको भन्दै उनले आक्रोश पोखे ।
‘त्यस्तो बेलामा त हेरिदिउन भन्ने लागेको हो । उहाँ यहीको मान्छे हो, त्यतिबेला उपप्रधानमन्त्री समेत हुनुहुन्थ्यो । आफ्ना मान्छे मर्न लागेको बेलामा केही गरिदिओस भन्ने आशा त भइहाल्छ नी’ उनले आफ्नो टोलबासीको समेत जिम्मा लिएर भने, ‘यहाँका सबैको धारणा यस्तै छ ।’
मतदान गरेर केन्द्रबाट निस्किएका काठमाडौं– ५ का मतदातामध्ये धेरैले नयाँ उम्मेदवार रोजेको बताए । कांग्रेस उम्मेदवारप्रति आक्रोश व्यक्त गर्नेले समेत एमाले उम्मेदवार पोखरेलको नाम लिएनन् । बरु पोखरेलको विकल्पको रुपमा कांग्रेस उम्मेदवार छान्नेले ‘युवा भएकाले केही आशा जागेको’ प्रतिक्रिया दिए ।
एमाले उम्मेदवार पोखरेललाई शाही शासनकालदेखि फैलिएको एउटा अफवाहले पिरोलिरहेको छ । बूढानीलकण्ठका रामबहादुर श्रेष्ठले समेत त्यही कुरा उप्काए र उनलाई ‘किन फेरी उम्मेदवार हुनुपरेको ?’ भनी प्रश्न गरे । अनि कोरोना महामारीका बेलामा भएको अनियमिततामाथि प्रश्न गरे ।
‘यो एकदमै नराम्रो काम भयो, जनताले किन भोट हाल्ने ?’ उनले भने, ‘कांग्रेसमा पनि राम्रा नेता निस्कन्छन् कि भनेको उस्तै भए । यो (प्रदिप पौडेल) पनि यहाँ नाम कमाउन आएको हो ।’
‘नयाँ अनुहारलाई हेरौं’
पाँच वर्षको अवधि मुल्यांकन गरेका मतदाताहरुले यो अवधिका विकृती र विसंगतिका फेहरिस्त सुनाए । हाँडीगाँउमा भेटिएका झिल्लीप्रसाद पोखरेलले ‘हसुर्ने बाहेक कोही भेटिएन’ भन्दै आक्रोश पोखे । उनलाई नेताहरुले अलिअलि खाए बरु खाउन, तर देश चै बनाउन भन्ने लागेको रहेछ । ‘आफू खाने, आफूमात्रै बाहुबलका भरमा जित्ने तर देश र जनतालाई केही नदिने नगरुन’ उनले भने, ‘नखाउन भन्ने छैन, खानै आएका हुन्, खाउन् । देश बनाएर जनतालाई सुख दिएर खाउन् ।’
बूढानीलकण्ठका रामबहादुर श्रेष्ठलाई हामीले कहाँ भोट हाल्नुभयो भनेर सोध्यौं । उनले नाम उच्चारण गरेनन् । दाहिने हातको मुट्ठी कँसे अनि घण्टी हल्लाएको संकेत गर्दै मुट्ठ हल्लाए, अनि लामो हाँसो हाँसे ।
‘युवाहरु यो देशमा निराश भएर बाहिर गएका छन । धनीका छोराछोरी अमेरिका अष्ट्रेलिया गए । गरिबका छोराछोरी ५० डिग्री तातो खान खाडीतिर गएका छन्’, उनले भने, ‘विदेशमा भएका ८० लाख केटाहरुलाई देश फर्काउनुपर्छ ।’
काठमाडौं– ५ का मतदाताहरुले एकसाथ दुई आक्रोश व्यक्त गरिरहेको देखिन्थ्यो । एमाले उम्मेदवार पोखरेलमाथि आक्रोश व्यक्त गर्नेले नयाँ अनुहार हेर्ने भन्थे । उनीहरुले भनेको नयाँ अनुसार को हो भनी सोध्दा कि कांग्रेस उम्मेदवार प्रदिप पौडेलको नाम लिन्थे, कि घण्टी भन्थे । घण्टीको नाम लिनेलाई उम्मेदवारको नाम सोध्दा अक्मकाउथे, अनि रवि लामिछानेको पार्टी भन्थे । कांग्रेस र एमालेप्रति आक्रोश व्यक्त गर्नेमध्ये कतिपयले समानूपातिकमा घण्टी छानेको जवाफ दिन्थे ।
