+
+

नयाँ गठबन्धनलाई रविको हरियो बत्ती

कुनै पनि पार्टीको बहुमत नहुने आगामी संसदमा लामिछाने कम्तीमा २२ सिटसहित एक नयाँ ‘किङमेकर’ का रुपमा उदाउँदै छन् । ‘दलहरुले सम्झेमा’ उनी सत्ता सहकार्य गर्नका लागि खुला देखिएका छन् ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ मंसिर ९ गते २१:२६
चितवन-२ बाट निर्वाचित भएको प्रमाणपत्र लिएपछि सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । तस्वीर : रासस

‘चुनाव जितेमा सरकारमा नजाने, प्रतिपक्षमा बसेर भ्रष्टहरुको घण्टी बजाउने’ बताउँदै जनमत सोहोरेका रवि लामिछानेले एकाएक आफ्नो अडान बदल्ने संकेत दिएका छन् । चितवनमा शुक्रबार प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र बुझ्दै लामिछानेले यस्तो जनाउ दिएका हुन् ।

‘चुनावको बेलामा हामीले कुनै गठबन्धन र तालमेल गरेनौं,’ सभापति लामिछानेले भने, ‘तर राष्ट्रहितमा काम गर्न दलहरुले आवश्यक परे हामीलाई सम्झनु होला । हामी सहकार्य गरेर अघि बढ्ने छौं ।’

अब ठूला दलहरुले उनलाई चित्त बुझ्नेगरी ‘राष्ट्रहित’ गर्न तयार हुनुपर्ने हुन्छ । त्यसपछि बन्न सक्नेछ नयाँ गठबन्धन । कुनै पनि पार्टीको बहुमत नहुने आगामी संसदमा लामिछाने कम्तीमा २२ सिटसहित एक नयाँ ‘किङमेकर’ का रुपमा उदाउँदै छन् । ‘दलहरुले सम्झेमा’ उनी सत्ता सहकार्य गर्नका लागि खुला देखिएका छन् ।

सात सिट जितेर एक ठाउँमा अग्रता लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिमा थ्रेसहोल्ड कटाउने पक्का भइसकेको छ । ४ मंसिरको चुनावमा खसेको एक करोड छ लाख मतमध्ये सदर भएको मतको तीन प्रतिशत पाएमा थ्रेसहोल्ड कट्छ । शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार रास्वपाले समानुपातिकमा ६ लाख ५६ हजार मत नघाएर एमाले र कांग्रेसपछि तेस्रो स्थानमा छ ।

चुनावपूर्व एक्लो बलबुतामा प्रचारमा हिँडेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो आन्तरिक आकलनभन्दा बढी सिट पाएको छ । समानुपातिकतर्फ थ्रेसहोल्ड काटेपछि त यो राष्ट्रिय पार्टी बन्ने पक्का भइहाल्यो । यो स्थितिमा रास्वपाका सभापति लामिछानेले चुनावपछिको सत्ता गठबन्धनका लागि आफू सकारात्मक रहेको जनाउ दिएका हुन् ।

यसअघि स्वतन्त्र पार्टीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारमा नजाने, त्यसलाई समर्थन पनि नदिने संकेत गरेको थियो । कांग्रेसभित्रै नेतृत्व तथा नीति परिवर्तनको शर्त उनीहरुले राखेका छन् । रास्वपाका नेताहरुले एमालेप्रति भने नरम रहेको छनक दिएका छन् । नागरिकता लगायत मुद्दामा एमालेसँग रास्वपाको अडान मिल्छ ।

अन्तिम मत परिणाम सार्वजनिक हुन अझै केही समय लाग्छ, तर हालसम्म प्रत्यक्षतर्फ जितेको र अग्रता लिएको सिट तथा समानुपातिक पद्धतिमा पाइरहेको मतको आधारमा एमालेले माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, रास्वपाको साथ लिएर सरकार बनाउन सक्ने देखिन्छ । तर यसका लागि अहिलेको सत्ता गठबन्धन टुट्नुपर्ने हुन्छ । माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले गठबन्धनतर्फको भोट सोचेजसरी ट्रान्सफर नभएको भन्दै खुलेआम असन्तुष्टि जनाइरहेका सन्दर्भमा नयाँ समीकरण नबन्ला भन्न सकिन्न ।

अध्यक्ष केपी ओलीले रास्वपाको उदयलाई सहज रुपमा लिइनसकेको अवस्थामा बालकोटले कांग्रेससँगको सहकार्यलाई प्राथमिकता दिन सक्छ । यस्तो अवस्था आइपरे हालको सत्ता गठबन्धन टुट्न सक्छ ।

पहिले हालसम्मको विजित अंकगणितसहित आगामी सम्भावनाबारे आकलन गरौं । अग्रतासहित प्रत्यक्षतर्फ ५४ सिट पुग्ने देखिएको कांग्रेसको अन्तिम सिट संख्या कम्तीमा ८५ पुग्न सक्ने देखिन्छ । प्रत्यक्षतर्फ ४४ सिट पाउने देखिएको एमालेको कुल सिट ८० वरिपरि हुन सक्छ । १९ सिट प्रत्यक्षतर्फ पाउने देखिएको माओवादी केन्द्रले १२ सिट जति समानुपातिकमा पाउँदा कुल ३१ सिट वरिपरि प्राप्त गर्न सक्छ ।

