
५ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना भोलि बिहानदेखि हुने भएको छ । मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले स्वास्थ्य समस्याको कारण देखाउदै भोलि बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले भोलि मात्र मतगणना गरिने जानकारी दिए । ‘मुख्य निर्वाचन अधिकृत ज्यू स्वास्थ्यमा समस्या देखिएपछि आराम गरिरहनुभएको छ,’ भट्टले भने, ‘अब भोलि बिहान ८ बजेदेखि मतगणना गर्ने कुरा भएको छ । यसमा सबै दल र उम्मेदवार सहमत भएका छन् ।’
यसअघि आज दिउँसो १ बजेदेखि हुने भनिएको मतगणना मुख्य निर्वाचन अधिकृतको स्वास्थ्य समस्याका कारण अनिश्चित बनेको थियो ।
सर्वदलीय बैठकमा सत्तारुढ गठबन्धनले वडागत रुपमा गणना गर्नुपर्ने र एमालेसहितका अन्य दलले एकमुष्ट गणना हुनुपर्ने माग राखेपछि विवाद भएको थियो । सोही क्रममा मुख्य निर्वाचन अधिकृत ढलेपछि बेहोस भएका थिए ।
दिउँसो ३ बजेसम्म आराम गर्न समय मागेपछि दलहरु सहमत भएका थिए तर ३ बजेपछि पनि गणना नभएपछि एमाले र स्वतन्त्र उम्मेदवार समर्थकले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजीसहित प्रर्दशन गरेका थिए ।
प्रतिक्रिया 4