
१५ मंसिर, काठमाडौं । ०७२ को महाभूकम्प जानुभन्दा एक दिनअघि ११ वैशाख अपराह्नको कुरा हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा अनौठो जिज्ञासाले घर गर्दै थियो । उपस्थित केही पत्रकारसँग प्रचण्डले सोधेका थिए, ‘कस्ता छन् हँ सीके राउत ?’
कुनै बेला प्रचण्डबारे जुन खाले रहस्य व्यक्त हुन्थ्यो, त्यस्तै रहस्य उनले त्यस बेला सीके राउतबारे व्यक्त गरेका थिए । सशस्त्र युद्ध हाँकेर आएका प्रचण्डले देश विखण्डन मागमा थुनिएर त्यसको अघिल्लो दिनमात्रै छुटेका राउतबारे यस्तो सोधेका थिए ।
बीचका यी वर्षहरुमा सीके राउतले ‘मार्ग परिवर्तन’ गरे । देश टुक्र्याउने माग छाडे । बरु जनमत पार्टी खोलेर किसानका एजेन्डा उठाए । राउतले त्यस्ता एजेन्डामा हात हाले, जो कुनै बेला प्रचण्डको माओवादीले उठाउँथ्यो ।
उसो त प्रचण्डको पनि यसबीचमा थुप्रै परिवर्तन भयो । उनी लाजिम्पाटबाट खुमलटार सरे । माओवादीबाट एमालेसँग मिलेर नेकपा हुँदै फेरि कांग्रेससँगको गठबन्धनमा आइपुगे ।
तर यी दुई नेताबीच अहिलेसम्म आमनेसामने गफ भएको रहेनछ । मधेसका शीर्षस्थ नेता उपेन्द्र यादवलाई फराकिलो अन्तरले सप्तरी २ मा हराउँदै काठमाडौं उक्लेका सीके राउतले आज बिहीबार खुमलटारस्थित प्रचण्ड निवास पुगेर भने, ‘तपाईंले माओवादी विचारधाराको बलमा युद्ध हाँकेर शान्तिमा आइपुग्नुभयो । तपाईंको योगदान देखेर मलाई राजनीतिमा आउने प्रेरणा जाग्यो ।’
प्रचण्ड मख्ख परिहाले । उनले सीकेलाई हेर्दै सुरुमै उप्काए, ‘तपाईं आएर राम्रो गर्नुभयो । म त तपाईं ओलीतिर पो ढल्किनु भो कि भन्ठान्या ।’
त्यसपछि हाँसो चल्यो ।
सीकेले प्रचण्डले उठाएको स्वशासन, पहिचानको राजनीतिले आफूलाई प्रभाव पारेको बताए । ‘उत्पीडितहरुलाई आफूहरुको शासन आउँछ भन्ने विश्वास तपाईंले जगाउनुभयो,’ सीकेले यसो भन्दै गर्दा प्रचण्ड मुन्टो हल्लाउँदै बसे । उनले जवाफ दिए, ‘तर तपाईंले देश विखण्डनकै कुरा ल्याउँदा चैं मलाई चित्त नबुझेको हो ।’
‘त्यो त युवा जोशमा बहकिँदै जाँदा अलिक बढ्ता भनियो । खासमा राज्यले मधेशमा जुन स्तरको दमन गर्यो, त्यसले पनि मलाई त्यहाँसम्म सोच्न बाध्य गरायो । तर अब त्यस्तो छैन,’ सीकेले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि खुमलटार पुगेका सीकेलाई सहकार्य गर्न प्रचण्डले प्रस्ताव गरे । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई नेताबीच आधा घन्टासम्म कुराकानी भयो । सीकेले प्रचण्डको परिवारसँग पनि भेटेर दोहोरो चिनापर्ची गरेका थिए ।
प्रतिक्रिया 4