
काठमाडौं । नेपाल मानवअधिकार फिल्म फेस्टिभलको दशौं संस्करण आगामी पुस ३ देखि ६ गतेसम्म आयोजना हुने भएको छ । फेस्टिभलमा १९ नेपाली फिल्म (नौ वटा फिक्सन) र ३६ विदेशी फिल्म प्रदर्शन हुने भएका छन् । आठ मिनेटदेखि डेढ घण्टा लम्बाइका फिल्मसम्म फेस्टिभलमा स्क्रिनिङ हुँदैछन् ।
नेपाली खण्डको फिक्सनतर्फ दीपक रौनियार निर्देशित र दयाहाङ राईको अभिनय रहेको फिल्म ‘फोर नाइट्स’ स्क्रिनिङ हुँदैछ । पासाङ दावा शेर्पाको ‘लाइफ लिबरेसन’, गोपाल आचार्यको ‘डिभाइनेसन’, सन्तोष दाहालको ‘द मिराज’ प्रदर्शन हुनेछन् ।
यही खण्डमा मिन्सो लिम्बूको ‘जुनको’, पिंकी श्रीस रानाको ‘हजुर’, अफजल खानको ‘सर्भाइभल ः लिभिङ थ्रु कोभिड’, केशव सिटौलाको ‘मदानी’ र प्रतिशा श्रेष्ठको ‘ह्वेन लाइट गोज’ प्रदर्शन हुनेछन् ।
नेपाली खण्डको ननफिक्सनतर्फ निग्मा गेलु शेर्पाको ‘काठमाडौं मनसुन’, सम्राट खनालको ‘थ्रु द सिंगिङ भिलेज’, सुभांगु खड्काको ‘मदर्स स्कुल’, अनिल बुढा मगरको ‘आइरन डिगर’, श्याम कार्कीको ‘वाइल्ड फायर’ प्रदर्शन हुनेछन् ।
यही खण्डमा पुष्प जोशी र ज्योति बेल्वासेको ‘भेइलाइड’, अस्मिता लावती र मीरा खड्काको ‘वान रुपी’, एन्जेला चौधरी र शिरीष कुँवरको ‘मेरो बुवा’, कल्पना वनको ‘अ जर्नी अफ इनोसेन्स’ र भावना अधिकारीको ‘खकल्ला आकाश’ फिल्म छन् ।
कोभिड महामारीको कारण अघिल्ला संस्करण भर्चुअल रुपमा भएको फेस्टिभल यसपटक काठमाडौंमा भौतिक रुपमै हुने भएको छ ।
प्रतिक्रिया 4