
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, बिहीबार साँझ जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लिएर बालुवाटार पुगे । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटाए र सरकारमा सहभागी हुन जनमत पार्टी सहमत भएको बताए ।
बालुवाटार जानुअघि अनलाइनखबरसँग कुरा गर्दै कांग्रेस नेता निधिले गठबन्धनकै सरकार बन्ने दाबी गरे । जनमत पार्टी मात्र होइन, नागरिक उन्मुक्तिलगायत पार्टीको समर्थन जुटाउने उनले बताए । निधिले अगाडि भने, अहिलेसम्म कांग्रेसको नेतृत्वमा सरकार बनोस् भन्ने हाम्रो चाहना हो । ठूलो दल भएकाले हाम्रो स्वाभाविक दाबी हुन्छ ।’
प्रस्तुत छ, कांग्रेस पूर्व उपसभापति समेत रहेका कांग्रेस नेता निधिसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र रघुनाथ बजगाईंले गरेको कुराकानीको सम्पादित अंशः
पाँच पार्टीको गठबन्धन बनाएर चुनाव लड्दा पनि बहुमत पुर्याउनै सकस पर्ने नतिजा आयो, होइन ?
हो, बहुमतका लागि सकसपूर्ण परिणाम आयो । बहुमत पुग्ने–नपुग्ने, एकाध कम हुने अवस्था आएको छ । यो सत्यलाई स्वीकार गर्नुपर्छ ।
‘संविधानको रक्षा गर्यौं, अब स्थिरता र विकास दिन्छौं’ भनेर भोट मागेको थियो गठबन्धनले । बहुमत नपाउनु भनेको त जनताले तपाईंहरूको गठबन्धनलाई ‘रिजेक्ट’ गरे भन्न मिल्छ ?
मिल्दैन । हाम्रो देशको निर्वाचन र मतदाताको प्रवृत्तिलाई अध्ययन गर्ने हो भने यसमा फरक पाउन सकिन्छ । हामीले दिएका ‘न्यारेसन’ एजेण्डामा हो, तर सबै ठाउँका मतदातालाई घोषणापत्रको ‘न्यारेटिभ्स’ले छोएको हुँदैन, प्रभावित गरेको हुँदैन । बौद्धिकस्तरमा अलिकति सचेतना होला, तर आम मतदातालाई प्रभावित पार्ने विविध कारण हुन्छन् ।
म आफ्नै उदाहरण दिन्छु, जनताको अधिकारका लागि लडें । संविधान बनाउन भूमिका खेलें । क्षेत्रको विकास भन्नुहुन्छ भने बाटो, शिक्षा स्वास्थ्य सबै क्षेत्रमा काम गरेको थिएँ । तैपनि २०७४ मा म पराजित भएँ ।
त्यसैले नेपालको राजनीतिमा राजनीतिक अधिकार र विकासले मात्रै मतदाता आकर्षित हुन्छन् भन्ने अझै स्थापित हुन गाह्रो छ । अहिले हामी (गठबन्धन)ले पाएको मतका आधारमा ‘रिजेक्ट’ वा स्वीकार गरेको भन्न मिल्दैन ।
तर चुनावी परिणामको सन्देश त होला नि ?
जनताले दुई भोटले जिताएको होस् कि २० हजार भोटले, जित भनेको जित हो, हार भनेको हार । चुनावको ‘म्यान्डेट’ भनेको जनताले जुन पार्टीलाई जति संख्यामा जितायो, त्यही हो ।
समग्रमा भन्दा संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रिक प्रणालीको पक्षमा जनादेश छ । यो बाहेक अरू राजनीतिक विषयमा भन्दा जनताको निजी हितको विषयले धेरै सरोकार राख्दछ । त्यसको आधारमा मतदाताले निर्णय गर्दछ भन्ने मेरो अनुभव छ ।
भर्खर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई ठूला गठबन्धनसँग प्रतिस्पर्धा गरेर पनि प्रत्यक्षतर्फ ७ सिट जित्यो भने समानुपातिक भोट ११ लाख कटाइसक्यो । तपाईंहरूले प्रतिगामी भन्ने गरेको राप्रपाले पनि आफ्नो शक्ति निकै बढाएको छ; जनमत, नागरिक उन्मुक्ति जस्ता पार्टीहरू पनि आएका छन्, यसको कुनै सन्देश छैन ?
