
काठमाडौं । रिल र रियल लाइफमै पनि भुवन केसी र शोभित बस्नेतका परिवार निकट छन् । पर्दामा होस् वा बाहिर उनीहरु सँगै देखिन्छन् । सलोन र अनमोलको पुस्तामा पनि यस्तो निकटता देखिन्छ ।
सलोन र अनमोलले धेरै फिल्ममा सहकार्य गरिसकेका छन् । रजतपटमा मात्र होइन, सलोन र अनमोलको केमेस्ट्री वास्तविक जीवनमै पनि देखिन्छ । सोमबार सलोनलाई विवाहको बधाई दिन अनमोल र उनका पिता भुवन केसी चन्द्रागिरि उक्लिए ।
भुवनसँगै वैवाहिक समारोह स्थल भालेश्वर मन्दिरमा पुगेका अनमोलले सलोन र प्रेमिका करिश्मा केसीलाई विवाहको बधाई तथा शुभकामना दिए । बुधबार हुने रिसेप्सनमा जान नभ्याउने भएपछि आफू विवाह समारोहमा आइपुगेको अनमोलले जनाए ।
अभिनेत्री वर्षा राउत र उनका पति एवं अभिनेता सञ्जोग कोइराला पनि विवाहमा पुगेका छन् । अभिनेत्री पूजा शर्मा पनि विवाहमा पुगिन् ।
सलोनका साथी समेत रहेका कलाकार आमेश भण्डारी पनि विवाहमा नाचगान गर्दै गरेको बेला देखिए । कोरियोग्राफर रामजी लामिछाने, कलाकार सुशान्त श्रेष्ठ पनि त्यहाँ पुगेका छन् ।
सलोन र करिश्माको विवाह समारोह सोमबार चन्द्रागिरिस्थित भालेश्वर मन्दिर क्षेत्रमा भइरहेको छ ।
तस्वीर सौजन्य : गोपीकृष्ण चापागाईं
प्रतिक्रिया 4