
काठमाडौं । चाडपर्व होस् वा पारिवारिक जमघट, सामूहिक रुपमा पकाउनु र खानु कम्ता रमाइलो हुँदैन । घरको छतमा उक्लिएर हुन्छ कि बगैंचामा ओर्लिएर, सानोतिनो रमझमसँगै पकाउँदै खानुको अनुभव खास हुने नै भयो । यसका लागि बार्बीक्यु काइदा हुनसक्छ ।
खुला आकाशमुनि बसेर मासु वा अन्य खानेकुरा पोल्दै, सेकाउँदै खानका लागि बार्बीक्यु राम्रो विकल्प हो । त्यसो त अहिले घरघरमा बार्बीक्यु भोज गर्ने प्रवृत्ति पनि बढ्दो छ । यसले बजारमा बार्बीक्यु चुल्होको माग पनि बढाइदिएको छ ।
बार्बीक्यु एक खाना पकाउने विधि तथा खानाको एक शैली हो । नेपाली बजारमा अहिले विभिन्न शैली, आकारप्रकारका बार्बीक्यु चुलोहरू उपलब्ध छन् । केही विद्युतीय त केही कोइला राख्न मिल्ने । केही फोल्ड गरेर जता पनि लैजान मिल्ने र केही नमिल्ने ।
फोल्डिङ बार्बीक्यु चुलो
पारिवारिक जमघट र आउटडोर क्याम्पिङका लागि पोर्टेबल फोल्डिङ बार्बिक्यु चुलो उपयोगी हुन्छ । स्टेनलेस स्टिलबाट यो बनेको हुन्छ । यसमा कोइला राखेर खानेकुरालाई ग्रिल गर्न सकिन्छ । यसको मूल्य यसको आकार अनुसार फरक पर्छ । यसको न्यूनतम शुल्क एक हजार रुपैयाँदेखि सुरु हुन्छ ।
धातुको बार्बीक्यु चुलो
धातुको बार्बीक्यु चुलो ग्रिल कारखानामा अर्डर दिएर बनाउन पनि सकिन्छ । यस्तो बार्बीक्यु अन्य चुलोको तुलनामा अलि बढी हेभी हुन्छ । आउटडोर क्याम्पिङ भन्दा पनि घरको छतमा बगैंचामा बार्बीक्यु परिकार खानको लागि यो बढी उपयोगी हुन्छ । २० इन्चको धातुको बार्बीक्यु चुलोको मूल्य २ हजार ५०० रुपैयाँ पर्छ ।
विद्युतीय बार्बीक्यु चुलो
सानो परिवार र कोइला नपाइने ठाउँको लागि यो विद्युतीय बार्बीक्यु चुलो उपयुक्त हुन्छ । यो दुई हजार वाटको हुन्छ । यसको प्रयोग कति गरिन्छ त्यही अनुसार नै बिजुली खपत हुन्छ । दैनिक प्रयोग नहुने भएकोले यसले विद्युत पनि धेरै खपत गर्दैन । विद्युतीय चुलोको मूल्य एक हजार ५०० देखि चार हजार रुपैयाँसम्म पर्छ ।
कोइलाबाट चल्ने कि विद्युतीय कुन बढी उपयोगी ?
कोइलाबाट चल्ने र विद्युतीय बार्बीक्यु चुलो दुवै आ-आफ्नो ठाउँमा उपयोगी छन् । कोइलाबाट चल्ने चुलोलाई बाहिर आउटडोर पिकनिकको लागि पनि लैजान सकिन्छ । विद्युतीय लाइनको जरुरी नपर्ने, बोकेर हिंड्न पनि सजिलो हुने भएकाले र कम खर्चिलो पनि हुने भएकाले कोइलाबाट चल्ने बार्बीक्यु चुलो बढी रुचाइएको पाइएको छ ।
विद्युतीय चुलो सानो परिवार र कोइला नपाइने ठाउँको लागि उपयोगी हुन्छ । दैनिक प्रयोग नगरिने भएकाले यसले पनि धेरै विद्युत खपत गर्दैन । बार्बीक्यु भन्ने बित्तिकै मासुको परिकार भन्ने धेरैले सोच्छन् । तर मासुका परिकार मात्र होइन, पनिर, आलु, क्याप्सिकमलाई पनि बार्बीक्यु गरेर खान सकिन्छ ।
बार्बीक्यु चुलोमा प्रयोग हुने कोइला घरमै पनि तयार गर्न सकिन्छ । यदि त्यो सम्भव भएन भने अहिले विभिन्न सुपरमार्केटमा कोइला सजिलै किन्न पाइन्छ ।
प्रतिक्रिया 4