
आसन्न चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नैराश्यताका बीचमा बरालिइरहेको नेपालको राजनीतिमा नयाँ आयामको सुरुवात गरेको छ । वास्तवमा रास्वपाको उदयलाई परम्परागत राजनीतिक प्रणालीबाट नवीनतम र समकालीन समाज सुहाउँदो राजनीतिक प्रणालीतर्फको ‘पाराडाइम सिफ्ट’ का रूपमा पनि लिन सकिन्छ ।
त्यसो त कांगे्रस र एमालेको राजनीतिक विचारमाथि धावा बोल्दै वैकल्पिक राजनीतिक धारको निर्माणका लागि तत्कालीन माओवादी पार्टी, मधेशी जनअधिकार फोरमले राजनीतिमा ‘युटर्न’ ल्याउन नखोजेका होइनन्; तर ती दलले जनअपेक्षा अनुरूप राजनीतिक, सामाजिक तथा आर्थिक प्रणालीको संस्थागत विकास गर्न सकेनन् ।
फेरि ७० को सुरुवातमा उदाएका विवेकशील, नयाँ शक्ति तथा साझा पार्टीले वैकल्पिक धारको बहस सिर्जना गर्न खोजेको भए पनि उनीहरू आफैं स्खलित हुन पुगे । यसरी हेर्दा राजनीतिमा ‘पाराडाइम सिफ्ट’ का प्रयत्नहरू भइरहेका थिए । तर ती अभ्यास परिपक्व र चिरस्थायी बन्न सकेनन् ।
यो पृष्ठभूमिमा उदाएको रास्वपाले जनअपेक्षालाई पूरा गर्दै आफूलाई समाजमा परिपक्व, संस्थागत तथा मजबूत शक्तिको रूपमा स्थापित गर्न अब कस्तो बाटो अवलम्बन गर्नुपर्ला ? आफ्ना विचारलाई सामाजिक, आर्थिक तथा राजनीतिक विज्ञानको प्रयोगशालाबाट अनुमोदित गराउन कस्ता रणनीति लिनुपर्ला ?
नवीनतम सिद्धान्तको अभ्यास
सिद्धान्तविहीनताले पुराना दललाई पतनोन्मुख बनाइरहेको अवस्थामा वैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपाले नवीनतम सिद्धान्तको विकास गर्नुपर्ने चुनौती छ । राजनीतिक सिद्धान्तमा माटोको गन्ध आउनुपर्छ, समाजको समकालीन मनोविज्ञान बोल्नुपर्छ अनि अर्थ-राजनीतिको अन्तर्य समावेश भएको हुनुपर्छ । त्यसका लागि रास्वपाले बहुसंख्यक नागरिकको ध्यान तान्न सक्ने राजनीतिक सिद्धान्तको बहसमा आफूलाई केन्द्रित गर्नु आवश्यक छ ।
पुराना दलले लोकतन्त्रका लागि लडे पनि आफू लोकतान्त्रिक बन्न सकेनन् । २०३० को दशकमा ‘प्रधानपञ्च शैली’मा करिब ३५÷४० वर्षपछि पनि शासन सत्ता र पार्टी सञ्चालन गर्न खोज्नु उनीहरूको मूर्खतापूर्ण भूल थियो । तर अबका पुराना दललाई गाली गर्ने एजेण्डा छोडेर समाजसँग जोडिने एजेण्डा विकास गर्न आवश्यक छ ।
त्यसका लागि वर्तमान अपरिपक्व लोकतन्त्रलाई उन्नत र परिपक्व बनाउँदै लैजान सक्ने सिद्धान्तको विकास गर्न आवश्यक छ भने समाजमा आफ्नो उपस्थिति मजबूत बनाउन प्राज्ञिक, प्राविधिक र बौद्धिक रूपमा कमजोर ठूलो जनसांख्यिक तथा सामाजिक संरचनालाई मानव पूँजीमा रूपान्तरण गर्न सक्ने कार्यक्रमको निर्माण गर्न आवश्यक छ ।
नवीनतम राजनीतिक एजेण्डा तथा कार्यक्रम

आफ्नो उदयलाई चिरस्थायी बनाउन तथा आफूले अंगीकार गरेको सिद्धान्तको संस्थागत विकासका लागि रास्वपाले समाजकेन्द्रित एजेण्डा तथा संरचनात्मक प्रणाली केन्द्रित एजेण्डालाई मूलभूत रूपमा अगाडि सार्दा उपयुक्त हुने देखिन्छ । तसर्थ अब रास्वपाले अवलम्बन गर्ने एजेण्डा तथा कार्यक्रमहरू कस्ता हुनसक्छन् त ?
