
१४ मंसिर, काठमाडौं । आगामी ४ पुसदेखि नेपाल एयरलाइन्सले भैरहवालाई एक साथ दुई गन्तव्यमा जोड्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेवानिको माग अनुसार ‘विन्टर सेड्यूल’ स्वीकृत गर्दै यस्तो जानकारी गराएको हो । साथै नेवानिको यसअघि कटौती भएका गन्तव्यको उडान पुनः साविकको संख्यामा पुर्याएर तालिका स्वीकृत भएको प्राधिकरणका सूचना अधिकृत ज्ञानेन्द्र भुलले जानकारी दिए ।
स्वीकृत तालिका अनुसार काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रुटमा एउटा जहाजले उडान गर्नेछ । नेपाल एयरलाइन्सको अर्को जहाजले काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने छ ।
दोहाबाट भैहरवा साताको दुई वटा (आइतबार र मंगलबार) र क्वालालाम्पुरबाट भैरहवा एउटा गरी सातामा तीन वटा उडान हुने गरी तालिका स्वीकृत भएको हो । प्राधिकरणले १९ डिसेम्बरबाट २५ मार्चसम्मका लागि यो तालिका स्वीकृत गरेको हो ।
दिल्लीमा नेवानिको सातामा १४ उडान नै हुने
यसअघि कटौती भएको दिल्लीसहितका अन्तर्राष्ट्रिय उडानको समेत तालिका पुनः स्वीकृत भएको छ । यसअघि अब नयाँ दिल्लीमा काठमाडौंबाट नेवानिले सातामा १४ उडान अर्थातः दैनिक २ उडान गर्न पाउने भएको छ ।
यसअघि सातामा १० मात्र उडान हुने गरी प्राधिकरणले उडान कटौती गरेको थियो । काठमाडौंबाट क्वालालाम्पुर, दोहा र दुबईमा समेत अब दैनिक एक उडान गर्न सक्ने गरी निगमको तालिका स्वीकृत भएको छ । भैरहवाबाट अनिवार्य उडान गराउन प्राधिकरणले केही अगाडि यी रुटहरुको नियमित उडान कटौती गरिएको थियो ।
प्रतिक्रिया 4