
१४ मंसिर, काठमाडौं । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा नेपाली कांग्रेसभित्र संसदीय दलको नेता को बन्ने भन्ने बहस सुरु भइसकेको छ । महामन्त्री गगन थापाले आफू संसदीय दलको चुनाव लड्ने घोषणा गरिसकेका छन्, साथसाथै, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, किशोरसिंह राठौर लगायतले पनि संसदीय दलको नेतामा आकांक्षा देखाएका छन् । सभापति शेरबहादुर देउवाले मुख नखोले पनि संसदीय दलको नेताको दाबेदार रहनेमा कांग्रेसभित्र शंका छै्रन ।
कञ्चनपुर–३ बाट निर्वाचित नेता रमेश लेखक भने संसदीय दलको नेतामा देउवाको विकल्प देख्दैनन् । वर्तमान सत्ता गठबन्धनको नेतृत्व गरेको र गठबन्धनको निरन्तरताको आवश्यकताले फेरि देउवालाई नै खोजेको उनको दावी छ । यसै सन्दर्भमा सन्दर्भमा नेता लेखकसँग अनलाइनखबरका रघुनाथ बजगाईंले गरेको कुराकानी :
कांग्रेसभित्र संसदीय दलको नेताका आकांक्षी धेरै देखिए नि ?
संसदीय दलको नेतामा दाबी गर्ने कुरा स्वभाविक हो । फलानोलाई संसदीय दलको नेता बनाउँछु भनेर भन्नु र मतदान गर्नु पनि लोकतान्त्रिक प्रक्रिया हो ।
मुख्यतः सभापति र महामन्त्री गगन थापाबीचमा प्रतिस्पर्धा हुनेजस्तो देखिन्छ होइन त ?
अहिलेको परिस्थितिमा शेरबहादुर देउवाजीले चाहनुभयो भने संसदीय दलको नेता पनि देउवाजी र प्रधानमन्त्री पनि उहाँ नै हो ।
देउवाले नचाहेर नयाँलाई अवसर दिने सम्भावना पनि छ ?
उहाँले आफैंले म उठ्दिन भन्नुभयो भने फरक कुरा हो । तर, उहाँले भन्नुहुन्न होला ।
कांग्रेसभित्र नेतृत्व पुस्तान्तरण हुनुपर्छ भन्ने मतको अगुवाइ महामन्त्री गगन थापाले गरिरहेका छन् । तपाईंहरु नयाँ अनुहारलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउन किन अनुदार ?
पुस्तान्तरण भइराखेकै छ । युवा नेताहरु महामन्त्री भइसक्नुभएको छ । विस्तारै उहाँ (गगन थापा) प्रधानमन्त्री हुने सम्भावना पनि प्रबल हुँदै गएको छ । तर, अहिले होइन ।
हामीले परिस्थिति हेर्नुपर्छ । सत्ता गठबन्धनको नेतृत्व शेरबहादुर देउवाजीले गर्नुभएको छ । अहिलेको चुनाव भनेको गठबन्धनकै निरन्तरता हो । फेरि गठबन्धनमा सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने हुन्छ । सरकार बनाउनका लागि पनि बहुमत पुर्याएर जानुपर्ने छ । यसमा शेरबहादुरजीको विशेष क्षमता र दक्षता छ ।
यसकारण गठबन्धनलाई कायम राखेर अगाडि बढ्न पनि उहाँको आवश्यकता पर्छ । पार्टीमा निर्वाचित भएर आएका माननीयहरू र समानुपातिक सूचीबाट आउनेहरु पनि शेरबहादुर देउवाजीकै पक्षमा भएको हुनाले उहाँ नै फेरि संसदीय दलको नेता बन्नुहुनेछ ।
यसको अर्थ देउवा संसदीय दलको नेता भएनन् भने सत्ता गठबन्धन भत्किन्छ र राजनीतिक कोर्स अर्कैतिर मोडिन सक्छ ?
त्यस्तो होइन, सबैलाई मिलाएर जान सक्ने क्षमता देउवासित देखिएको छ । गठबन्धनको नेतृत्व पनि उहाँले नै गर्नुभएको हुनाले उहाँलाई नै निरन्तरता दिँदा गठबन्धनलाई सहज हुन्छ भन्ने हो ।
नेपालको राजनीतिमा देउवाको आवश्यकता अब कति पटक पर्छ ?
अहिलेको सत्ता गठबन्धनलाई निरन्तरता दिनका लागि उहाँको आवश्यकता छ । संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा अहिलेको गठबन्धन मार्फत गर्नुपर्ने छ । यो आवश्यकता रहँदासम्म उहाँको आवश्यकता रहन्छ ।
देउवालाई कति चोटी प्रधानमन्त्री बनाउने भनेर प्रश्न गर्नेहरुलाई के भन्नुहुन्छ ?
त्यो त परिस्थितिले निर्धारण गर्छ । अहिलेको परिस्थितिले नै देउवालाई संसदीय दलको नेता र प्रधानमन्त्री मागेको देखिराखेको छु ।
वर्तमान सत्ता गठबन्धनकै सरकार बन्नेमा तपाईं ढुक्क हुनुहुन्छ ?
गठबन्धनकै सरकार बन्नेमा विश्वास छ ।
नेकपा एमालेले पनि त सरकार बनाउने प्रयास गरिरहेको होला नि ?
तयारी त सबैले गर्ने नै भए । तयारी गर्ने हदसम्म दुविधा रहेन । तर, गठबन्धनको निरन्तरता हुनेमा मलाई पूर्ण विश्वास छ ।
तत्कालिन नेकपामा भागवण्डामै कुरा नमिल्दा एमाले र माओवादी अलग हुने परिस्थिति बन्यो । एमाले पनि सग्लो रहेन । अहिले गठबन्धनको भविष्यमाथि प्रश्न गर्नेहरुलाई के भन्नुहुन्छ ?
यदि एमाले र माओवादीको गठबन्धनको सम्भावनाको कुरा गर्नुभएको हो भने ढुक्क भए हुन्छ त्यो असफलसिद्ध भइसकेको गठबन्धन हो । एमाले र माओवादीको गठबन्धन बनेर पार्टी नै एकता गरिसकेको हो । तर, त्यो गठबन्धनले न संविधानको रक्षा गर्न सक्यो न विकास दिन सक्यो न आफ्नै पार्टी जोगाउन सक्यो । आफ्नै पार्टीलाई तीन चार टुक्रा पारेर आएको त्यही गठबन्धनको सम्भावना फेरि छ भन्ने हो भने कुरा नबुझेको ठहरिन्छ ।
भनेपछि सत्ता साझेदारीमा कांग्रेस लचिलो हुन्छ ?
कांग्रेसले लचिलो भएर पनि गठबन्धनलाई अगाडि बढाउँछ ।
प्रतिक्रिया 4