
७ मंसिर, पोखरा । कास्की–३ मा नेकपा माओवादी केन्द्रले टिकट पाउने हो भने प्रदेशका दुबै सिट नेपाली कांग्रेसले पाउनुपर्ने नेताहरुको अडान थियो । तर, यो क्षेत्रमा प्रतिनिधिसभामा माअोवादीका रामजी बराल र प्रदेशसभा १ पनि माओवादीकै दुर्गादत्त भण्डारीले टिकट पाए ।
टिकट पाएपछि बल्ल खोजी भयो, माओवादीबाट टिकट पाउने भण्डारी को हुन् ? खासै चर्चा नआएका र जिल्लाभर नचिनिएका भण्डारीले प्रचण्डकै कारण टिकट ल्याएको माओवादी नेताहरु बताउँछन् । भण्डारी कास्की ढिकुरपोखरीको ल्यावाडेमा जन्मिएका प्रचण्डका बालसखा हुन् । ढिकुरपोखरीबाट प्रचण्ड चितवन सर्नुअघिसम्म भण्डारी बालसखा थिए ।
प्रचण्डकै दबाबमा टिकट पाएका तिनै भण्डारीलाई हराउँदै नेकपा एमालेका नेता गणेशमान गुरुङ विजयी भएका छन् । जातीय पहिचानको मुद्धा उठाउँदै एमालेबाट विद्रोह गरेर १० वर्षपछि एमाले फर्किएका गुरुङले भण्डारीलाई भारी मतान्तरले हराउँदै प्रदेश सभा सदस्य निर्वाचित भए ।
गणेशमानले १४ हजार ४ सय ७३ मत ल्याउँदा भण्डारीले जम्मा ९ हजार ६ सय ६१ ल्याएका छन् । कास्की–३ को २ का वासिन्दा भण्डारीलाई प्रचण्डकै दबावमा प्रदेश सभा १ तिर टिकट दिएपछि माओवादीभित्रै चर्को असन्तुष्टि थियो ।
प्रदेशसभाको दुईवटै क्षेत्रको उम्मेदवार आफूहरुको हुनुपर्ने मागमा रहेको कांग्रेस पनि एक क्षेत्र माओवादीलाई दिएकामा असन्तुष्ट थियो । जसको फाइदा उठाउँदै गणेशमान गुरुङ संसदबाट आवाज उठाउने ठाउँमा पुगेका छन् ।
माओवादी उम्मेदवार भण्डारी माओवादी प्रदेश कमिटी सदस्य तथा अन्नपूर्ण गाउँपालिका इन्चार्ज थिए । तर, उनका लागि हक्की स्वाभावका विद्रोही गणेशमान भारी परे । १० वर्षअघि जातीय पहिचानको मुद्धा बोकेर एमालेबाट बिद्रोह गरेका गणेशमान गत फागुन १३ केपी केपी ओलीको हातबाट टीका लगाउँदै एक दशकपछि एमालेमै फर्किएका थिए ।
एमाले हुँदा पटक पटक सांसदको चर्चामा रहे पनि टिकट नपाएका गुरुङले एमाले फर्किएलगत्तै प्रदेशको टिकट पाएर सांसद बनेका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज गणेशमान जसपा विभाजनपछि एमाले छिरेका हुन् ।
‘लाहुरे भनेकै मलायाको, नेता भनेकै केपी ओली’ भन्दै फर्किएका गणेशमान एमालेमै रहिरहेको भए यसअघि नै संघीय सांसद भइसक्ने एमालेकै नेताहरु बताउँथे । २०२६ सालमा विद्यार्थी आन्दोलनबाट एमाले राजनीति सुरु गरेका गणेशमानले ४८ सालदेखि नै चुनावी मोर्चा सम्हाल्दै उम्मेदवारलाई जिताउन लागेका थिए । त्यो बेला नै उनी टिकटका आकांक्षी थिए ।
२०५६ सालको निर्वाचन पनि उनी टिकटका लागि आकांक्षी थिए । २०६४ सालमा उनको नाम प्रस्ताव भएर पनि टिकट पाउन सकेनन् । एमाले क्षेत्रीय अध्यक्ष हुँदै जिल्ला कमिटीमा रहेका गणेशमानले २०७० सालको चुनाव अघि नै अशोक राइहरुसँगै पार्टी छाडेका थिए ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा उनी केन्द्रीय सदस्य तथा गण्डकी इन्चार्ज थिए । तर, जसपा पनि छिन्नभिन्न भएको भन्दै एमाले फर्किएका गणेशमानलाई त्यो बेला नै अबको सांसदको रुपमा हेरिएको थियो ।
लामो समयदेखि होटल व्यवसायमा लागेका गणेशमान आफ्नो प्रभाव देखाउन सक्ने नेताका रुपमा चिनिन्छन् । संघीय सांसदकै टिकट पाउने चर्चा भए पनि प्रदेश सभाको टिकट पाएर विजयी गुरुङले अब संसदबाट जनताको पक्षमा बोल्ने बताउँछन् ।
प्रतिक्रिया 4