
काठमाडौं । एक वर्षमा ३४ अर्ब ३५ कराेड लगानीमा ३०९ वटा उद्योग दर्ता भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा २८ हजार ५२७ जनालाई राेजगारी सृजना गर्नेगरी उद्योग दर्ता भएको ८औं राष्ट्रिय उद्योग दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उद्योग विभागले जानकारी दिएको हो ।
यससँगै देशभर उद्योगहरुकाे संख्या ८ हजार ७६४ पुगेको छ भने दर्ता उद्योगहरुकाे कुल पूँजी २ खर्ब ६२ अर्ब ७२ कराेड हाराहारी पुगेको छ ।
विभागकाअनुसार यस अवधिमा सबैभन्दा धेरै उद्योग गण्डकी प्रदेशमा र सबैभन्दा कम उद्योग सुदूरपश्चिम प्रदेशमा दर्ता भएका छन् । गण्डकीमा १०३ वटा उद्योग दर्ता हुँदा सुदूरपश्चिम प्रदेशमा वर्षभरिमा कुल १२ उद्योग दर्ता भएका छन् । लुम्बिनी प्रदेशमा ८४, बागमतीमा ३६ र कर्णाली प्रदेशमा ४१ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ । यस्तै मधेस प्रदेशमा १८ र प्रदेश १ मा कुल १५ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ ।
गत वर्ष दर्ता भएका मध्ये ९१ वटा उद्योग ठूलो,१०८ वटा मझौला र ११० वटा उद्योग साना रहेका छन् । जसमध्ये ५२ कराेड ८९ लाख लगानीमा कृषि वन पैदावरमा आधारित उद्योगकाे संख्या २१ भने १७ अर्ब ७ करोड ६७ लाख लगानीमा उर्जा क्षेत्रमा ५० वटा उद्योग दर्ता भएका छन् ।
पूर्वाधार क्षेत्रमा २२ कराेड ७९ लाख कुल पूँजीमा ५, सूचना सञ्चार र प्रशारण क्षेत्रमा १८ कराेड ९८ लाख लगानीमा ११ वटा, उत्पादन मुलुकमा ८ अर्ब ९७ कराेड ९४ ला रुपैयाँ लगानीमा ११६ उद्योग गत वर्षमा दर्ता भएका छन् । यस्तै खानीका २, सेवामुलकका ४६ र पर्यटनका ५८ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ ।
प्रतिक्रिया 4