समाजकेन्द्रित एजेण्डाः सकारात्मकताको अभियान नवीन
पुराना राजनीतिक दलले राजनीतिक उदयका लागि हिंसा र विरोधलाई प्रमुख साधनका रूपमा प्रयोग गरे । निरंकुशताको विरोध, सामन्तवादको विरोध, भ्रष्टाचारीको विरोध, कर्मचारीको विरोध, शिक्षकको विरोध आदित्यादि भन्दाभन्दै जनताको मनमस्तिष्कमा विरोधको मानसिकता मात्र भरियो ।
परिणामस्वरुप समाजले जता पनि नराम्रो मात्र देख्न थाल्यो । आफू बाहेक सबैलाई नराम्रो भन्न सिकाउने राजनीतिक नेतृत्व जब आफैं भ्रष्टाचार र गलत आचरणमा फसेको कुराको महसुस गर्न थालियो तब समाजले जिम्मेवार निकायमा बसेका सबैलाई नराम्रो मात्र देख्न थाल्यो ।
तर अब समाजमा विद्यमान ‘नकारात्मक मानसिकता’ लाई सकारात्मकतातर्फ उन्मुख गराउन रास्वपाले सकारात्मकताको अभियान चलाउन आवश्यक छ । अब भ्रष्टाचारीको विरोधलाई राजनीतिक मुद्दा बनाउन छोडी समाजमा सदाचारीको संख्या बढाउने एजेण्डालाई प्राथमिकता दिनु आवश्यक छ ।
नेपाली राजनीतिमा ९० प्रतिशत नेता खराब होलान्, ९० प्रतिशत कर्मचारी खराब होलान्, ९० प्रतिशत शिक्षक खराब होलान्, अनि त्यति नै संख्यामा प्राध्यापक, सैनिक, प्रहरी वा अरू कोही खराब होलान् ।
तर तिनीहरूको विरोध र भण्डाफोरलाई मात्र राजनीतिक एजेण्डा नबनाई १० प्रतिशत राम्रा राजनीतिक नेतृत्व, कर्मचारी, शिक्षक वा अरू जो–कोहीको सकारात्मक कर्म र तिनीहरूको कामले समाजमा पारेको सकारात्मक प्रभावको दायरा फराकिलो बनाउने काममा रास्वपाले समय खर्चनुपर्छ ।
नेपालमा शिक्षाका नाममा लाखौं असुल्ने शैक्षिक माफिया मात्र त छैनन् । मासिक रु.१०० मा उत्कृष्ट उच्च शिक्षा दिने समता स्कुल र तिनका सञ्चालक उत्तम सञ्जेल पनि छन् । त्यसैले अब शैक्षिक माफियाको विरोध गर्न छोडेर उत्तम सञ्जेलहरूको कर्मलाई गाउँ–गाउँसम्म कसरी विस्तार गर्ने भन्नेतर्फ सोच्नुपर्छ ।
सकारात्मक कर्महरूको दायरा बढ्दै गएपछि, समाजमा उनीहरूको प्रभाव विस्तार हुँदै गएपछि माफियाहरू विना विरोध आफैं पतन हुन्छन् । सकारात्मकताको आन्दोलन नेपालका प्रत्येक क्षेत्रमा आवश्यक छ, जसको नेतृत्व रास्वपाले गर्न सक्छ ।
संगठित र सिर्जनात्मक अभियान/विद्रोहको थालनी
शिक्षा, स्वास्थ्य र कृषि जस्ता क्षेत्र जनताका साझा सरोकारका विषय हुन् । यी क्षेत्रको समुन्नतिले देशको तीव्र विकासका आधारशिला तयार पार्छ । विश्वव्यापी रूपमै चलेको भनाइ के छ भने यदि कुनै देशलाई गुलाम बनाउनु छ भने त्यो देशको शिक्षा र स्वास्थ्य क्षेत्रलाई कमजोर तुल्याउनुपर्छ ।
