
७ मंसिर, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले अग्रता बढाएका छन् । यो क्षेत्रमा पर्ने २८ वटा वडामध्ये हालसम्म ९ वटाको गणना भएको छ, पाण्डेले १४ हजार ४७१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका माओवादी केन्द्रका डा.भोजराज अधिकारीले ७ हजार ९८९ मत ल्याएका छन् ।
गत वैशाखमा भएको स्थानीय निर्वाचनको मतका आधारमा चितवन– ३ मा सत्ता गठबन्धन अगाडि हुनुपर्ने हो । तर सत्ता गठबन्धनमा मत छिन्नभिन्न भएको छ । निकै अगाडि देखिन्छ तर त्यसको ६ महिना पछि नै भएको संघीय निर्वाचनमा गठवन्धनको मत छिन्न भिन्न भएको छ । एमालेले समर्थन गरेका कनेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइराला चौथो स्थानमा छन् ।
जहाँ विक्रम पाण्डे कमजोर भनिएको थियो, त्यही ठाँउमा उनले अग्रता लिएका छन् । भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिकाको ९ वडा यो क्षेत्रमा पर्दछ । महानगरका वडा नं. ६, ८, ९ मा राप्रपा कमजोर मानिएको थियो । तर यही वडाहरुमा पाण्डेले राम्रो मत पाएका छन् ।
हालसम्म वडा नं. ६, ८, ९, १४, १५, १६, १८, १९ र २० को मत गणना भएको छ । गणना गरिएका सबैजसो वडा कांग्रेसको प्रभाव क्षेत्र मानिन्छ, तर त्यही वडाहरुबाट सोचेभन्दा राम्रो मत पाएका कारण राप्रपा उम्मेदवार पाण्डे उत्साहित छन् । पाण्डे महानगरका जति पश्चिमतर्फ पुग्छन्, त्यहाँ अझ भोट पाउने उनको विश्वास छ । वडा नं. २३, २४, २५, २६, २७ र २८ मा पाण्डेको अग्रता अझै बढ्ने छ भने माडी नगरपालिकामा पुग्दा गठवन्धनका उम्मेदवार भन्दा पाण्डेको मत अझै बढी आउने राप्रपा नेताहरु बताउँछन् ।
निर्वाचन क्षेत्र–३ अन्तर्गत पर्ने २८ वटा वडामध्ये गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले एक्लैले १० वडा जितेको छ । माओवादी केन्द्र ७ र एमालेले ४, एकीकृत समाजवादीले ४, राप्रपाले २ वटा वडा र एक वटा वडामा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् । गएको स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा सत्ता गठवन्धनका वडाध्यक्ष उम्मेदवारहरुको मत ४५ हजार १७२, एमालेका उम्मेदवारले ३० हजार ६०९ र राप्रपाका उम्मेदवारले ७ हजार ४५४ मत पाएका थिए । राप्रपाका वडाध्यक्षहरुले ७ हजार ४५४ भोट ल्याएका छन् ।
तर पाण्डेले यसपटक सबै पार्टीका मत खाएका छन् । कांग्रेसले समर्थन गरेका माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीलाई कांग्रेसको मत आएको देखिँदैन भने दिनेश कोइरालाले पनि एमालेबाट सबै मत पाउन सकेका छैनन् । दुई ठूला दल कांग्रेस र एमालेको आफ्नै उम्मेदवार नभएको फाइदा पाण्डेलाई भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार जिता बराललाई समेत प्रतिस्पर्धी भोट गएको छ ।
२०७४ सालको निर्वाचनमा वाम गठवन्धनबाट तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाण्डेलाई झण्डै १० हजार मतान्तर हराएका थिए । त्यतिबेला कांग्रेसको समर्थन पाएका पाण्डेले ३८ हजार ९ सय ४३ मत ल्याएका थिए । प्रचण्ड फेरि पनि चितवनबाट नै लड्न चाहन्थे, उनले त्यसको तयारी पनि गरेका थिए । तर अन्तिम समयमा चितवन छाडेर गोरखा–२ गए ।
यसपटक प्रचण्ड नै उठेको भएपनि पाण्डेले जित्ने दाबी राप्रपा भरतपुर महानगर समिटिका सचिव सुलभ सिग्देल बताउँछन् । सिग्देल भन्छन्, ‘यसपटक हामी हार्न उठेको होइन, जस्तोसुकै परिस्थितिमा पनि जित्ने गरी तयारी गरेका थियौं, जनताले पनि पत्याउनुभएको छ, मलाई लाग्छ हामी १५ हजारभन्दा बढि मतान्तरले चुनाव जित्छौं ।’
प्रतिक्रिया 4