+

‘कान जति कन्यायो उति चिलाउँछ, त्यसले झन् समस्या ल्याउँछ’

२०७९ मंसिर  १२ गते १३:३३ २०७९ मंसिर १२ गते १३:३३
‘कान जति कन्यायो उति चिलाउँछ, त्यसले झन् समस्या ल्याउँछ’

काठमाडौं । कल्पना गरौं त, ठप्प कान सुन्न छाडियो भने के होला ? निःसन्देह, इशाराले बातचित गर्नुपर्ने हुन्छ । यस्तो स्थितिमा व्यावहारिक कामकाज सम्पन्न गर्न असहज हुनसक्छ । र, यस्तो समस्या जुनसुकै बेला तपाईं-हामीले झेल्नुपर्ने हुनसक्छ ।

किनभने कान निकै संवेदनशील अंग हो, जसले कुनै पनि बेला श्रवण क्षमता गुमाउन सक्छ । चाहे त्यो चर्को आवाजको कारण होस् वा संक्रमणको कारण, चोटपटकको कारण होस् वा हाम्रो सानो लापरवाहीको कारण ।

यद्यपि हामीलाई कानको सम्भावित जटिलताबारे खासै हेक्का हुँदैन । खासमा कानले कसरी कुनै पनि ध्वनि सुन्छ । त्यसका लागि कानभित्र कस्तो संयन्त्रले काम गरेको हुन्छ ? के कारणले कान खराब हुनसक्छ ? कानको श्रवण शक्ति कसरी कायम राख्न सकिएला ? यिनै विषयमा वीर अस्पतालका नाक, कान तथा घाँटीरोग विभागका पूर्वप्रमुख प्रा. डा. दीपेन्द्र श्रेष्ठसँग गरिएको कुराकानी :

कानको संरचना कस्तो हुन्छ ? कुनै पनि आवाज हामीले कसरी सुन्ने गर्छौं ?

सामान्यतया कान हामी जुन बाहिरी भागमा देख्छौं त्यसलाई मात्र भन्ने बुझ्छौं । कानमा बाहिरी, मध्य र भित्री गरी तीनवटा भाग हुन्छ ।

बाहिरी भाग भनेको हामीले जुन देख्छौं त्यो हो । मध्यममा कानको जाली पर्छ ।  बाहिर भाग भनेको हामीले जुन देख्छौं त्यो हो । मध्यममा कानको जाली पर्छ । कानको जालीभित्र सानो एउटा सानो कोठा हुन्छ, त्यसलाई मिडल एयर क्याबिटी भनिन्छ । क्याबिटीभित्र सानो तीनवटा हड्डी हुन्छ । त्यो हड्डीले बाहिरबाट कानको भित्रीभागसम्म आवाज प्रसार गर्ने काम गर्छ ।  मध्यभागको बीचमा इनर एयर हुन्छ । भित्री भाग बोर्नबाट बनेको कडा शंख जस्तो हुन्छ त्यसलाई कोक्लिया भनिन्छ। कोक्लियाले भित्री कान र दिमागसँग कनेक्सन गर्ने कम गर्छ।

बाहिरबाट आएको आवाज कानको मध्यभाग र बाहिरी भाग थर्किनुपर्छ । आवाज कानको प्वालमा ठोक्किएपछि कानको जालीलाई, चलायमान गराउँछ र हड्डी एकै साथ चल्छ । तीनवटा हड्डी हुँदै आवाज भित्री भागमा प्रवेश हुन्छ । त्यहाँ गुन्जिएको आवाज र सन्तुलनसम्बन्धी काम हुन्छ र त्यस तरंगको रुपमा नसाहरुले मस्तिष्कसम्म पुर्‍याउँछ र प्रतिउत्तरको लागि वातावरण तयार हुन्छ ।

देब्रे र दाहिने दुवै कानले बराबर सुन्छ ?

सुन्ने तरिका र क्षमता एकै हो । एउटा कानले बढी र अर्को कानले कम सुन्ने भन्ने सामान्य व्यक्तिमा हुँदैन ।

कानले कति टाढासम्मको आवाज सुन्न सक्छ ?

