
१३ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवासायीलाई निर्देशन दिएका छन् ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेपछि यसको व्यवस्थापन गर्न मन्त्री कुँवरले व्यवसायीहरुलाई निर्देशन दिएका हुन् ।
मंगलबार मन्त्रालयमा वर्षमा १ हजार बढी कामदार मलेसिया पठाउने म्यानपावर व्यवसायीसँग भएको छलफल कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सबै मिलेर जानुको विकल्प नभएको बताए ।
फ्रि भिसा फ्रि टिकट भएपनि कामदारबाट चर्को रकम असुलेका खबर बाहिर आइरहेकाले यस्को जिम्मेवार म्यानपावर व्यवसायी नै भएको जानकारी गराए ।
‘सरकारले नीति नियम बनाएको छ, फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउन श्रम सम्झौता गरेको छ,’ उनले भने, ‘तर फेरि एक जना समान्य परिवारको व्यक्ति मलेसिया जान लाखौं रकम तिर्न बाध्य छ । यो विषयमा हामी पनि अनुगममा कडाइ गछौं, तपाईंहरुले पनि विशेष ध्यान दिनु होला ।’
उनले वैदेशिक रोजगारीमा भइरहेको विकृतिलाई न्यूनीकरण गरी मर्यादित रोजगारी बनाउनका लागि सबैले ‘म–म’ भनेर लाग्नु पर्ने र सुधारको बटोमा अगाडि बढ्नु पर्ने बताए । उनले सरकारको तर्फबाट नीति नियम संसोधन गर्ने कुरा र अनुगमनको बाटो बलियो बनाउने कुरामा आफूहरु सधैं तयार रहेको पनि जानकारी गराए ।
कार्यक्रममा मन्त्री कुँवरले व्यवसायी पनि राज्यको एक हिंसा भएकाले व्यवसायीका मागलाई सम्बोधन गर्न सरकार बाधक नभएको भन्दै आफ्ना समस्या र मागलाई प्रष्टसँग राख्न व्यवसायीलाई अनुरोध गरे ।
मलेसियामा फ्रि भिसा फ्रि टिकटमा जाने कामदारको सम्झौता अनुसारको काम र तलब नपाउने र मेडिकलको समस्या धेरै आउने भएकाले यसको समाधानका लागि मन्त्रालय तयार रहेको पनि उनले बताए ।
मन्त्री कुँवरले अब सरकारले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध कारबाही नरोकिने र यसबाट सरकार पछि नहट्ने प्रतिबद्धता जनाए । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठगीरहित रोजगारी प्रत्याभूत गर्न सरकार क्रियाशील रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4