जनताले विविध विषय र मुद्दामा टेकेर मत दिएका छन् । केही हदसम्म ‘डेलिभरी’ हेरेका छन्, ‘पर्फमेन्स’ कस्तो रहेछ भन्ने हेरेका छन् । यो यसपालि मात्रै भएको होइन । २०४८ सालदेखि नै हेर्नुभयो भने हरेक चुनावमा केही न केही नयाँ भएको छ । जनताले अलिकति फरक ‘टेष्ट’ पनि खोज्छन् ।
‘टेष्ट’ नयाँ–नयाँ खोज्नु सधैं नकारात्मक हुन्छ भन्ने पनि हुँदैन । यसकारण मैले यसलाई स्वाभाविक रूपमा लिएको छु । आगामी दिनमा राजनीतिशास्त्रीहरूले यसको अझ राम्ररी विश्लेषण गर्नुहोला ।
अहिले चाहिं कांग्रेसको प्राथमिकता सरकार गठन हो ?
त्यसमा लुकाउनुपर्ने कुरै छैन !
सरकार बनाउँदा चाहिं अहिलेकै गठबन्धनलाई निरन्तरता दिने कि अरू दलहरूसँग पनि मिलेर बनाउने ?
यो गठबन्धन त कायम राख्ने हो । साथै नयाँ–नयाँ दलहरू जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राप्रपा, स्वतन्त्र पार्टी छन् । यसमध्ये कोही सरकारमा आउन सक्ने सम्भावना छ भने त्यसका लागि प्रयास गर्ने हो । किनकि संसदमा एउटा पार्टीको बहुमत छैन भने एकभन्दा बढी दल मिलेर बहुमत जुटाउने प्रयास गर्नु राजनीतिक कार्य हो ।
सीके राउतसँग भएको भेट पनि यही प्रयोजनका लागि हो ?
एकदम हो । सीके राउतजीसँग मेरो पहिलो पटक भेट भएको हो । नाम त सुनेकै थिएँ दश वर्षदेखि, भेट भएको थिएन । बडो सरल, सहज र सुल्झिएको मान्छे पाएँ मैले ।
यो बीचमा कहिल्यै भेट भएको थिएन ?
थिएन । अस्ति जनकपुरबाट आउँदा संयोगले एउटै प्लेनमा पर्यौं । प्लेन चढ्न पर्खिरहँदा भेट भयो । कुराकानी भयो । उहाँ सहज रूपमा मकहाँ आउन तयार हुनुभयो । जनकपुर बस्नुहुन्छ, जनकपुर नै बसेर राजनीति गर्नुहुन्छ ।
मसँग भेट गर्न सायद उहाँलाई रुचि नै रहेछ । अस्ति (बुधबार) पहिलो भेट भयो । उहाँको बारेमा अलिकति भ्रामक ‘इमेज’ थियो, मेरो त सबै एक घण्टाको भेटघाटमा ‘करेक्सन’ भयो ।
सरकार बनाउन सहयोग चाहिने भएपछि ‘करेक्सन’ भएको हो कि साँच्चै ?