‘अब त सुध्रिए हुने’
कुराकानीका क्रममा केही मतदाताहरु भने आशावादी पनि देखिए । उनीहरुमध्ये अधिकांशले मुलुकको अनियमितता र बेथितीलाई प्रमुख समस्या मान्दै ‘भ्रष्टाचार नियन्त्रण’लाई प्राथमिकता दिनुपर्ने बताए ।
बालुवाटारअघि भेटिएका जयबन्धु अर्यालको विचारमा ‘यिनीले भ्रष्टाचार मात्रै नगरे’ धेरै सुधार हुने थियो । दलहरुविचको एक आपसमा अनि दलभित्रकै गुटबन्दीलाई निरुत्साहित गर्नुपर्ने सुझाव दिएका उनले पछिल्लो पाँच वर्षमा जनता निराश हुनुमा ‘गुटबन्दी’ प्रमुख कारण रहेको बताए ।

धापासीकी सावित्रा गिरीलाई शिक्षा र स्वास्थ्यक्षेत्रलाई प्राथमिकता दिनुपर्छ भन्ने लागेको छ । यसअघिका उम्मेदवारहरुले ‘अपेक्षा पुरा नगरेपनि’ अब गर्लान कि भन्ने उनको आशा रहेछ । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा जनप्रतिनिधीहरुले प्राथमिकता दिए हुने भन्ने आफनो आशा बारम्बार दोहो¥याइन । ‘बिरामी भएर उपचार गर्दा घरघडेरी जान्छ, शिक्षा उस्तै महंगो छ, सुरक्षा छैन, रोजगारीको समस्या छ, के के छन् केके’ उनले भनिन्, ‘सुरुमा चै स्वास्थ्य र शिक्षाक्षेत्रमा सुधार गरे हामीजस्ताको कल्याण हुने थियो ।’
मतदानकेन्द्रबाट निस्किँदा हामीले भेटेका अर्थशास्त्री किरणदेव पन्तले अबको नेतृत्वले आफूले मत व्यक्त गर्ने शैली बदल्नुको तीन कारण सुनाए । नागरिकको आम्दानीको बढोत्तरी, रोजगारीको अवसरको विस्तार र उत्पादनमा जोड दिनु नै अहिले मुलुकको कल्याण हुने उनले बताए ।
‘अहिले बालेनजी आउनुभको छ, तर कुनै असर देखिएको छैन त’ उनले भने, ‘ढलानको विकासले मात्रै केही हुदैन । यी तिन कुरा नभई नेपालीको सपना पुरा हुँदैन, जति कराए पनि केही हुँदैन ।’
हामीले हाडीगाउँमा नवराज र शोभाषा घिमिरेलाई पनि भेट्यौं । ८९ वर्षीय नवराज बिहानै मतदान गरेर बाहिर निस्कदै थिए । उनीसँग हामीले कुराकानी गर्न खोज्यौं । उनले ज्यादा टिकाटिप्पणी गर्न चाहेनन् । सबैले आफ्नो कर्तव्य मात्रै पूरा गरे पुग्ने बताए ।
‘ठिकै छ, नागरिकको कर्तव्य भोट हाल्ने हो, मैले हालेँ’ उनले भने, ‘पहिलेकाले कस्तो काम गरे, टिप्पणी नगरौं । अब राम्रो गर्लान भन्ने आशा गरौं ।’
कृष्ण ज्ञवाली, दिपेश शाही, रामकुमार डिसी, अच्युत पुरी, विजय पराजुली, नसना बज्राचार्य, नुनुता राईको रिपोर्टिङ
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4