+
+

सुरेन्द्र पाण्डेले भने- पार्टीले निर्णय गरे मुख्यमन्त्रीका लागि तयार छु

विकास मरहट्टा विकास मरहट्टा
२०७९ मंसिर ७ गते १३:१३

७ मंसिर, गोरखा । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गोरखा-२ को (२) प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीका दाबेदारमध्ये एक हुन् ।

केही समयअघि भच्चेकमा चुनावी कोणसभालाई सम्बोधन गर्ने क्रममा डा. बाबुराम भट्टराईले प्रचण्डलाई भावी प्रधानमन्त्री र पाण्डेलाई गण्डकी प्रदेशका भावी मुख्यमन्त्रीका रुपमा चिनाएका थिए । गण्डकीबाट प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गरेका नेताहरुमा पाण्डे वरिष्ठममध्येमै पर्छन् ।

गोरखा–२ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका पाण्डे मुख्यमन्त्री बन्ने आशमा प्रचण्डलाई स्थान दिंदै प्रदेशमा झरे । अहिले उनी निर्वाचित पनि भइसकेका छन् । उनले आफू मुख्यमन्त्रीको दाबेदार रहे पनि पार्टीको आधिकारिक निर्णय अगाडि यसबारे प्रतिक्रिया नदिने बताएका छन् ।

निर्वाचित भएपछि अनलाइनखबरसँगको कुराकानीमा पाण्डेले भने, ‘मैलै एक्लैले मुख्यमन्त्री हुन्छु भनेर भएन, आधिकारिक रुपमा पार्टीले निर्णय गर्नुपर्छ, पार्टीले निर्णय गरे म तयार छु ।’

सबै दललाई साथमा लिएर प्रदेशको विकास र समृद्धिका लागि अघि बढ्ने उनले बताए । ‘समग्रमा गठबन्धनको बहुमत आउने सम्भावना देखिएको छ,’ उनले भने, ‘तर पक्ष प्रतिपक्षभन्दा पनि सबै दल मिलेर अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो, सबैलाई साथमा लिएर अघि बढ्न मेरो सकारात्मक भूमिका रहन्छ ।’

कुराकानीका क्रममा उनले आफ्ना योजना र एजेण्डाबारे पनि जानकारी गराए । आफ्नो निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार र बाह्रै महिना सवारी आवागमन हुने सडकहरु निर्माण गर्ने योजना रहेको उनले बताए ।

त्यस्तै परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै लैजाने र जिल्लावासीको आम्दानीको स्रोत बढाउन पनि पहल गर्ने उनको योजना छ । प्रदेशलाई आर्थिक रुपमा सबल बनाउन पर्यटन, जलविद्युत र कृषिलाई प्राथमिकता दिने उनको भनाइ छ ।

संसदीय दलको चुनाव कहिले हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘सबै ठाउँमा मतगणनाको नजिता आइसकेको छैन, समानुपातिक तर्फको पनि सबै गणना सकेपछि पार्टीले निर्णय गर्छ ।’

१५ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका पाण्डे नेविसंघको केन्द्रीय सदस्य समेत बने । त्रिचन्द्र कलेजमा अध्ययनरत हुँदा उनी गोरखा काठमाडौं सम्पर्क समिति नेविसंघको अध्यक्ष हुँदै तरुण दलको केन्द्रीय सदस्य र महासचिवसम्म बने ।

तेस्रो कार्यकाल पनि पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित बनेका उनी गोरखाबाट लगातार पार्टी महासमिति सदस्यमा छन् । २०७४ सालमा दुई वर्षका लागि राष्ट्रियसभा सदस्य बनेका उनी पार्टीको संसदीय दलको नेता पनि भए । पालुङटार नगरपालिका–१ खोप्लाङ घर भएका पाण्डेले अमरज्योति मावि लुइटेलबाट माध्यमिक तह सकेर थप अध्ययनका लागि काठमाडौं गएका थिए ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?