होइन । म गृहमन्त्री हुँदा उहाँ पटक–पटक थुनिनुभएको थियो । उहाँ मधेश देशका लागि राजनीतिक रूपमा सक्रिय हुनहुन्थ्यो । गिरफ्तार भएपछि हाम्रा (सरकारी) वकिल, नेपाल प्रहरी सबैले भन्थे, के अभियोग लगाउने ? म भन्थें, नेपाललाई टुक्र्याउन चाहेको हो, देशद्रोह वा राज्यद्रोहको मुद्दा किन लाग्दैन ? तर अनुसन्धान गर्दै जाँदा, रेकर्डहरू हेर्दा मधेशलाई देश बनाउँछु भनेको छ ।
सबभन्दा महत्वपूर्ण कुरा हतियार उठाएको छैन, हतियार बन्द संगठन छैन । शान्तिपूर्ण गान्धीवादी तरिका भनेको छ । अस्ति देखें, घाँटीमा ओशोको माला छ । ओशोको भक्त हुनुहुँदोरहेछ । अहिले त मूल प्रवाहमा आइसक्नुभयो । पार्टी निर्माण गर्नुभयो । आफैंले भनिसक्नुभएको छ– पृथकतावादी आन्दोलनको मुद्दा छोडिसकें ।
मधेश जनजातिको अधिकार आदि इत्यादि त जसले पनि आफ्ना कुरा राख्न पाउँछ । हिजो भेट्दा पनि उहाँलाई प्रतिबद्ध भएको पाएँ । उहाँले म डेमोक्र्याट हुँ, कुनै सरकारको पालामा सम्झौता भएर म मूलप्रवाहमा आएँ भन्दैमा त्यही पार्टीसँग जोडिएको हुँदैन भनेर पनि भन्नुभयो । उहाँले जे भन्नुभयो, त्यसलाई त स्वीकार गर्नुपर्यो नि !
सरकारमा आउन ‘ग्रिन सिंग्नल’ पनि दिनुभयो ?
मैले उहाँलाई प्रस्ताव गरें, यो गठबन्धनमा सामेल हुनुहोस्, सरकारमा पनि सामेल हुनुहोस् । उहाँ सकारात्मक हुनुभएको छ । अरू छलफल हुँदै जान्छ, एकैचोटि त हुँदैन नि !
१४औं महाधिवेशनपछि त पार्टी केन्द्रीय सदस्य बाहेक अरू भूमिकामा हुनुहुन्न, सांसद भइसक्नुभएको छैन । पार्टी सभापतिसँग सल्लाह गरेर नै बहुमत जुटाउन सक्रिय हुनुभएको त होला नि ?
यस्तो प्रश्न नसोध्नुस् न, स्वविवेकले पनि यस्तो काम गरिएको हुन्छ । स्वतः त्यो आफ्नो कर्तव्य हो, तर शेयर गर्नुपर्छ । मैले अस्ति साँझ नै पार्टी सभापतिलाई सबै ‘ब्रिफिङ’ गरेको छु ।
केही दिनअघि पनि उहाँसँग भेट भएको थियो । मैले त्यतिबेला नै उहाँलाई संसदीय दलको नेतामा समर्थन गर्छु भनेको थिएँ । महाधिवेशनमा पार्टी सभापतिका लागि प्रतिस्पर्धा गर्दा पनि पहिलो चरणमा त आ–आफ्नो हिसाबले गइयो, दोस्रो चरणमा शेरबहादुरजीलाई नै भोट दिएँ । संसदीय दलको नेतामा पनि उहाँलाई समर्थन गर्नु मेरो राजनीतिक निर्णय हो ।
मैले पार्टीका अरू नेताहरूसँग पनि कुराकानी गर्नुहोस् भनें । नेता चुनिनका लागि त अरूसँग पनि कुराकानी गर्नुपर्यो । मैले उहाँलाई तपाईंका लागि सहयोग जुटाउने काममा लागौं भनेर सोध्दा उहाँले हुन्छ लाग्नुहोस् भन्नुभयो । बहुमत नभएपछि सरकार गठनका लागि अरू दलहरूसँग पनि कुराकानी गर्नुपर्छ । सीके राउतसँग कुरा गरौं कि नगरौं भनेर सोध्नै पर्दैन । हामी राजनीतिक मान्छेलाई यति कुरा गर्न सोध्नुपर्छ र ?
गठबन्धनमा कसको नेतृत्वमा सरकार भन्ने सहमति जुटाउनुपर्ला, कांग्रेसकै नेतृत्व हुँदा पनि कसको भन्ने प्रश्न होला नि ?