स्वास्थ्य, पोषणयुक्त र दक्ष मानव संसाधन तयार गर्ने यी क्षेत्रमा राज्यको उपस्थिति कम हुँदा देशको अवस्था कस्तो हुन्छ भन्ने कुरा जान्न अब अन्यत्र जानुपर्ने अवस्था छैन । हामी आफैं यो समस्या भोग्दैछौं ।
मूलतः शैक्षिक क्षेत्रको विकृति अन्त्य गर्न प्रज्ञिक विद्रोह वा शैक्षिक विद्रोहको आवश्यकता छ । एउटा त्यस्तो सिर्जनात्मक विद्रोह जसले शैक्षिक क्षेत्रको रूपान्तरणमा कोसेढुंगाको काम गर्न सकोस् ।
शैक्षिक क्षेत्रमा मात्र होइन, बेथितिले भरिएको स्वास्थ्य क्षेत्र, बिचौलियाको नियन्त्रणमा रहेको भूमि क्षेत्र, सीमित ठेकेदारको नियन्त्रणमा रहेको ठेक्कापट्टाको क्षेत्र जस्ता जनताका प्रत्यक्ष सरोकार भएका क्षेत्रमा सिर्जनात्मक विद्रोहको आवश्यकता छ । यस्तो विद्रोहको नेतृत्व रास्वपाले गर्न सक्छन् जसले उनीहरूलाई समाजमा स्थापित हुन सहयोग पुग्नेछ ।
क्षेत्रीय मुद्दा, वैकल्पिक शक्ति र पुनर्जागरणको अभियान
जातीय पहिचानको विषयलाई विगतमा राजनीतिक दलले आफू शक्तिशाली हुन र ‘भोट बैंक’ जोगाइराख्न उपभोग गरे । हुनत पहिचानको आन्दोलनले राज्य संयन्त्रमा क्षेत्रीय, जातीय, लैङ्गिक पहुँचमा सुधार भएको देखिए पनि सम्बन्धित समुदायभित्रको विभेदलाई ती आन्दोलनले चिर्न सकेको देखिंदैन ।
सामाजिक विभेदलाई चिर्न, लक्षित समुदायलाई आर्थिक तथा सामाजिक दुष्चक्रबाट माथि निकाल्न समावेशिता साधन हो भने सम्बन्धित समुदायभित्रको सामाजिक र मानव पूँजी साध्य ।
तसर्थ रास्वपाले जातीय समुदायभित्रको सामाजिक पूँजीलाई उजागर गरी उनीहरूको आर्थिक, सामाजिक तथा वैयक्तिक क्षमता बढाउने कुरामा रणनीतिक कार्यक्रम बनाई अभियान सञ्चालन गर्न आवश्यक छ ।
सामाजिक र मानव पूँजीको उत्थानबाट सामाजिक विभेद कम हुनगई समाजमा समताको विकासमा जोड पुग्नेछ जसले रास्वपालाई मजबूत सामाजिक आधारस्तम्भ तयार गर्न सहयोग पुग्नेछ ।
प्रणालीकेन्द्रित एजेण्डाः नवीनतम राजनीतिक प्रणालीको संस्थागत अभ्यास
अन्तर्राष्ट्रिय अभ्यासले पनि के देखाउँछ भने, संगठन र नेतृत्वमा हुने समयानुकूल परिवर्तनले पार्टीलाई चलायमान बनाउँछ । पार्टीमा नयाँ विचारको प्रयोग हुन पाउँछ । नयाँ सोच र नवीनतम कार्यप्रणालीको विकास हुनपुग्छ । सबैभन्दा ठूलो लोकतान्त्रिक देशको रूपमा परिचित भारतकै कुरा गर्ने हो भने पनि त्यहाँ पार्टीको सभापति प्रधानमन्त्री हुने प्रचलन खासै देखिंदैन ।
