
धेरै समयदेखि
मैले आफ्न्नै मानेको
तर तिमीले पराई ठानेको मान्छे म ।
भनौं
तिम्रो दिलको सहर
जहाँ म सधै
ताजा होइन
बासी भएँ
आस मात्र भएको ‘आसी’ भएँ
जग्गा भएन
र त
सुकुम्बासी भएँ ।
देखेँ तिम्रो दिलमा
जहिले धेरै महल बने
तर कहिले घर बनेन मेरो
खै के भो के भो
पक्षपात भए झै भो
पक्षघात भए झै भो
त्यो तिम्रो दिलमा
मेरो नाउँको कुनै ठाउँ भएन
चिनेको सहर गाउँ भएन ।
हो त्यही दिलमा
धेरै भवन बने
जहाँ
अब त
बीचमा धनीमानी मात्र बसेका होलान्
विद्वान ज्ञानी बसेका होलान्
तर
त्यही तिम्रो दिल नियाल्दै जाँदा
अलि परिचयको लय नमिलेको
तर भयले सधै चिलेको मान्छे म
उही खोला,
छेउको ढल किनारामा
झट्ट कसैले नदेख्ने गरी
फ्याट्ट कसैले नलेख्ने गरी
फोहर थुप्रोले अस्तित्व छेक्ने गरी
जस्ता पाताले बारेको छाप्रोमा बसेको छु म ।
खै के कहूँ
यहाँबाट जहिले
मैले
तिमीलाई हेरिरहें
देखिरहें
तर
तिमीले जहिले महल हेर्यौ
उतै भुल्यौ
उतै डुल्यौ
अहँ
मलाई देखिनौ
सायद अब चिनिनौ कि !
र त बोलिनौ ।
म नि जीवन जिउँदै थिएँ
सुख दुःख पिउँदै थिएँ
अनायासै तिम्रो बिहेको कार्ड आयो
मानौं
मेरो बस्तीमा डोजर आयो
क्षणभरमा खण्डहर भयो
सन्नाटा छायो
ढलेको छाप्रो बगर भयो
अपसोच !
जीवन कहर भयो
त्यो दिलमा एक टुक्रो पाउने
स्थायी घर बनाउने
मेरो रहर
रहरै भयो
रहर जत्ति रहयो ।
प्रतिक्रिया 4