रास्वपाको सिट संख्या कम्तीमा २२ पुग्न सक्छ । प्रत्यक्षमा ७ सिट पाएको राप्रपाले समानुपातिकमा ४ सिट पाउँदा कम्तीमा ११ सिट पाउन सक्ने सम्भावना देखिन्छ । जसपाले प्रत्यक्षतर्फ ५, लोसपाले ४ सिट, एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट पाउने देखिए पनि जसपा र एकीकृत समाजवादीलाई यही अनुपातमा भोट आएमा थ्रेसहोल्ड कटाएर समानुपातिकको सिट पाउन मुश्किल देखिन्छ ।

उनीहरुले थ्रेसहोल्ड पार गरे भने ठूला दलले समानुपातिकबाट पाउने सिट संख्या घट्न सक्छ । आधा मत गन्दासम्मको अवस्थामा सत्ता गठबन्धनसँग प्रत्यक्षमा ८७ सिट र समानुपातिकसमेत गर्दा १३० सिट वरिपरि पुग्ने देखिन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत पुर्‍याउन कम्तीमा १३८ सिट चाहिन्छ । यही अवस्था कायम रहे सत्ता गठबन्धनले सरकार बनाउनका लागि बाँकी ८ सिटका लागि बाँकी दलहरुसँग गठबन्धन गर्नुपर्ने हुन्छ ।

ठीक यहाँनेर कम्तीमा २२ सिट पाउने देखिएको रास्वपाको उपयोगिता सत्ता गठबन्धनलाई हुन सक्नेछ । यस्तो परिस्थिति उत्पन्न भएमा अरु घटकसँग सत्ता गठबन्धनले छलफल गरिराख्न आवश्यक नपर्न सक्छ ।

रञ्जिता श्रेठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले अहिलेसम्म तीन सिट जितिसकेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले एक सिट पाएको छ । यी दलहरुले समानुपातिकतर्फ सिट पाउने सम्भावना निकै कम छ । त्यसैले एमालेले कांग्रेसलाई बाहिर राखेर बहुमतका लागि कोशिस गर्ने हो भने माओवादी र रास्वपा अनिवार्य आवश्यक पर्छन् ।

अमरेश सिंह, प्रभु साहजस्ता ‘स्वतन्त्र सांसद’ को भूमिका यहाँनेर खड्किन सक्नेछ । एमाले अध्यक्ष ओलीले पानी बाराबारको स्थितिमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नजिक्याउने हेतुले फोन घुमाउन थालिसकेका छन् ।

यस्तो अवस्थामा आगामी सत्ता समीकरण कस्तो बन्न सक्छ भन्ने विषय रोचक देखिन गएको छ । रास्वपाका प्रवक्ता मुकुल ढकालले आफ्ना पार्टी सभापति लामिछानेबाट न्यूनतम मागहरु सम्बोधन गर्ने सम्भावनाका आधारमा आगामी सहकार्यको ढोका खुल्न सक्ने बताए । उनले त्यसका लागि केन्द्रीय समिति बैठक राखेर आगामी बाटोबारे छलफल गरिने बताए ।

‘गठबन्धनका लागि खुला छौं भन्नुको अर्थ सुशासनसँग जोडिएका हाम्रा मागहरु सम्बोधन कसरी हुन्छन् भन्ने कुरासँग जोडिएको छ,’ उनले भने, ‘अहिले भएका दलहरुले यसका लागि तयार देखिने हो भने नयाँ ढंगबाट छलफल हुन सक्छ । सभापतिले यसै सन्दर्भमा आज कालिका नगरपालिकाको पदमपुरमा विचार राख्नुभएको छ ।’

रास्वपाले कांग्रेस वा एमालेसँग सहकार्य गर्न अप्ठेरो नरहेको स्पष्ट पारेको छ । यसका लागि नेतृत्वमा देखिने गरी परिवर्तनको आभास हुनुपर्ने उसको अडान छ । कांग्रेस सभापति शेरबहादुर देउवाको ठाउँमा नयाँ नेतृत्व अघि सर्ने हो भने आफ्नो समर्थन उसैलाई हुन सक्ने उसका नेताहरुले अनलाइनखबरलाई बताएका छन् ।

कांग्रेस संसदीय दलको नेतृत्व दाबी गर्दै गरेका गगन थापासँग उनीहरुको छलफल सुरु भइसकेको संकेत प्राप्त छ । कांग्रेसभित्र एकमना अवस्था नआएको अवस्थामा एमालेसँग मिलेर अघि बढ्ने जनाउ उनीहरुले दिए । ‘कुरा मिलेन भने प्रतिपक्षमा बस्न हामीलाई अप्ठेरो छैन, खासमा हामीले चुनावमा जाँदैगर्दा यो सबै कुरा सोचेर गएको पनि होइन,’ रास्वपाका एक नेताले भने ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?