
१३ मंसिर, काठमाडौं । मतदान सकिएको १६ दिनमा प्रत्यक्षतर्फ ३ क्षेत्रमा दलहरुबीचको विवादका कारणे निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । तीनमध्ये एउटामा भने फेरि निर्वाचनको टुंगो लागेको छ ।
निर्वाचन आयोगका अनुसार, बाजुरा र स्याङजा–२ मा निर्वाचन प्रक्रिया अवरुद्ध छ । प्रमुख दलहरु कांग्रेस र एमालेका कार्यकर्ताबीचको विवाद र एकअर्कामाथिको आरोप प्रत्यारोपका कारण मतदानप्रक्रियामाथि नै प्रश्न उठेको हो । यी तीनमध्ये दोलखाका १० मतदानस्थलमा यसअघिको मतदान रद्ध भएर आगामी बिहीबारका लागि फेरि मतदान हुने भएको छ ।
निर्वाचन आयोगले स्याङजा–२ मा भएको मतदान विवादवारे अध्ययन भइरहेको जनाएको छ । स्याङजा–२ को चापाकोट लगायतका केही ठाउँमा एमाले उम्मेदवारले कांग्रेसमाथि बुथ क्याप्चर गरेको आरोप लगाएको छ । त्यसवारेको उजुरी निर्वाचन आयोगमा समेत परिसकेको छ ।
विवाद भइसकेपछि अध्ययनका लागि स्थलगत टोली पठाउने कि नपठाउने भन्नेबारेमा निर्वाचन आयोगका पदाधिकारीबीच नै राय बाझिएको थियो । आयुक्त ईश्वरीप्रसाद पौड्याल बाहेकका आयुक्तले स्थलगत टोली पठाउनुपर्ने भनी बहुमतका आधारमा गरेको निर्णय अनुसार टोलीले स्याङ्जा–२ को स्थलगत अध्ययन गरिसकेको छ । बाजुरामा पनि आयोगले स्थलगत टोली पठाएर अध्ययन गरेको थियो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले, अहिले स्याङजा–२ र बाजुराको हकमा छिटो निर्णय गरेमा मात्रै निर्वाचन प्रक्रिया सम्पन्न हुने भएकाले आयोगले प्राथमिकताका साथ काम गरिरहेको बताए । उनले भने, ‘यी दुई विषयमा आयोगले प्राथमिकताका साथ काम गरिरहेको छ र निर्णय हुनासाथ थाहा हुन्छ ।’
प्रतिक्रिया 4