
१४ मंसिर, विराटनगर । मोरङका तीन व्यवसायिक संस्थाले बैंकको स्प्रेडदरलाई अझै घटाउन माग गरेका छन् ।
मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले बैंकहरुको स्प्रेडदर (निक्षेपमा दिने व्याज र कर्जामा लिने ब्याजबीचको अन्तर) ४.४ प्रतिशतबाट घटाएर ४ प्रतिशत बनाएको छ । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले बैंकको स्पेडदर अझै ०.५ प्रतिशत घटाएर ३.५ प्रतिशत कायम गर्न माग गरेका हुन् ।
‘विद्यमान वित्तीय अवस्थाको सुधारका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै वाणिज्य बैंकहरुको ४.४ प्रतिशतको स्प्रेडदरलाई ४ प्रतिशत कायम गर्ने निर्णयले चर्काे व्याजदरमा केही राहत ल्याउने छ’, तीन संस्थाले पत्रकार सम्मेलन गर्दै भने, ‘स्प्रेडदरलाई ३.५ प्रतिशत कायम गरिए त्यसले दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पर्छ ।’
तीन व्यवसायिक संस्थाले राष्ट्र बैंकलाई निर्णयमा थप लचकता अपनाउँदै ३.५ प्रतिशतको स्प्रेडदर कायम गर्न माग आग्रह गरेका छन् ।
स्प्रेड दर घटाउँदा बैंकको नाफामा कमी आउने भन्दै बैंकर्सले असन्तुष्टि जनाइरहेका छन् । तीन संस्थाले बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन तथा कर्मचारी खर्च टर्नओभरको आधारमा हुने गरी सीमा निर्धारण गरी अनावश्यक खर्च न्यूनीकरण र बेसरेट घटाउने वातावरण सिर्जना गर्न पनि आग्रह गरेको छ ।
प्रतिक्रिया 4