
१० मंसिर, वीरगञ्ज । बारा क्षेत्र नम्बर ३ मा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फका दुवै सिट जितेर एमलेले क्लिन स्वीप गरेको हो । यो क्षेत्रमा एमाले–जनता समाजवादी पार्टी (जसपा) ले ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने निर्णय गरेको थियो ।
एमालेको गढको रुपमा परिचित यो क्षेत्रमा सत्ता गठबन्धनबीच देखिएको मतभेदको फाइदा एमालेले उठाएको हो । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेकी ज्वालाकुमारी साह निर्वाचित भएकी छन् । उनले जसपाका रामबाबुकुमार यादवलाई पराजित गरेकी हुन् । साहले २० हजार २५१ मत ल्याउँदा यादवले १७ हजार २७९ मत पाए । यादव जसपा मधेस प्रदेश समितिका अध्यक्ष पनि हुन् ।
०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट साह बारा क्षेत्र नम्बर ३ प्रदेशसभा (१) बाट निर्वाचित भएकी थिइन् । ०७४ मा उनलाई बाम गठबन्धनले सघाएको थियो ।
मधेशवादी दल एक भएर चुनाव लड्दा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट रामबाबु बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनले एमालेका अदयानन्द पाण्डेयलाई पराजित गरेका थिए ।
ज्वालाको राजनीतिक यात्रा
ज्वाला हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित पिलुवामा बस्दै आएकी छन् । ११ कात्तिक २०३८ मा करैयामाई गाउँपालिका–४ लौतनमा जन्मिएकी उनले स्नातक तहसम्मकव् अध्ययन गरेकी छन् ।
उनले तत्कालीन नेकपा माओवादी निकट विद्यार्थी संगठनबाट राजनीति यात्रा सुरू गरेकी हुन् । उनले २०५४ सालदेखि भूमिगत भएर समेत राजनीति गरिन् । फलस्वरुप पहिलो संविधानसभामा उनला२ माओवादीले समानुपातिकको सूचीमा राखेको थियो । २०७४ मा बारा क्षेत्र नम्बर ३ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यमा निर्वाचित भइन् ।
उनले एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाको बारा सह–इन्चार्ज सम्हाल्ने मौका समेत पाएकी थिइन् । नेकपा विभाजनपछि उनले एमाले रोजिन् । माओवादी छाडेर एमालेमा लागेपछि उनको प्रदेशसभा सदस्य पद गुमेको थियो । माओवादी छोडेर एमालेमा लागेवापत उनलाई ओली नेतृत्वको सरकारमा कृषि मन्त्री समेत बनाइएको थियो । तर १३ दिनमै मन्त्री पद खारेज भयो ।
माओवादी केन्द्रमा हुँदा नै उनी २०६७ मा भूमिसुधार राज्यमन्त्री र २०६८ मा पर्यटन राज्यमन्त्री बनेकी थिइन् ।
प्रदेशमा रवीन्द्र र समिर विजयी
प्रदेशसभा तर्फ दुवै क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभामा एमालेका रवीन्द्रदास श्रेष्ठ निर्वाचित भए भने (२) मा एमालेकै महम्मद समिर विजयी भए ।
श्रेष्ठले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका मुकेश साहलाई ८ सय ८६ मतान्तरले पराजित गरे । रवीन्द्रले ८ हजार १९५ मत पाउँदा मुकेशले ७ हजार ३०९ मत पाए । एमाले बाहेकका दलसँग गठबन्धन गरेर माओवादीले यो क्षेत्रमा जित जोगाउन सकेन । ०७४ मा ज्वाला यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
बारा क्षेत्र नम्बर ३ (२) मा एमालेका समिरले जनता समाजवादी पार्टी (जसपा) का पारसप्रसाद साहलाई पराजित गरेका हुन् । समिरसँग पराजित पारस ०७४ मा तत्कालीन संघीय समाजवादी पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए
एमालेमा केन्द्रीय सदस्य समेत रहेका समिरले ८ हजार ३ सय २३ मत पाउँदा साहले ८ हजार हजार २ सय ५५ मत पाए ।
प्रतिक्रिया 4