कांग्रेसमा जो संसदीय दलको नेता बन्छ, उसैको नेतृत्वमा सरकार बन्छ । यसमा मेरो स्पष्ट ‘रोडम्याप’ छ, दलको नेतामा शेरबहादुरजीलाई समर्थन जुटाउने, अनि सरकार बनाउने ।
महाधिवेशनमा शेरबहादुर होइन, म सभापति हुन्छु भनेर आफैं प्रतिस्पर्धामा उत्रिनुभएको थियो । अहिले संसदीय दलको नेतामा पनि नयाँ आउनुपर्छ भन्ने मत उत्तिकै छ । सांसद नै नभएको तपाईंहरूले चाहिं समर्थन गर्ने निर्णय लिइसक्नुभयो ?
परिवर्तन खोजेको हो, भएन । त्यो वास्तविकतालाई स्वीकार गर्नुपर्छ । खोजेको कुरा सधैं पाइन्छ भन्ने छैन !
उसो भए दलको नेतामा परिवर्तन नखोज्ने ?
दलको नेतामा होइन, सभापतिमा परिवर्तन खोजेको थिएँ । म आफैं उठें । सभापति देउवालाई परिवर्तन गर्न भनेर अरू धेरै उम्मेदवार उठ्नुभएको छ । देउवाको ठाउँमा अरूलाई ल्याउन म उम्मेदवार भएको थिइनँ । यसमा लाज मान्ने कुरै छैन, म आफू सभापति बन्न उठेको थिएँ, बनिनँ ।
सभापति बन्न जति मत चाहिन्थ्यो, कांग्रेसको महाधिवेशनमा मतदाताले मलाई त्यति दिएनन् । मलाई कार्यकर्ताले सभापतिमा स्वीकार गरेनन् । मतदाताले जसको भारी मत छ, उसैलाई सभापति मान है भने ।
जो दोस्रो बन्छ, उसलाई सहयोग गर्ने वचनमा तपाईं र प्रकाशमान सिंह टिक्नुभएन भन्ने आरोप छ नि !
अरूका विषयमा म बोल्दिनँ, मेरो चाहिं कुनै ‘कमिटमेन्ट’ थिएन । शेरबहादुरजी बाहेक जति पनि उम्मेदवार हुनुहुन्थ्यो, उहाँहरूलाई मैले अनुरोध गरें । म, प्रकाशमान, शशांक लगातार बैठक बसेको पनि हो ।
हामीले एक मात्र उम्मेदवार बन्ने कोशिश गरेको पनि हो, तर मेरो प्रयास असफल भयो । यसको मतलब हामी एकअर्कालाई सभापति मान्न तयार भएनौं । त्यसैले मैले दोस्रो चरणमा शेरबहादुरलाई समर्थन गरें ।
हिजो सभापति मानें, अब दलको नेता पनि उहाँ नै हुनुहोस् भन्न खोज्नुभएको हो ?
कांग्रेसमा संसदीय दलको नेता जो सांसद जितेर आएका छन्, उहाँहरूको मतले चुनिने हो । कुन साथी जितेर आउँदा कसलाई मैले भोट दिनुहुन्छ भन्ने पनि मलाई थाहा छ, समानुपातिकमा भएका साथीहरूको पनि नाम देखिरहेको छु । शेरबहादुरजी बहुमतमा हुनुहुन्छ । बहुमतमा भएको मान्छेलाई हट्नुस् भन्न मिल्छ ? यस्तो भन्न मिल्दै मिल्दैन ।
त्यसैले कांग्रेसको १४औं महाधिवेशनमा म सभापति बन्न खोजेको थिएँ, मतदाताले अस्वीकार गरे । यसलाई मैले बहादुरीका साथ स्वीकार गर्नुपर्यो, अनि आफ्नो भूमिका तय गर्नुपर्यो ।
देउवालाई नै नेता मान्ने कि अरू छनोट गर्ने विकल्प त हिजो पनि थियो, भोलि सांसद हुनुभयो भने पनि रहला नि त ?
मलाई अरू विकल्पमा रुचि थिएन/छैन । मलाई तपाईंले नरोज्ने, तपाईंलाई मैले किन रोज्ने ?
