
६ मंसिर, गुल्मी । गुल्मी-१ अन्तर्गत कालीगण्डकी गाउँपालिका–२ अर्बेनीस्थित भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंगलबार पुनः मतदान भएको छ । एक हजार ३६९ मतदातामध्ये ९१६ जनाले मतदान गरेको निर्वाचन अधिकृत नवराज भण्डारीले बताए ।
प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले मतदान सकेर मतपेटिका सदरमुकाम तम्घास ल्याउने क्रममा रहेको बताए ।
४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरेर पुनः मतदान गरिएको हो ।
यो केन्द्र बाहेक जिल्लाका अन्य मतदान केन्द्रको मतदान सकेर जिल्ला सदरमुकाम तम्घासमा मतपेटिका ल्याइसकिएको छ । मंगलबार मतदान भएको केन्द्रको मतपेटिका पनि ल्याएपछि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस निर्वाचन क्षेत्रमा प्रतिनिधि सभामा एमालेबाट प्रदीप ज्ञवाली र नेपाली कांग्रेसबाट चन्द्र भण्डारी प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया 4