
५ मंसिर, काठमाडौं । मकवानपुर क्षेत्र नम्बर २ को मतगणनाको तयारी गरिएको छ । निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलले सर्वदलीय बैठक सम्पन्न भएको र ११ बजेदेखि मतगणना सुरु हुने जानकारी दिए ।
उनका अनुसार हेटौंडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माविमा मतगणना गरिने छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना एकैपटक गरिने छ । एकैपटकमा १० स्थानमा मतगणना गर्ने तयारी भएकाे सहायक निर्वाचन अधिकृत तिर्थराज भट्टराइले बताए । मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ । एक साता भित्रमा सबै नतिजा आइसक्ने उनले बताए ।
मतगणनाको नतिजाको विवरण संकलनका लागि सूचना डेस्कको व्यवस्था गरिएको छ । निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलका अनुसार मतपरिणामको जानकारी दिन आधिकारिक व्यक्ति तोकिएको र ‘वान डोर सिस्टम’बाट मात्र सूचना प्रवाह हुनेछ ।
मकवानपुर २ मा महेश बर्तौला नेकपा एमालेबाट, विरोध खतिवडा एकीकृत समाजवादीबाट, राजन मैनाली राप्रपाबाट र भरत पराजुली राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् ।
आइतबार भएको निर्वाचनमा मकवानपुरमा १ लाख ७८ हजार २८२ जनाले मतदान गरेका थिए, जसमा ९२ हजार ८७७ पुरुष, ८५ हजार ४०० महिला र ५ जना तेस्रो लिङ्गीले मतदान गरेका थिए । मकवानपुरमा ३ लाख ७३३ मतदातामध्ये प्रारम्भिक तथ्यांक अनुसार ५९ प्रतिशत मात्रै मत खसेको सहायक निर्वाचन अधिकृत भट्टराईले बताए ।
प्रतिक्रिया 4