कानको सुन्ने आवाजको एउटा रेन्ज हुन्छ । यति नै टाढा भनेर भन्न सकिंदैन । तर टाढा छ तर ठूलो ध्वनि छ भने सुन्न सकिन्छ । नजिक छ तर ध्वनि कम छ भने त्यो आवाज सुन्न सक्दैन । ध्वनि सुन्ने कुरा दुरीले मात्र हैन, त्यसको सुन्ने क्षमता कति छ त्यसमा पनि भर पर्छ ।

कानको जाली आवाजकै कारण फुट्ने भन्ने कुरामा कुनै सत्यता छैन । आवाजले भन्दा पनि धेरै चर्को आवाजले कानको जालीलाई असर भने पुर्‍याउँछ । संक्रमण र चोटपटकले गर्दा कानको जाली फुट्न सक्छ ।

चर्को आवाज, गाडीको हर्न, माइकको ध्वनि आदिले कानको श्रवण शक्तिमा कुनै असर गर्छ ?

आवाज र हल्लामा हल्लाले स्वास्थ्यमा असर पुर्‍याउँछ । आवाज मात्रले हाम्रो कानमा क्षति गर्दैन । लामो समयसम्म ध्वनिको तीव्रता ८० डेसिबलसम्म सुनिरहेको छ भने सुन्ने प्रणालीमा समस्या आउन सक्छ । ८० डेसिबलभन्दा कम भएमा यसले कानलाई खासै असर गर्दैन ।

अचानक धेरै उच्च चर्को स्वर आउँछ । जसको १२०/३० डेसिबल वा सोभन्दा बढी ध्वनिको तीव्रता भएमा केही क्षणमै सधैंको लागि सुन्ने क्षमता ड्यामेज हुन पनि सक्छ । धेरै कुराले सुन्ने क्षमतामा असर पार्न सक्छ । हाम्रो बोलीमा ध्वनिको तीव्रता ५०-६० डी.बी., सहरी ध्वनि तीव्रता ८० डी.बी., हवाइजहाज र हेलिकप्टरको नजिकको ध्वनि तीव्रता १०५ डी.बी., सांगीतिक कन्सर्ट, बन्दुकको आवाजहरुको ध्वनि तीव्रता ११०-१३० डी.बी. सम्म हुन्छ ।

एकदमै चर्को आवाज सुन्दा कानको जाली फाट्न सक्छ भनिन्छ नि, यो सत्य हो ?

कानको जाली आवाजकै कारण फुट्ने भन्ने कुरामा कुनै सत्यता छैन । आवाजले भन्दा पनि धेरै चर्को आवाजले कानको जालीलाई असर भने पुर्‍याउँछ । संक्रमण र चोटपटकले गर्दा कानको जाली फुट्न सक्छ ।

कानको जाली कस्तो स्थितिमा हुन्छ, यसको खास भूमिका के हो ?

बाहिरको आवाजको प्रसार गर्ने काम जालीको हुन्छ । कानको बाहिरको प्वालमा नली हुन्छ चार सेमीको । नलीको बाहिरी र मध्यमभागको बीचमा कानको जाली हुन्छ । बाहिर हावाको माध्यमबाट आएको आवाजलाई तीनवटा साना हड्डीले भित्री साँघुरो गल्लीमा लिएर जालीले ग्रहण गर्छ । त्यो आवाजको तीव्रता बढाएर जालीको भित्रीकान हुँदै नसाले दिमागसम्म आवाज पुग्छ ।

कानको जाली कस्तो अवस्थामा खराब हुनसक्छ ?

कुनै पनि किसिमको चोटपटकले कानको जाली खराब हुन सक्छ । कसैले झगडा गर्दा हातले हिर्काउँदा, कान बढी कोट्याउँदा, लड्दा, दुर्घटना हुँदा, समुद्रमा ड्राइभिङ गर्दा पनि बढ्दो चापले कानको जाली फुट्न सक्छ ।

कान संवेदनशील अंग हो । कानको रोग पनि ठूलो स्वास्थ्य समस्या हो भनेर लिनुपर्छ । यसबारे ससचेत हुन जरुरी छ । संक्रमण हुन नदिने र भएमा बेवास्ता नगर्ने, उच्च ध्वनि हुने ठाउँमा बस्नु भएन । हेडफोनमा लामो समयसम्म ठूलो स्वरमा संगीत सुन्नु भएन ।

यदि कानको जाली फाट्यो भने के कस्ता जटिलता आउन सक्छ ?

