
५ मंसिर, काठमाडौं। ललितपुर-२ को मतगणनामा एमालेका प्रेमबहादुर महर्जनले अग्रता लिइरहेका छन् । उनीसँग सत्तारुढ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीको चर्को प्रतिस्पर्धा हुने ठानिएको थियो ।
तर सबै प्रतिष्पर्धीलाई आश्चर्यमा पार्दै हाम्रो नेपाली पार्टीका उम्मेदवार डा. सुदिन शाक्य दोस्रो स्थानमा छन् । महर्जन र शाक्यको विचमा करिब १४ सय मतको फरक छ । उनीसँग प्रतिस्पर्धा गरिरहेका तेस्रो स्थानका उम्मेदवार त्यो भन्दा बढी मतान्तरमा छन् ।
ललितपुर तलछेंका स्थानीय सुदिन शाक्य पेशाले दन्तचिकित्सक हुन् । उनी नेशनल डेन्टर हस्पिटलको कार्यकारी निर्देशक भइसकेका छन् । ज्योती भवनमा उनको आफ्नै क्लिनिक छ ।
त्यसबाहेक उनले पाटनका विभिन्न टोलहरुमा क्लिनिक चलाएर दाँतको उपचार गरिरहन्छन् । उनले लुम्बिनीमा समेत क्लिनिक चलाएका छन् । कान्तिपथको बाहेक अन्यत्रको डेन्टल क्लिनिक समाजसेवाको भावनाबाट सञ्चालन भइरहेको उनका दाजु सुवर्ण शाक्य बताउछन् ।
४४ वर्षीय शाक्य समाजसेवाको साथसाथै राजनीतिमा पनि लाग्छु भनेर यसपटक उम्मेदवार बनेका हुन् । हाम्रो नेपाली पार्टीले देशभरका उम्मेदवारहरुलाई आफ्नो मनोनयनपत्र दिएर उम्मेदवार बनाएको थियो । उसले आफ्नो पार्टीको नाम समेत लौरो अभियान भनी प्रचारप्रसार गरेकोमा निर्वाचन आयोगले आपत्ति जनाएको थियो ।
टोलका क्रियाकलापमा सक्रिय हुने, सबैतिर क्लिनिक सञ्चालन गर्ने र रोटरी क्लबमा पनि आवद्ध भएकाले सुदिनले मत पाएको उनका दाजु सुवर्णको अनुमान छ । पेशाले कम्प्यूटर इञ्जिनियर सुवर्ण पुल्चोक क्याम्पसमा अध्यापनरत हुने भएकाले भाईको प्रचारप्रसार अभियानमा समेत सहभागी हुन पाएनन् ।
‘ऊ ५-७ जनाको सानो टोली बनाएर हिडिरहको थियो’ सुवर्णले भने, ‘पक्कै पनि पुराना नेताहरुदेखि दिक्क भएर यसले त केही गर्ला भनेर मत दिएको हुनुपर्छ । परिवर्तनको चाहना होला ।’
सोमबार सातदोवाटोस्थित मतगणनास्थलमा भेटिएका शाक्यले जनताले नयाँपन खोजेको पुष्टि भएको बताए । ‘मैले अघि सारेको एजेण्डा जनताबाट अनुमोदन भएकोमा उत्साहित छु’ उनले भने, ‘मतगणना हुँदै गर्दा मैले अझै साथ पाएर जिन्नेछु भन्ने विश्वास पलाएको छ ।’
प्रतिक्रिया 4