पार्टी स्थापना हुनुभन्दा पहिल्यै जन्मिसकेको पुस्ता कांग्रेसको नेतृत्वमा छ, २०६२/६३ को आन्दोलनबाट आएको पुस्ताले पनि नेतृत्व दाबी गरिसक्यो । बीचमा रहेको तपाईं र तपाईंहरूको पुस्ताले चाहिं पाए आफू नेतृत्वमा पुग्ने, नपाए पुरानै होस् भन्ने हो ?
राजनीतिमा नेतृत्व हस्तान्तरण मागेर न कहिल्यै भएको छ, न कहिल्यै हुन्छ । यो लोकतान्त्रिक पद्धति पनि होइन । जसले नेतृत्व गर्न चाहन्छ, उसको क्षमता, स्वीकार्यता हुनुपर्यो । नयाँ पुस्ताले पनि चाहना राख्नु राम्रो हो, त्यसका लागि स्वीकार्यता त बनाउन सक्नुपर्यो नि !
कांग्रेस महाधिवेशनमा युवा मतदाता त धेरै नै हुनुहुन्थ्यो । युवाहरूले सभापतिमा उठ्न किन हिम्मत गर्नुभएन ? हामीले गर्यौं । अरूले त गर्नुभएन, किन उपसभापति र महामन्त्रीमा मात्रै सीमित रहनुभयो ? किनभने यसको क्रमिक प्रक्रिया हुन्छ । त्यसमा पनि स्वीकार गराउन सक्नुपर्छ । दिनुपर्यो भनेर हुँदैन, लिन सक्नुपर्छ । त्यो पनि खोसेर होइन, सम्बन्धित संस्थाको विधि र प्रक्रियाबाट जितेर लिन सक्नुपर्छ ।
पटक–पटक सांसद, मन्त्री, प्रधानमन्त्री भएका नेताहरू विरुद्ध यो चुनावको बेलामा ‘नो नट अगेन’ अभियान नै चल्यो । मतदाताले पनि तपाईंहरूको छोराछोरी र नातिनातिना उमेरका सांसद चुनेर पठाइसके । तपाईंहरू चाहिं फेरि उही नेतालाई दोहोर्याउने ?
यो ‘नो नट अगेन’ भनेको इर्ष्यालु मानसिकताको उपज हो ।
सरकार चाहिं कांग्रेसकै नेतृत्वमा बनाउने हो ?
अहिलेसम्म कांग्रेसको नेतृत्वमा सरकार बनोस् भन्ने हाम्रो चाहना हो । सबभन्दा ठूलो दल कांग्रेस भएकाले हाम्रो स्वाभाविक दाबी हुन्छ । कांग्रेस बाहेकका दलका नेताले अडानका साथ हामीलाई तत्काल प्रधानमन्त्री चाहिन्छ भनेको सुनिएको छैन ।
यद्यपि यो छलफलको विषय हो । प्रधानमन्त्री को बन्ने भन्ने गठबन्धनमा रहेका दलहरूबीच सल्लाह हुन्छ । हामीलाई विश्वास छ, गठबन्धनका दलहरूले हामीलाई साथ दिनुहुन्छ ।
आलोपालो भन्ने शब्द खुब चर्चा हुने गरेको छ । यो पटक पनि आलोपालो नै गर्ने हो ?
पहिले शेरबहादुर र प्रचण्डजीले आलोपालो प्रधानमन्त्री हुने सम्झौता गर्दा म पनि थिएँ, मेरै घरमा भएको थियो, कार्यान्वयन पनि भयो । अहिले त्यस विषयमा कुनै छलफल भएको छैन ।
राष्ट्रपति, सभामुखलगायत पदको बाँडफाँटबारे छलफल गर्न कांग्रेस तयार छ ?
कांग्रेस मात्रै होइन, सबै तयार हुनुहुन्छ । माओवादी, एकीकृत समाजवादी, लोसपा सबै तयार हुनुहुन्छ ।
गठबन्धन भत्किने वा २०७० मा जस्तै कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना चाहिं छैन ?
अहिले यस विषयमा मैले कुनै रुचि लिएको छैन । अहिलेको हाम्रो पहिलो प्राथमिकता गठबन्धनको निरन्तरता नै हो ।
प्रतिक्रिया 4