शासन गर्न जो सक्षम छ उसलाई प्रधानमन्त्रीमा अगाडि सार्ने संस्कार छ । यस्ता नवीनतम संस्कारहरूलाई संस्थागत गर्ने कामले वैकल्पिक शक्तिलाई अझ मजबूत पार्दै लैजानेछ । नेपालमै पनि विवेकशील दलका प्रणेता उज्ज्वल थापाले आफू ‘लो प्रोफाइल’ मा बसेर अरूलाई नेताका रूपमा अघि सार्ने प्रचलन ल्याएका थिए । जनताले चाहेको त्यस्तै संस्कारयुक्त विधिमा चल्ने राजनीतिक पार्टी हो ।
रास्वपाको संगठनात्मक संरचनालाई समाजका सबै तहका नागरिकले ‘आफ्नो घर’ सम्झिन सक्नुपर्छ । एउटा त्यस्तो घर जहाँ प्रवेश नगरी मेरो लक्ष्य पूरा हुँदैन भन्ने एउटा युवाले ठान्न सकोस् । त्यस्तो घर जहाँ प्रवेश नगरी मेरो व्यावसायिक जीवनले उचाइ प्राप्त गर्न सक्दैन भनेर एउटा उद्यमीले ठान्न सकोस् ।
त्यस्तो घर जहाँ प्रवेश नगरी बालबालिकाले सिक्नुपर्ने कुरा सिक्न पाउँदैनन् भन्ने कुरा प्रत्येक परिवारले ठान्न सकुन् । त्यस्तो घर जहाँ प्रवेश नगरी वृद्धावस्थामा चाहेअनुरूपको सामाजिक सुरक्षा प्राप्त गर्न सकिंदैन भन्ने ज्येष्ठ नागरिकले ठानुन् ।
त्यस्तो घर जहाँ प्रवेश नगरी मेरो शैक्षिक जीवन अधुरो बन्छ भन्ने एउटा विद्यार्थीले ठानोस् । अथवा वैकल्पिक घर सबैको साझा अपनत्व सहितको घर बन्न सक्नुपर्छ । त्यसका लागि कस्तो संरचना आवश्यक पर्छ त्यो सम्बन्धित पार्टीले जान्ने कुरा हो । समग्रमा अबको पार्टी ‘विकासको बहस गर्ने प्रयोगशाला’ का रूपमा संगठित हुन आवश्यक छ जसले सीपविहीन मानिसलाई विश्वस्तरीय मानव पूँजीमा रूपान्तरण गर्न सकोस् ।
राष्ट्रिय स्वतन्त्र पार्टी : स्थानीय सरकारहरूको प्रतिपक्षी दल
२०६२-६३ को आन्दोलनसँगै संघीय राज्य व्यवस्थाको अभ्यास गरिएको भए पनि पुराना दलमा अझै पनि केन्द्रीकृत मानसिकता छ । संविधानले सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा चल्ने समान हैसियतका तीन सरकारको परिकल्पना गरेको भए पनि राजनीतिक दलहरू स्थानीय तहलाई सरकार मान्न तयार देखिंदैनन् । जसले गर्दा जनताले सिंहदरबार गाउँमा आएको महसुस गर्न सकेका छैनन् ।
