+
+

उदयपुर– २ बाट एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित 

ऋषि राई ऋषि राई
२०७९ मंसिर ६ गते १९:५१

६ मंसिर, उदयपुर । उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् ।

रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ल्याए । त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मत ल्याउँदै तेस्रो भए ।

४ गाउँपालिका र १ नगरपालिका सहित ५ स्थानीय तह रहेको यस क्षेत्रमा रायमाझीले पहिलो पटकको चुनावी अनुभवमै जित निकालेका हुन् ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा सत्ता गठबन्धन बलियो देखिएको यस क्षेत्रमा नेपाली कांग्रेसका रामकुमार राईले बागी उम्मेदवारी दिएका थिए । जसले गर्दा एमालेको जित सहज भएको सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरु नै बताउँछन् ।

को हुन् रायमाझी ?

३ दशक भन्दा बढी एमालेको राजनीतिमा क्रियाशील रायमाझी पहिलो पटक चुनावी मैदानमा उभिएका थिए । २०२६ साल जेठ २ मा जिल्लाको रौतामाई गाउँपालिका–६ मा जन्मिएका रायमाझी हाल वडा नम्बर ७ का स्थायी वासिन्दा हुन् ।

२०४३ सालमा अध्ययनका लागि राजविराज पुगेपछि उनले अनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका थिए । उनी हाल एमालेको प्रदेश १ कमिटीको सचिवालय सदस्य छन् ।

पञ्चायती शासन व्यवस्थामा व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने मान्यताका साथ राजनीतिमा सक्रिय भएको रायमाझी बताउँछन् । ‘क्याम्पसमा त्यतिबेला स्ववियु राजनीतिको प्रभाव थियो त्यसैले संगठनमा आवद्ध भएँ’, रायमाझी भन्छन्, ‘मुलत त्यतिवेला समाज परिवर्तन गर्नुपर्छ, व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले राजनीतिमा जोडिएको थिएँ ।’

२०४२ सालमा उदयपुरगढीबाट एसएलसी दिएका रायमाझीले स्नातक उत्तीर्ण गरेका छन् । उनले त्रिभुवन विशवविद्यालयबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । उदयपुर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष र सगरमाथा–काठमाडौं अञ्चल सम्पर्क कमिटीको कार्यवाहक अध्यक्ष भएर काम गरिसकेका रायमाझी इमान्दार, शालीन, भद्र, पार्टीका वफादार, वैचारिक क्षमता भएका नेता र कुशल नेतृत्वकर्ताको रुपमा स्थापित छन् ।

राजविराजमा विद्यार्थी राजनीति गर्दा गिरफ्तारमा परेका उनले २०६२/६३ को जनआन्दोलनका क्रममा पनि १९ दिन हिरासतमा बसे । ‘सम्पर्क मञ्चबाट गतिविधि गर्दैगर्दा पहिलो दिन नै पक्राउ परेको थिएँ’, रायमाझीले भने, ‘राजाको कालमा पनि गिरफ्तारमा परेको थिएँ ।’

उनी मुर्कुचीस्थित रौता जनता क्याम्पसको सञ्चालक समितिमा दोस्रो कार्यकाल अध्यक्ष भएर काम गरे । उनले मुर्कुची स्वास्थ्यचौकीमा श्वास प्रश्वाससम्बन्धी रोगको उपचार गराउन आएका विरामीलाई लक्षित गरी विभिन्न उपकरण सहयोग गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?