+
+

झापा २ मा एमालेलाई टक्कर दिने, गठबन्धनलाई उछिन्ने स्वागत

गौरव पोखरेल गौरव पोखरेल
२०७९ मंसिर १२ गते १८:३५

१२ मंसिर, काठमाडौं । न अहिले लहर देखिएको घण्टीवाहक उम्मेदवार हुन्, न कुनै विरासत भएको राजनीतिक दलबाट उम्मेदवारी दिएका हुन्, न लामो राजनीतिक पृष्ठभूमि छ, न लामो चुनावी तयारी नै ।

तर, प्रतिनिधिसभा सदस्यका लागि झापा २ बाट उम्मेदवारी दिएका भद्रप्रसाद (स्वागत) नेपालले धेरैलाई चकित बनाउने गरी भारी मत ल्याएका छन् । भन्छन्, ‘जम्माजम्मी एक महिनाको तयारीमा मतदाताले देखाएको विश्वासप्रति सधैं ऋणी रहनेछु ।’

क्रस खुकुरी चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका उनले झापा २ मा २६ हजार ४४१ मत ल्याए । नेपालले ल्याएको भन्दा २ हजार २५६ बढी अर्थात २८ हजार ६९७ मत ल्याउँदै नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे झापा २ बाट निर्वाचित भए ।

स्वागत दोस्रो स्थानमा सीमित रहँदा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार हरिकुमार राना १३ हजार ९२४ मत पाएर तेस्रोमा रहे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्रप्रसाद गिरीले ८ हजार ७७७ मत ल्याएका छन् । त्यसैले कतिपयले स्वागत राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेको भए सहजै जित्ने विश्लेषण गरेका छन् ।

विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल सुशासन पार्टीका रमेश खरेल, लौरो अभियानका सुमन सायमी लगायत एकठाउँमा उभिनुपर्छ भन्दै भएका छलफलमा सहभागी नेपाल स्वयम् चाहिँ आफूलाई चिह्नले धोका दिएको भन्ने नलागेको बताउँछन् । यद्यपि, रास्वपाबाट आफूलाई धोका भएको उनको दाबी छ ।

‘उहाँहरुसँग पनि मैले समन्वय गरेकै हो, पार्टीतर्फबाट नउठाउने निर्णय नै थियो’, नेपालले भने, ‘उहाँहरुले गगन थापाजीको क्षेत्रमा ब्याक गर्नुभयो, यहाँ गर्नुभएन ।’ धेरै सोझो हिसाबले आफू चुनाव लडेकाले प्राविधिक हिसाबले मात्र पराजित भएको उनले बताए ।

माओवादी नेता सीपी कडरिया भन्छन् – पार्टीको आन्तरिक किचलोका कारण कांग्रेसको भोट क्रस खुकुरीतिर गयो

कांग्रेस नेता भोजराज सिटौला भन्छन् – निर्मम समीक्षा गर्छौं

झापा २ का राजनीतिक अगुवाहरु क्रस खुकुरीबाट उठेर नेपालले ल्याएको मतप्रति चकित छन् । निर्वाचन अघिसम्म कांग्रेस–एमाले–माओवादीले स्वागतलाई झापा २ मा प्रतिस्पर्धी नै ठानेका थिएनन् ।

उनले केही भोट काटे पनि उल्लेख्य मत नल्याउने नेता, कार्यकर्ताहरुको विश्लेषण थियो । तर, उनले नेकपा एमाले र सत्ता गठबन्धनलाई नै कडा चुनौति दिएका छन् ।

‘क्रस खुकुरीले यति धेरै मत ल्याउनुले स्वाभाविकरुपमा निश्चित सन्देश दिएको छ’, नेपाली कांग्रेस विर्तामोड नगर समितिका सभापति भोजराज सिटौला भन्छन्, ‘हामी निर्मम समीक्षा गर्छौं ।’

माओवादी केन्द्र पनि झापा २ मा कांग्रेसबाट आफ्ना उम्मेदवारलाई भोट नआएको भन्दै रुष्ट छ ।

