
काठमाडौं । जाडोयाममा नुहाउने कुरा गर्नासाथ हाम्रो जाँगर मर्छ । त्यसै त चिसो, त्यसमाथि नुहाउँदा ज्यान नै कठ्यांग्रिन्छ । यस्तो स्थितिमा के गर्ने ? विकल्प हो तातो पानी ।
तातो पानीका लागि अहिले बजारमा विभिन्न किसिमका गिजर पाइन्छ । त्यसमा पनि ग्यास र विद्युतीय गिजर प्रचलनमा छ । यीमध्ये कुन गिजर उपयोगी ? कुन गिजर बढी किफायती ? कुन गिजरको बजार मूल्य कति ?
ग्यास गिजर कि विद्युतीय गिजर उचित ?
तातो पानीको लागि ग्यास र विद्युतीय दुवै गिजर उपयुक्त हुन्छ । कतिपयलाई ग्यास गिजर मन पर्न सक्छ, अनि कतिपयलाई इलेक्ट्रिक गिजर । तर पछिल्लो समय ग्यास गिजर भन्दा विद्युतीय गिजर बढी रुचाइएको डिल आयो डट कम अनलाइन सपिङका सेल्स म्यानेजर सुरज घिमिरे बताउँछन् । ‘ग्यास गिजरको लागि छुट्टै भेन्टिलेसन र ठूलो स्थानको आवश्यकता पर्ने भएकाले र विद्युतीय गिजर बढी रुचाइएको छ । विद्युतीय गिजर पनि सट हुने डर हुन्छ तर राम्ररी चलाउन जान्यो भने दुवै सुरक्षित नै छन् ।’
गिजरका प्रकार
विद्युतीय गिजर
विद्युतीय गिजरले ग्यास गिजरभन्दा बढी तापक्रममा पानी तताउँछ । ग्यास गिजर भन्दा यो बढी सुरक्षित हुन्छ । यो ग्यास गिजर भन्दा सानो हुन्छ, यस कारण यसलाई जडान गर्न समेत सजिलो हुन्छ ।
विद्युतीय गिजरको आकार आफ्नो आवश्यकताका आधारमा छनोट गर्नुपर्ने हुन्छ । अधिकांश घरमा सानो बाथरुम हुने भएकाले पनि विद्युतीय गिजर बढी खपत हुन्छ ।
ग्यास गिजर
ग्यास गिजरबाट पानी तताउन एसपीजी ग्यासको प्रयोग हुन्छ । यसले इलेक्ट्रिक गिजर भन्दा धेरै छिटो पानी तताउँछ । यसको सञ्चालन खर्च पनि इलेक्ट्रिक गिजरको भन्दा लगभग आधा कम हुन्छ । तर यसलाई जडान गर्न ठूलो स्थान र छुट्टै भेन्टिलेसन चाहिन्छ ।
कुन कुन ब्रान्ड ?
नेपालमा विभिन्न ब्रान्डका गिजर पाइन्छ बढी रुचाइएको ब्रान्डहरू भने बाल्ट्रा, सिजी, केन्ट, क्रोमटोन, हिलटेक र बजाज लगायतका ब्रान्ड हुन् ।
मूल्य कति ?
ग्यास गिजरको मूल्य ९ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म पर्छ । विद्युतीय गिजरको मूल्य साइज अनुसार फरक पर्न सक्छ । यसको मूल्य १५ हजार रुपैयाँदेखि ३५ हजार रुपैयाँसम्म पर्छ ।
जडान खर्च
गिजरको जडान खर्च एक हजारदेखि सुरु हुन्छ । तर जडान गर्नुपर्ने ठाउँ कति टाढा छ त्यही अनुसार जडान खर्च बढ्न सक्छ ।
एउटा ग्याँसले कति पुग्छ ?
एउटा ग्यासले ४ देखि ५ जनाको परिवारलाई एउटा सिजनको जाडो राम्ररी कट्छ ।
विद्युत खपत
विद्युतीय गिजर दुई हजार वाटको हुन्छ । कति प्रयोग हुन्छ त्यही अनुसार नै विद्युत खपत हुने हो ।
कसरी प्रयोग गर्ने ?
ग्यास गिजर होस् वा विद्युतीय गिजर दुवै प्रयोग गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ । गिजर जडान गर्न आउने व्यक्तिले नै तपाईंलाई गिजर प्रयोग गर्न सिकाउँछन् । विद्युतीय गिजर खोलेपछि पानी तात्न ३० देखि ४५ मिनेट लाग्छ भने ग्यास गिजरमा खोल्ने बित्तिकै तातो पानी आइहाल्छ ।
प्रतिक्रिया 4