
७ मंसिर, काठमाडौँ । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणले मतगणनामा अग्रता कायम राखेका छन् ।
रुपन्देही-३ मा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाण र तीन दलीय तर्फबाट राप्रपाका वरिष्ठ नेता दीपक बोहरा सहित २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
रुपन्देही-३ प्रतिनिधि सभा सदस्यको सोमबार दिउँसो देखि मतगणना सुरु भएको हो ।
मतगणना सुरु भएदेखि खाणले अग्रता कायम राखेका छन् । मंगलबार दिउँसो राप्रपाका बोहराले केही समय अग्रता लिएपनि खाणले पुन: बोहरालाई पछि पार्दै गणनामा निरन्तर अघि बढिरहेका छन् ।
रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार खाणले १५ हजार ७७ मत प्राप्त गर्दा बोहराले १४ हजार २०७ मत प्राप्त गरेका छन् ।
रुपन्देही-३ मा ४६ वटा मतदान स्थलमा १ सय ४६ वटा मतदान केन्द्र छन् । १ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेकोमा यस क्षेत्रमा ९२ हजार ९ सय ७२ (७० दशमलव ५) मतदान भएको रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4