पार्टीका प्रदेश सचिवालय सदस्य एवं झापा जिल्ला कमिटी सदस्य सीपी कडरिया भन्छन्, ‘पार्टीको आन्तरिक किचलोका कारण कांग्रेसको भोट क्रस खुकुरीतिर गएको देखिन्छ ।’

माओवादी झापा जिल्ला कमिटीले झापा २ मा नेपालले पाएको मतलाई कांग्रेसको ‘डम्पिङ मत’ भनेको छ ।

माओवादीका एक नेताका अनुसार कांग्रेस कार्यकर्ताले हँसिया हथौडामा मत दिनुका साटो विकल्पमा नेपालको चुनाव चिह्न क्रस खुकुरीमा मतदान गरेका छन् ।

‘एमालेलाई भोट हाल्न नसक्ने राप्रपा र माओवादीमा भोट हाल्न नसक्ने कांग्रेसको मत उहाँले पाउनुभयो’, ती नेता भन्छन्, ‘खासमा अरु विकल्प नभएर उहाँले मत पाउनु भएको हो ।’

विर्तामोडका पुराना पत्रकार लीला बराल चाहिँ कार्यकर्ता र सांगठनिक संरचनाविना नेपालले उल्लेख्य मत पाउनुलाई पुराना दलहरुप्रतिको वितृष्णा मान्छन् ।

‘उम्मेदवार छनौटदेखि नै असन्तुष्टिहरु पनि देखिएका थिए, जसको फाइदा नेपाललाई भयो’, उनले भने, ‘उम्मेदवार नेपाल स्वयम्को बोल्ने कलाले पनि उहाँ उल्लेख्य मत तान्न सफल हुनुभयो ।’

स्वागतले बटुलेको शक्ति

पूर्वपत्रकार समेत रहेका नेपाल सामाजिक सञ्जाल युट्युबमा विभिन्न राष्ट्रिय मुद्दामा खरो टिप्पणी गरेर चर्चामा आएका व्यक्ति हुन् । भ्रष्टाचार र विभिन्न विवादित राष्ट्रिय मुद्दाहरुमा नेपालले काठमाडौं केन्द्रित भएर विरोध प्रदर्शन गर्ने गरेका थिए ।

स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको ब्यानरबाट १६ असार २०७७ मा शरीरबाट सडकमा रगत पोख्ने कार्यक्रम गर्न खोज्दा उनीसहित १२ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको थियो ।

पछि यही अभियान र उन्नत लोकतन्त्र पार्टी नेपालको ब्यानरमा भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध प्रदर्शनमा उत्रिँदा नेपाल पक्राउ परेका थिए । एमसीसी उपाध्यक्ष फातिमा सुमार आउने दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीसहित विभिन्न व्यक्तिहरु पक्राउ परेका थिए ।

राजधानी केन्द्रित गतिविधि गरिरहेका नेपाल चुनावको एक महिना अघि मात्रै झापा फर्किएका थिए ।

‘मैले चुनावको तयारी गरेको दिनदेखि प्रतिदिन एक हजारले २६ दिनमा २६ हजार नै भोट ल्याउन सकेँ’, नेपालले अनलाइनखबरसँग भने, ‘पहिले मैले दैनिक पत्रिकामा लेख लेख्दाका पाठकहरु, शिक्षकहरु, घटना र विचारमा काम गर्दाका स्रोतहरु पनि धेरै मतदाता हुनुहुन्थ्यो । त्यसले गर्दा मलाई सहज भयो ।’

उनी यही क्षेत्रमा जन्मे हुर्केका व्यक्ति हुन् । ‘सुरुवाती दिनमा पत्रकारितामा संलग्न भएर गरेको कामले पनि मलाई मतदाता माझ चिनाउन गाह्रो भएन’, उनी भन्छन्, ‘कतिपयले अन्तर्वार्ता त कतिले मेरो किताब पढेको बताउँदै भोट हाल्ने बताउनुभयो ।’

