
६ मंसिर, बुटवल । नेपाल हज समितिले साउदी अरबको मक्का मदिनामा जाने हज यात्रीको कोटा (संख्या) बढाइदिन सरकारसंग माग गरेको छ ।
नेपाल हज समितिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी नेपालबाट हज यात्रामा जान चाहने इस्लाम धर्मावलम्बीहरु धेरै हुने तर जान पाउने संख्या ज्यादै कम भएकाले संख्या बढाउन माग गरेको हो ।
नेपाल हज समितिका अध्यक्ष शमशेर मियाले नेपाल सरकारले साउदी अरब सरकारसँग उच्चस्तरीय वार्ता गरेर हज यात्रामा जाने धर्मावलम्बीको माग सम्बोधन गर्नुपर्ने बताए । ‘हरेक वर्ष २ हजार जना भन्दा धेरैले हज यात्रा गर्न हज समितिमा नाम दर्ता गराउनुहुन्छ तर ६ सय जना पनि जान पाउनुहुन्न,’ मियाले भने, ‘नेपाल सरकारले साउदी सरकारसँग वार्ता गरेर इस्लाम धर्मावलम्बीको माग सम्बोधन गर्नुपर्छ ।’
हरेक वर्ष बकर इदका बेला विश्वभरका लाखौं इस्लाम धर्मावलम्बी डेढ महिनाका लागि साउदी अरबको मक्का मदिना जाने गर्दछन् । यो वर्ष ५६३ जना मात्र हज यात्रामा जान पाएका र यसको तेब्बर संख्या जान नपाउँदा हज समितिमाथि गुनासो आउने गरेको अध्यक्ष मियाले बताए ।
साउदी सरकारले नेपालबाट जाने हज यात्रीका लागि आवश्यक सबै सुविधा सहजरुपमा उपलब्ध गराएर नेपाल हज समितिलाई व्यवस्थापनमा सहज बनाएको अध्यक्ष मियाले बताए । साउदी सरकारल वार्षिक १० प्रतिशत आम्दानी हज यात्रीबाट गर्ने गरेको उनले बताए ।
प्रतिक्रिया 4