
९ मंसिर, गुल्मी । गुल्मी–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.चन्द्र भण्डारीले जित हार निरन्तर प्रक्रिया रहेको बताएका छन् ।
प्रतिनिधि सभामा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भण्डारी चुनावी प्रतिस्पर्धामा उत्रिएपछि जित हार जे पनि हुन सक्ने बताए ।
उनले आफू ०७० सालमा निर्वाचित भएपछि थालेका कामहरु पूरा गर्ने बताए । २०७४ मा भने उनी एमालेका प्रदीप ज्ञवालीसँग पराजित भएका थिए ।
उनले जिल्लाका विभिन्न क्षेत्रमा विकासका कामहरु धेरै गर्न बाँकी रहेकाले अब त्यसतर्फ आफ्नो ध्यान जाने बताए ।
भण्डारीले विजय उत्सवमा प्रतिस्पर्धीलाई गाली गरेर नाराबाजी नगर्न आग्रह गरेका छन् । भण्डारीले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई १५ सय मतान्तरले पराजित गरेका हुन् ।
भण्डारीले ३३ हजार ७४४ मत प्राप्त गरे भने एमालेका प्रदीपकुमार ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गरे ।
०६४ सालदेखि नै प्रतिस्पर्धा गर्दै आएका भण्डारी र ज्ञवाली आलो पालो जस्तै चुनाव जित्दै आएका छन् ।
०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा ज्ञवाली निर्वाचित भएका थिए भने २०७० मा भण्डारी निर्वाचित भए । त्यसपछि ०७४ मा ज्ञवाली निर्वाचित भए भने यसपटक भण्डारी निर्वाचित भए ।
प्रतिक्रिया 4