
कुनै पनि व्यक्तिले घर बनाउँदा त्यसको डिजाइन गर्न र त्यसलाई आकर्षक बनाउन धेरै पैसा र मेहनत खर्च गर्छन् । तर शौचालय बनाउने बेलामा भने त्यही मेहनत गर्दैनन् । घरको हरेक कोठा बनाउँदा डिजाइनमा ध्यान दिए जस्तै शौचालय बनाउँदा पनि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
शौचालयको आर्किटेक र वास्तु
वास्तुको अनुसार घरको दक्षिणबाट उत्तरतिर फर्किएको शौचालय राम्रो मानिन्छ । बक्स स्टाइलको शौचालय अहिले बढी चलेको छ । विदेशी स्टाइलका ‘नियो क्यासिकल’ आर्किटेक्चरमा बनेको शौचालय पनि धेरैले बनाउन थालेका छन् ।
पहिले प्यानवाला शौचालय बढी लोकप्रिय थियो भने अहिले विदेशी स्टाइलको कोमोड वाला शौचालय बढी लोकप्रिय हुँदै गएको छ ।
शौचालयको आकार
नुहाउने ठाउँ समेत भएको शौचालय बनाउने हो भने कम्तीमा पनि लम्बाइ ७ फिट र चौडाइ ५ फिटको हुनुपर्छ । कोमोड मात्र प्रयोग गर्ने शौचालय बनाउने हो भने ४÷३ फिट फराकिलो शौचालय हुनुपर्छ ।
सुविधा
शौचालयमा कतै पानी नजम्ने स्लोप मिलेको हुनुपर्छ । शौच गर्ने ठाउँ र नुहाउने ठाउँलाई पार्टेसन गरेर छुट्टाउनुपर्छ । त्यहाँ बेसिन, रुमाल झुन्डाउने ह्याङ्गर, ट्वाइलेट पेपर ह्याङ्गर, नुहाए पछि फेर्ने लुगाहरू राख्ने सानो दराज लगायतको सुविधा हुनुपर्छ ।
ऐना, बेसिन, दराज, ह्याङ्गर पनि अनिवार्य नै हो । दाँत माझ्नको लागि बेसिन भएपछि ऐना पनि हुनु परिहाल्यो दाह्री काट्न र फेसवास गर्न पनि ऐना चाहिन्छ । रुमाल र साना तिना कपडाहरू राख्नको लागि पानीले नभिज्ने ठाउँमा सानो दराज पनि राख्न सकिन्छ । ट्वाइलेट पेपर, रुमाल र लुगा झुण्डाउन ह्याङ्गर पनि हुनुपर्छ ।
कस्तो टायल ?
शौचालयको टायलमा चिप्लिएर दुर्घटना हुने जोखिम हुन्छ । त्यसैले टायल राख्दा चिप्लो भन्दा पनि खस्रो खालको म्याट टायल प्रयोग गर्नुपर्छ । आजभोलि शौचालयमा चिप्लो टायल धेरै प्रयोग हुँदैन । म्याट टायल राखियो भने सफा राख्न पनि सजिलो हुन्छ र चिप्लिएर लड्ने जोखिम पनि हुँदैन ।
सबैका लागि कमोड सहज
बच्चा, बुढापाका र रोगीलाई अनुकूल हुने शौचालय डिजाइन भनेको कोमोड प्रयोग भएको हो । कोमोड पनि ठिक्क उचाइ भएको बस्नको लागि सजिलो हुने कोमोड राखेर डिजाइन गर्नुपर्छ । बेड रुमबाट नजिक र पानी कतै पनि नजम्ने खाले शौचालय बढी अनुकूल हुन्छ ।
भेन्टिलेसन अनिवार्य
शौचालयमा आल्मुनियमको झ्याल अहिले बढी प्रयोग हुन्छ । जुन खोल्न सजिलो हुन्छ । झ्याल ढोकासँगै शौचालयमा एउटा भेन्टिलेसन राख्नुपर्छ । यदि बच्चा शौचालयमा लक भयो भने पनि त्यो भेन्टिलेसनबाट सहयोग माग्न सकोस् ।
कोमोड वा प्यान ?
आजभोलि कोमोड ट्वाइलेट सिटको प्रयोग गर्नेको संख्या धेरै छ । कोमोड सिट बस्नका लागि आरामदायी हुन्छ । कोमोड ट्वाइलेट सिट विशेषगरी बच्चा, बुढापाका, रोगीलाई अनुकूल हुन्छ ।
प्यानको प्रयोग लामो समयदेखि हुँदै आएको छ, यसको प्रयोग पनि स्वास्थ्यको लागि फाइदाजनक छ । प्यान सिटको प्रयोग हाम्रो शरीरमा रहेको फोहोर पदार्थलाई पूर्ण रूपमा बाहिर निकाल्न मद्दत गर्छ । यसले शरीरमा पर्याप्त दबाब दिन्छ, ताकि पेट राम्रोसँग सफा होस् ।
शौचालयमा फूल
शौचालयमा भास, फूल राख्ने भनेको सुगन्धको लागि हो । त्यसैले शौचालयमा सानो सानो भास राम्रो बास्ना आउने फूलहरू राख्नु राम्रो हो ।
(श्रेष्ठ आर्किटेक तथा फोर्ट आर्किटेक एण्ड इन्टेरियर डिजाइनका सहसंस्थापक हुन् ।)
प्रतिक्रिया 4