आफूले अघि सारेको किसान र युवा केन्द्रीय एजेण्डाहरु मतदाताले मन पराएको उनले बताए ।

नेपालले आफ्नो उम्मेदवारी कुनै दल वा नेताविरुद्ध नभइ ‘राइट टु रिजेक्ट’ अभियानका लागि भन्दै भोट मागेका थिए । चित्त नबुझेको उम्मेदवारलाई भोट हालेरै अस्वीकार गर्न पाउने अधिकारको व्यवस्था गर्न भन्दै उनले हालेको रिटमा सर्वोच्च अदालतले एक दशकअघि निर्देशनात्मक आदेश जारी गरेको थियो ।

तर, हालसम्म कानून नबन्दा कार्यान्वयनमा नआएको भन्दै उनले संसद्मा यसलाई मुद्दा बताउने बताएका थिए ।

पराजित भएर धन्यवाद भन्दै मतदाताको घरदैलोमा

मुलधारका राजनीतिक दलका नेताहरुले चुनाव खर्चिलो भएको सार्वजनिक रुपमा बताउँदै आएका छन् । नेपालले चाहिँ चुनाव लड्दा खर्चै नभएको अनुभव सुनाउँछन् ।

‘श्रीमती र छोरीले बिहान बनाएको खाना खाएर हिँड्ने गरेको थिएँ, दिउँसो चिउरा, भुजा र चना बोकिन्थ्यो’, उनले सुनाए, ‘म शाकाहारी भएकाले अरुले पनि त्यही खानुभयो, अधिकांशले राति नै खाजा तयार गरेर बोकेर हिँडियो ।’

कतिपयले आफूहरुको चुनावी अभियानलाई भूमिगतकालको जस्तो भनेको पनि उनले सम्झिए । ‘मैले ४० हजारको संख्यामा ३० पैसा गोटाको पर्चा बनाएँ, घोषणा–पत्रमा पनि त्यही हो’, नेपालले भने, ‘त्यो एकजना साथीले छापिदिनुभयो, ५/७ हजारमा भयो ।’

चुनावी प्रचारमा साथीहरु आ–आफ्नो मोटरसाइकलमा हिँडेको बताउँदै उनले भने, ‘कार्यालयका लागि भाडामा एउटा फ्ल्याट लिएको थिएँ, घरबेटी अमेरिकामा हुनुहुन्थ्यो । उहाँले मेरो भिडियोहरु हेर्नु भएछ, चुनाव लड्न लागेको थाहा पाएपछि निःशुल्क गरिदिनु भयो ।’

सबै गरेर एकदमै न्यून खर्चमा आफूले चुनाव लडेको उनले बताए ।

‘हुन त मेरो चर्चा धेरै भएपछि व्यापारीहरुले बोलाएका थिए । तर, मैले अस्वीकार गरेँ’, उनले थपे, ‘बरु सहयोग गर्ने हो भने मैले जितेपछि केही युवालाई परिचालन गर्ने किसिमको प्रोजेक्ट ल्याउँछु, त्यसबाट प्रतिफल पनि प्राप्त हुन्छ । त्यसका लागि सहयोग गरिदिनुस् भनेको थिएँ ।’

चुनावपछि उनी अहिले मतदातालाई धन्यवाद भन्दै विगतमा जसरी नै हिँडेका छन् । भन्छन्, ‘मैले मतदाताबाट यति धेरै माया पाएँ, त्यसैले धन्यवाद भन्न उहाँहरु माझ गएको हुँ ।’ पराजित भए पनि आफू आगामी दिनमा पनि राजनीतिमै सक्रिय रहने बताए ।

‘झापा केन्द्रित भएरै काम गर्छु’, नेपालले भने, ‘तर, राजनीतिको जुनसुकै पदमा रहनुभन्दा एक दिन अघिसम्म पेशाकै कमाइले खान्छु भन्ने मेरो मान्यता हो ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?