
११ मंसिर, विराटनगर । मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. सुनिल शर्माले नोबेल मेडिकल कलेज विराटनगरमा ५० बेडको नि:शुल्क क्याविन सेवा सुरु गरेका छन् ।
शनिबार प्रतिनिधिसभा सदस्यको मतगणनाको नतिजा सार्वजनिक भएपछि उनले मोरङ-३ का सर्वसाधारणको निशुल्क उपचार गर्न ५० बेडको क्याबिन सेवा सुरु गरेका हुन् ।
चुनावी अभियानका क्रममा डा. शर्माले आफूले चुनाव जिते ५० बेडको नि:शुल्क क्याविन सञ्चालन गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार क्याबिन सेवा सुरु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले बताए । ‘ ५० बेडको क्याबिन सेवामा मोरङ ३ का बिरामीको नि: शुल्क उपचार हुनेछ,’ उनले भने,‘औषधि खर्च भने बिरामी आफैंले व्योहोर्नुपर्छ ।’
डा. शर्मा विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँको काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् ।२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी एमाले उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए ।
यो पटक भने शर्माले ढकाललाई भारी मतान्तरले पराजित गरे । शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा ढकालले २५ हजार ८९५ मत ल्याएका थिए । राप्रपा उम्मेदवार रेखा थापाले १० हजार ९८८ मत पाइन् ।
मोरङ-३(१) मा कांग्रेसका मानबहादुर लिम्बु र मोरङ-३(२)मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका थिए ।
प्रतिक्रिया 4