स्थानीय सरकारलाई पूर्णरूपमा सरकारको हैसियतमा संचालन गर्न रास्वपाले महत्वपूर्ण भूमिका खेल्न सक्छ । स्थानीय सरकार सञ्चालनमा देखिएको सबैभन्दा ठूलो चुनौती भनेको प्रमुख प्रतिपक्षी दलको अभाव हो ।
पाँच वर्षका लागि प्रत्यक्ष निर्वाचित मेयर/अध्यक्षको नेतृत्वमा सञ्चालन हुने स्थानीय सरकारका लागि त्यस्तो प्रतिपक्षी दलको आवश्यकता परेको छ, जसले सिर्जनात्मक बहसमा सहयोग गरोस् ।
ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने कुरालाई बहसमा ल्याओस् । अनि स्थानीय पहिचानमा आधारित नीति–निर्माण गर्न सरकारलाई रचनात्मक सहयोग गरोस् । वैकल्पिक शक्तिका रूपमा रास्वपाले स्थानीय सरकारको प्रमुख प्रतिपक्षी दलको भूमिका खेल्न सक्छ जसले उनीहरूलाई समाजमा स्थापित हुन रणनीतिक रूपमा सहयोग पुर्याउनेछ भने सामाजिक विकासमा नयाँ आयामको सुरुवात पनि हुनेछ ।
निष्कर्ष :
समाजमा चेतना विकासको आफ्नै चक्र हुन्छ । पहिलो चरणमा आफूलाई मन पर्ने सिद्धान्त बाहेकका अन्य सिद्धान्तलाई समाजले पूर्ण रूपमा तिरस्कार गर्छ । नेपाली समाजमा प्रजातन्त्रको बहालीपश्चात् त्यस्तो चेतनाको विकास भएको थियो । दुई फरक दलका परिवारबीच बोलचालसम्म पनि हुँदैनथ्यो । समाज आफू भन्दा फरक विचारलाई स्वीकार्ने अवस्थामा थिएन । त्यो चरणलाई ‘रिजेक्शन’ को चरण मान्न सकिन्छ ।
चेतनाको विकासक्रमसँगै मानिस सबै दल उस्तै देख्न थाले भने कतै कतै पुराना दलहरूका विकल्प खोज्ने चेतनाको पनि विकास भएको देखिन्छ । यो चरणलाई ‘रियलाइजेशन’ को चरण मान्न सकिन्छ । हर्क र बालेन जित त्यसैको परिणाम हो ।
समाजले केही हदसम्म पुराना दलहरू ठीक बाटोमा छैनन् भन्ने कुरा महसुस गर्न थालेका छन् । अद्यापि भोट दिने सन्दर्भमा अझै पनि अलमलमै छन् । अब समाजमा पुराना दलप्रतिको अलमल तोडेर नयाँ वैकल्पिक शक्तिलाई स्वीकार्ने चरणमा समाजलाई पुर्याउने कामको नेतृत्व गर्ने कार्यभार रास्वपालाई छ ।
समाजको राजनीतिक चेतना विकासको यो चरणलाई ‘एक्सेप्टेन्स’ को चरण मान्न सकिन्छ । समाज यो चरणमा जति चाँडो पुग्छ त्यति छिटो वैकल्पिक शक्तिहरूले शासन प्रक्रियामा पकड जमाउन सक्छन् साथसाथै देशमा उन्नत लोकतन्त्रको बीजारोपण पनि हुनेछ । त्यसका लागि रास्वपाले वैकल्पिक शक्तिका रूपमा समाजलाई सकारात्मक तथा सिर्जनात्मक तर कठोर बाटोतर्फ हिंड्न प्रोत्साहित गर्न सक्नुपर्नेछ ।
(लेखक सामाजिक, आर्थिक तथा राजनीतिक विषयवस्तुमा कलम चलाउँछन् ।)
प्रतिक्रिया 4