साधारण जाली फुट्यो, ठूलो क्षति भएको छैन भने केही समयपछि प्राकृतिक रुपमा आफैं ठिक हुन्छ । औषधि प्रयोग नगरी कानको जालीमा नचलाउने, नुहाउँदा कपास राखेर पानी छिर्न नदिने गरी ध्यान दियो भने पनि आफैं टालिन्छ ।

तर यदि लामो समयसम्म ठीक भएन र कानको कार्यमा परिवर्तन भयो भने त्यसलाई शल्यक्रिया गरेर नयाँ जाली बनाउनुपर्छ ।

थप्पडले वा कुनै बाहिरी घाउ, चोटले पनि कानको जालीमा असर गर्न सक्छ ?

थप्पडले कानको जाली फुटेर धेरै बिरामीहरु आउनु भएको छ । शिक्षकले विद्यार्थीलाई कुटपिट गरेर, युवाबीच कुटाकुट, श्रीमान-श्रीमतीमा झगडाले पनि कानको जाली फुट्न सक्छ । हात हालाहाल हुँदा हातले बाहिरी कानमा लाग्यो भने जाली फुट्न सक्छ । कानको जाली फुटेमा कानबाट रगत बग्ने, कान बन्द हुने कान कम सुन्ने, कान कराउने जस्ता समस्या देखिन सक्छ ।

कानको जालीलाई बचाइराख्ने उपाय के हो ?

कानको जाली बचाइराख्न गर्नुपर्ने उपाय भनेको कानको संक्रमण हुन नदिने चोटपटक लाग्न नदिनु हो । कानमा हुने कानेगुजीले कानको लागि सुरक्षा दिन्छ । यसले संक्रमण र चोटपटक हुनबाट बचाउँछ । पहिलादेखि नै कान चिलाउँदा कोट्याउने, कान सफा गर्ने बानी छ त्यसले कानलाई असर गर्न सक्छ ।

बढी कानलाई दखल दिंदा जाली फुट्न सक्छ । कान चिलाउने भनेको सफा गर्नेको र जसले बढी कोट्याउँछ उसकै बढी चिलाउँछ । कान चिलायो भने हातको औंलाले कानको बाहिरबाट नै हल्लाउन मिल्छ ।

कहिलेकाहीं कान धेरै सफा गर्ने व्यक्तिको कानमा ढुसी पलाउँछ । ढुसी पलाएर पनि अत्याधिक चिलाउँछ । त्यसले गर्दा कानबाट फोहोर आइरहेको छ । अत्यधिक चिलाइरहेको छ भने त्यसको लागि एन्टी फंगस औषधि हाल्नुपर्छ । त्यसको लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।

कानमा के कस्ता रोग लाग्ने जोखिम हुन्छ ?

कानमा विभिन्न किसिमको रोग हुन्छ । रुघा लाग्दा, घाँटीमा संक्रमण हुँदा कानको जाली सुन्निने र सानो प्वाल पर्न सक्छ । कानबाट पिप आउन सक्छ । कानको जालीमा  प्वाल परेर पिप आउने, कान पाक्ने, नसुन्ने हुनसक्छ । चोटपटक लाग्दा धेरै चलाउँदा पनि कानको जाली फुट्ने, कान सुन्ने क्षमता कम हुने, कानमा विभिन्न आवाज आएको जस्तो हुने, कानले सुन्ने मात्र नभई शरीरलाई नियन्त्रण राख्ने पनि काम गर्छ । नियन्त्रण गर्ने क्षमतामा कमी आउँदा चक्कर लाग्छ । कानको सम्पर्क दिमागसँग भएको र नजिकै भएकाले कानमा संक्रमण हुँदा छिट्टै उपचार गराउनुपर्छ । कानको संक्रमण ब्रेनमा पुगेमा समस्या जटिल बनेर मृत्यु समेत हुनसक्छ । अर्को जटिलता भनेको बहिरोपन,  कानमा ट्युमर, क्यान्सर पनि हुन सक्छ ।

श्रवणशक्ति राम्रो बनाइराख्न के गर्नुपर्छ ?

