
७ मंसिर, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन् । चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत पाए । ८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।
यस क्षेत्रबाट ०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट विमल श्रीवास्तवले बाजी मारेका थिए । चौरसिया श्रीवास्तवसँग पराजित भएका थिए । श्रीवास्तवले २१ हजार १६९ मत पाउँदा अजयले १९ हजार ७०४ मत पाएका थिए । पछिल्लो समय लोसपामा रहेका श्रीवास्तवले राजनीतिबाट सन्यास लिने घोषणा गरिसकेका छन् ।
यस्तो छ चौरसियाको राजनीतिक यात्रा
पर्साको विन्दवासिनी गाउँपालिका ४, अमरपट्टीमा २०२१ माघ १५ गते जन्मिएका चौरसिया, हाल वीरगञ्ज महानगरपालिका-११ मा बस्छन् । भारतबाट अलंकारमा स्नातक तह उतिर्ण गरेका उनी नेपाल फर्किएपछि राजनीतिमै सक्रिय छन् । २०४८ सालतिर सद्भावना पार्टीमा रहेका नेता चौरसिया ०५१ सालदेखि नेपाली कांग्रेसमा छन् ।
उनी २०५२ सालमा कांग्रेसको ९औं महाधिवेशनबाट महाधिवेशन महासमिति सदस्य, जिल्ला कार्यसमिति सदस्य बनेका थिए भने २०६६ मा भएको १२औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित उनी १३औं र १४औं महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भए ।
चौरसियाको संसदीय यात्रा भने ०५६ बाट सुरु भएको हो । ०५६ मा उनी पर्सा क्षेत्र नम्बर २ बाट सांसदमा निर्वाचित भए । २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी स्थानीय विकास मन्त्रालयको सहायक मन्त्री समेत बने । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नं ३ बाट चुनाव जिते । ०७० र ०७४ सालको संविधान सभा निर्वाचन उनका लागि सुखद् रहेन । राजनीतिक आन्दोलनमा सक्रिय नेता चौरसिया ०६२/६३ को आन्दोलनमा पौने ४ महिना जेल पनि परेका थिए ।
प्रतिक्रिया 4