
पोखरा । कास्की क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा नेकपा एमालेका गणेशमान गुरुङ विजयी भएका छन् । उनले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई पराजित गरे ।
गुरुङले १४ हजार ४७३ मत ल्याउँदा भण्डारीले ९ हजार ६६१ मत पाएका छन् । जनता समाजवादी पार्टीबाट गत फागुन १३ गते एमाले प्रवेश गरेका गुरुङले प्रदेशको टिकट पाएका गुरुङले भारी मतान्तरले चुनाव जितेका छन् ।
२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति थालेका गुरुङ २०६९ सालमा जातीय पहिचानको मुद्दा बोकेर एमालेबाट विद्रोह गरेर अशोक राईसँगै संघीय समाजवादी पार्टीतिर लागेका थिए । कास्की क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष समेत भएका गुरुङ जनता समाजवादी पार्टी हुँदा गण्डकी इन्चार्ज तथा केन्द्रीय सदस्य थिए ।
एमालेमा हुँदादेखि नै सांसदको टिकटबारे चर्चामा रहने गुरुङ फेरि एमाले फर्किएर गण्डकी प्रदेशसभा सदस्य बन्न सफल भएका हुन् । माओवादीबाट उम्मेदवार बनेका भण्डारी अर्को क्षेत्रबाट चुनाव उठेको भन्दै माओवादीभित्रै असन्तुष्टि थियो । भण्डारी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बालसखा हुन् ।
प्रतिक्रिया 4