श्रवणशक्ति राम्रो बनाइराख्न कुनै पनि कानको समस्या देखिए कहिलेकाहीं भइहाल्छ भनेर चुप लागेर बस्न हुँदैन । यसले कानको क्षति निम्त्याउँछ । सहरबजारमा बढी ध्वनि प्रदूषण हुन्छ । बेलाबखतमा हुने कन्सर्ट र रेस्टुरेन्टमा हुने लाइभ म्युजिकको आवाज लामो समयसम्म सुन्दा, हेडसेटमा चर्को आवाज सुन्नु, लामो समयसम्म म्युजिक ठूलो पारेर सुन्ने र ठूलो ठूलो आवाज आउने ठाउँमा काम गर्नु कानको लागि हानिकारक हुन्छ । यसले सुन्ने क्षमतामा कम गराउँछ । यस्तो वातावरणमा बस्ने व्यक्तिले वर्षमा एकपटक श्रवणशक्तिको  परीक्षण गराउनुपर्छ । त्यो बाहेक कान चलाउने र कोट्याउने गर्न हुँदैन ।

अहिले ध्वनि प्रदूषण व्यापक छ, यसले मान्छेको श्रवण क्षमतामा कति असर गरेको छ ?

विकसित देशमा बहिरोपनको प्रमुख कारण ध्वनि प्रदूषण मानिन्छ । तर नेपालमा ठोस अध्ययन त भएको छैन, सानोतिनो अध्ययनले भने ध्वनि प्रदूषण अत्यधिक छ । यो बहिरोपनको कारण हुनसक्ने देखाएको छ । यसबाहेक लामो समयसम्म मोबाइलमा चर्को आवाजमा गीत सुन्नु, गीत-संगीत सुन्दा चर्को आवाजमा रमाउँछौं भने विस्तारै विस्तारै कान सुन्ने क्षमता कम हुँदै गएको हुन्छ ।

श्रवणशक्तिमा के कारणले कमी आउनसक्छ ?

वंशाणुगत कारणले जन्मेदेखि नै कान सुन्ने वा सुन्दै नसुन्ने हुनसक्छ । त्यस्ता बालबालिका ढिला बोल्ने हुनसक्छन् । उसको शारीरिक तथा मानसिक वृद्धि विकासमा पनि असर गरिरहेको हुन्छ । कानको जालीमा प्वाल, संक्रमण, कानको हड्डीभित्र जाम हुँदा, कानको सुन्ने नसा विभिन्न कारणले समस्या, हामीले प्रयोग गर्ने केही औषधिले पनि कान सुन्ने क्षमता कम गर्छ ।

श्रवणशक्ति बिग्रिन नदिन वा बढाउन खानपान र जीवनशैली कति जिम्मेवार हुन्छ ?

श्रवणशक्ति बढाउन वा कायम राख्नमा हाम्रो खानपान, जीवनशैली जिम्मेवार हुन्छ । कानको सुन्ने क्षमता कायम राख्न कानको सुरक्षामा ध्यान दिनुपर्छ ।

कान सुन्न छाड्दै गएपछि वा श्रवण शक्ति कमजोर भएपछि के उपचार गर्नुपर्छ ?

प्रविधिले फड्को मारेको युगमा कानको उपचारमा पनि नयाँ-नयाँ प्रविधि आइरहेका छन्, जसले जटिल उपचार पनि सम्भव भएको छ । सकेसम्म कानमा समस्या आउन नदिनु राम्रो हो ।

यसबारे सचेत हुनु राम्रो हो । भइहालेमा कस्तो खालको बहिरोपन हो भनेर हेर्न पर्छ । नसामा समस्या आउँदा वा बहिरोपन हुँदा अप्रेसनको मद्दतले समाधान गर्न सकिन्छ । कानको जाली फुट्दा टाल्न सकिन्छ वा टाल्न सम्भव नभएमा नयाँ जाली बनाउन सकिन्छ ।

हड्डी खुस्केको छ भने त्यो मिलाउन सकिन्छ । कानको नसा नै बिग्रिएको छ भने कानमा लगाउने मेसिन लगाएर पनि सुन्न सकिन्छ । मेसिन नदेखिनेदेखि देखिनेसम्म धेरै थरीका  बजारमा उपलब्ध छन् ।

ठप्प सुन्नै छाडेपछि त्यसको लागि के उपाय अपनाउन सकिन्छ ?

