
१५ मंसिर, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री शेरबहादुर देउवाको सँगको भेटमा किसान आन्दोलनका माग र नागरिकताको विषय उठाएका छन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र राउतबीच भेट भएको थियो । भेटमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार दुई नेताबीच संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने विषयमा छलफल भएको छ । छलफल सकारात्मक रहेको जनमत पार्टीका नेताहरुले पनि बताएका छन् ।
जनमत पार्टीका नेता बिपी साहका अनुसार भेटमा बधाई साटासाटका अलावा अध्यक्ष राउतले मुख्यत दुई विषय उठाएका छन् । पहिलो – नागरिकता । दोस्रो – किसान आन्दोलनको मागको सम्बोधन ।
‘नागरिकता विधेयक जुन राष्ट्रपतिकहाँ अड्किएको छ त्यसलाई तत्काल टुंगो लगाइनुपर्नेछ’ राउतले प्रधानमन्त्रीसमक्ष राखेको भनाइ उधृत गर्दै साहले भने । यसमा प्रधानमन्त्रीले आफूहरुको निरन्तर प्रयास जारी रहेको र नयाँ सरकार बनेपछि नागरिकता विधेयकको विषयलाई एउटा टुंगोमा पुर्याइने आश्वासन दिए ।
संघीय संसदबाट पारित भएर गएको नागरिकता विधेयक संसदमै फिर्ता पठाएर राष्ट्रपतिले आफूले दिएका सुझावको सम्बोधन नभएको भनी नागरिकता विधेयक नै प्रमाणीकरण गरेकी छैनन् । यो विवाद हाल सर्वोच्च अदालतमा पनि बिचाराधीन छ । राष्ट्रपतिले सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा भने नागरिकता विधेयक ‘यथास्थितिमा राखिएको’ भनिएको छ ।
साथसाथै, अध्यक्ष राउतले किसान आन्दोलनका माग अन्तर्गत मलखादको व्यवस्थापन, किसान कार्ड, किसान पेन्सन र रासायनिक मलको सहज उपलब्धताको विषय प्रधानमन्त्रीसमक्ष राखेका छन् । जवाफमा प्रधानमन्त्री देउवाले यो साझा विषय भएको र दीर्घकालीन समाधान आफ्नो पनि चाहना भएको बताए ।
प्रतिक्रिया 4