
१० मंसिर, इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
मतगणनाको अन्तिमतिर इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणना सकिनै लाग्दा नेम्वाङलाई खड्काले १६ मतको अन्तरमा पछाडि पारेका छन् ।
निर्वाचन आयोगका अनुसार नेम्वाङले अहिलेसम्म २८ हजार ४७० मत पाएका छन् भने खड्काले २८ हजार ४८६ मतसहित उछिनेका छन् ।
अहिले इलाम नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सुरू भएको छ । यी दुईवटा वडामध्ये गत स्थानीय तहको निर्वाचनमा एउटा वडा कांग्रेसले र अर्को वडा एमालेले जितेको थियो । उक्त मत परिणामअनुसार ती दुईवटै वडामा पनि थोरै मतको मात्रै अन्तर छ ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्ष गायत्रीराम बस्नेतले एमालेका अम्बिका प्रसाद गौतमलाई ५९ मतले पराजित गरेका थिए । बस्नेतले एक हजार ८१ मत पाएका थिए भने गौतमले एक हजार २२ मत प्राप्त गरेका थिए ।
त्यस्तै वडा नम्बर २ मा एमालेका गिरीराज रिजालले कांग्रेसका विरेन्द्र राईलाई ९८ मतको अन्तरले पराजित गरेका थिए । रिजालले ७२४ मत ल्याउँदा राई ६२६ मत ल्याएका थिए ।
मतगणना बाँकी रहेका दुईवटा वडामध्ये एउटा कांग्रेस र अर्कोमा एमाले बलियो हुनु र दुई उम्मेदवार बीचको मतान्तर झिनो हुनुले जित निकाल्ने कडा प्रतिस्पर्धा चलिरहेको देखिन्छ ।
प्रतिक्रिया 4