
९ मंसिर, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली मोरङ क्षेत्र नम्बर ४ (२)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमाले नेता तथा सोही क्षेत्रबाट निर्वाचित पूर्वमन्त्री जीवन घिमिरेलाई पराजित गर्दै पराजुली प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
अन्तिम मतपरिणाम अनुसार पराजुलीले ११ हजार ४७९ मत पाएका छन् । प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा एमालेका नेता घिमिरेले ९ हजार ६ सय ९१ मत पाएका छन् । उनले १ हजार ७८८ मतअन्तरको जित निकालेका हुन् ।
विराटनगर महानगरपालिकाका पूर्व मेयर पराजुली १० वटा चुनावमा निरन्तर अपराजित छन् । स्वतन्त्र विद्यार्थी युनियनको चार वटा, पार्टीको चार वटा (महाधिवेशन प्रतिनिधिसहित) र स्थानीय तह र प्रदेशको निर्वाचनमा अपराजित बनेका हुन् ।
२०५५ सालयता लडेका कुनै पनि चुनाव नहारेको पराजुलीले बताए । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइरालालाई असहयोग गरेका कारण देखाउँदै नागेशसहित डा. शेखर पक्षले उनलाई सहयोग नगरेको कांग्रेसका नेताहरु बताउँछन् ।
मोरङको कांग्रेस संस्थापन पक्ष पनि पराजुलीको विपक्षमा थियो । ‘टिकट बाहेक पार्टीबाट सहयोग भएन,’ आफू निकटसँग उनले भन्ने गरेका छन्,‘ सबै लाग्दा पनि चुनाव जितियो ।’
२०५५ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सदस्य जितेका पराजुलीले त्यसयता कुनै निर्वाचन हारेका छैनन् । २०५७ सालमा महेन्द्र मोरङकै स्ववियु कोषाध्यक्ष जितेका उनी २०५९ सालमा स्ववियू सचिवमा निर्वाचित भए । २०६१ सालमा महेन्द्र मोरङको स्ववियु सभापतिमा बागी उठेका निर्वाचित भए ।
लगातार चार पटक स्ववियुमा जितेका उनले पार्टीको आन्तरिक चुनावमा पनि हारेका छैनन् । १२ औं र १३ औं नगरअधिवेशनबाट विराटनगरको नगरसभापति निर्वाचित भए । १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । विराटनगरको मेयरमा पराजुलीले एमाले नेता विनोद ढकाललाई ५ हजार ५१० बढी मतले पराजित गरेका थिए ।
गत वैशाखको स्थानीय चुनावमा मेयरको टिकट दाबी गरेपनि नपाएका उनले प्रदेशसभाको टिकट ल्याएर चुनाव जिते । ‘२०५५ सालयता निरन्तर चुनाव जितेको छु, हारेको रेकर्ड छैन,’ पराजुली भन्छन्,‘यो चुनाव पनि जितियो ।’
प्रदेश सांसद निर्वाचित भएका उनी अब मुख्यमन्त्री बन्ने बताउँछन् । ‘मलाई पार्टी सभापतिले मुख्यमन्त्री बनाउँछु भनेर पठाउनुभएको हो’, उनले भने,‘मेरो दाबी मुख्यमन्त्रीमा हुन्छ ।
प्रतिक्रिया 4