कान ठप्पै सुन्न छाडेपछि वा सुन्न नसक्नेको कोक्लियर प्रत्यारोपण गर्न सकिन्छ । जुन नेपालमा पनि उपलब्ध छ । काम नगरेको नसामा डिभाइस प्रत्यारोपण गरेर सुन्न सक्ने बनाउन सकिन्छ । त्यसैले बहिरोपनको धेरै नै विकल्प छन् भन्न सकिन्छ ।

अहिले र पहिलेको तुलनामा मान्छेको श्रवण क्षमताको स्थिति के छ ?

राष्ट्रियस्तरमा यसबारे निश्चित अध्ययन भएको छैन । भएका सानोतिनो अध्ययनले सार्क राष्ट्रमध्ये सबैभन्दा बढी नेपालमा कानको समस्या भएको पाइएको छ । १७ प्रतिशत नेपालीमा केही न केही रुपमा बहिरोपनको समस्या भएको देखिन्छ । राष्ट्रिय बहिरोपन निवारण समितिले पहिलोपटक नेपालमा राष्ट्रिय रणनीतिअन्तर्गत विश्व स्वास्थ्य संगठनको सहयोगमा पहिलोपटक २० वर्षमा कसरी बहिरोपनको रोकथाम गर्न सकिन्छ भनेर गर्न नीति बनाउन लागेका छौं ।

श्रवण क्षमता पूर्ण रुपमा गुमाएपछि व्यावहारिक जीवन चलाउन कति कठिन हुन्छ ?

कानको बहिरोपन बढेर गएको छ भने घर, परिवार र सामाजिक जीवनमा सञ्चार गर्न नै सक्दैन । यसले त्यस्ता व्यक्तिमा आफ्नो कुरा पनि पोख्न र अरुको कुरा सुन्न नपाएपछि एक किसिमको तनाव लिने, हीनताबोध हुने, कान नसुन्दा अपहेलित पनि हुने, एन्जाइटी बढ्ने, डिप्रेसनमा जाने जस्ता धेरै समस्याको सामना गर्नुपर्छ ।

दीर्घकालीन अवस्थामा गएर कान नसुन्नेमा बिर्सिने रोग ६ गुणा बढी हुन्छ । मानसिक स्वास्थ्यको लागि पनि कान राम्रोसँग सुन्नु जरुरी छ । सामाजिक व्यवहारमा मात्र हैन सामाजिक योगदानमा पनि पछि पर्ने हुन्छ ।

कानलाई स्वस्थ राख्न र श्रवण क्षमता बचाइराख्न के गर्नुपर्छ ?

कान संवेदनशील अंग हो । कानको रोग पनि ठूलो स्वास्थ्य समस्या हो भनेर लिनुपर्छ । यसबारे ससचेत हुन जरुरी छ । संक्रमण हुन नदिने र भएमा बेवास्ता नगर्ने, उच्च ध्वनि हुने ठाउँमा बस्नु भएन । हेडफोनमा लामो समयसम्म ठूलो स्वरमा संगीत सुन्नु भएन ।

बेलाबेलामा कानको परीक्षण गराइरहनुपर्छ । यसबारे सचेतना कम भएको हुँदा राष्ट्रिय स्तरबाट नै यसको निवारणको लागि नीति ल्याउनुपर्छ । आवाजविहीनको आवाज भनिने आम सञ्चारमाध्यमले पनि राजनीतिक समाचारलाई मात्र प्राथमिकता नदिएर स्वास्थ्यसँग जोडिएका यस्ता संवेदनशील विषयवस्तुलाई स्थान दिनुपर्छ ।

कानको समस्या डा. दीपेन्द्र श्रेष्ठ स्वास्थ्य
प्रा. डा. दीपेन्द्र श्रेष्ठ
लेखक
प्रा. डा. दीपेन्द्र श्रेष्ठ
वरिष्ठ नाक कान घाँटीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : २६६१ एमबीबीएस, एमएस, फेलोसिप इन हेड एन नेक अन्कोसर्जरी । वरिष्ठ परामर्शदाता ईएनटी हेड एण्ड नेक सर्जन, ईएनटी विभाग, वीर अस्पतालका पूर्व प्रमुख, प्रमुख परामर्शदाता राष्ट्रिय ईएनटी सेन्टर । अध्यक्ष, सोसाइटी अफ ईएनटी सर्जन अफ नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?