+
+

कैलाली र कञ्चनपुरमा बिजुली आपूर्ति सुधार्न पूर्वाधार थपिंदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १६:२०

१८ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरुको सुदृढीकरण र विस्तार गर्ने छ ।

दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारणलाइनको निर्माण गरिने प्राधिकरणले जनाएको छ । गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायतका सहरी क्षेत्रमा न्यून भोल्टेज, टि्रपिङलगायतको समस्या रहेको उपभोक्ताहरुको गुनासो आउने गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार त्यस क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्युत आपूर्ति सुधारका लागि गर्नु पर्ने कामका विषयमा जानकारी लिएको छ ।

टोलीले नगरपालिका प्रमुखहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरुसँग छलफल गरेको थियो । टोलीले प्राधिकरणका सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा वितरण केन्द्र प्रमुखहरुसँग छलफल गरी गर्मी सुरु हुनुभन्दा पहिलेनै विद्युत आपूर्ति सुधारका काम सम्पन्न गर्न र त्यसका लागि आवश्यक पर्ने बजेट तत्काल पेश गर्न निर्देशन दिएको छ । साथै सुदूरपश्चिमका जिल्लाहरुको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम गर्नसमेत निर्देशन दिएको छ ।

कार्यकारी निर्देशक घिसिङले कैलाली र कञ्चनपुर क्षेत्रको विद्युत आपूर्तिको समस्यालाई समाधान गर्न तत्काल र दीर्घकालीन रुपमा गर्नु पर्ने कामका लागि टोली नै बनाएर अध्ययन भइरहेको बताए । ‘३३ केभी लाइन क्षमताभन्दा बढी चलाउनु परेका कारण खासगरी गर्मी मौसममा भोल्टेज, ओभरलोडलगायतका समस्या छ, यसको समाधानका लागि कैलालीको अत्तरिया सबस्टेसनबाट दक्षिण क्षेत्र हुँदै १३२ केभी लाइन र धनगढी आसपासमा १३२ केभी सबस्टेसन निर्माण तत्काल सुरु गर्न लागेका छौं, कञ्चनपुरको पुनर्बास र बेलौरीलाई पनि १३२ केभी लाइनबाट जोड्ने छौं, १३२ केभी लाइन केन्द्रमा आएपछि भोल्टेज, टि्रपिङलगायतका समस्या हुँदैनं’, घिसिङले भने ।

अहिले कालीगण्डकीको विजुली लामो प्रसारण लाइनबाट यस क्षेत्रमा आपूर्तिका लागि ल्याउनु पर्ने वाध्यात्मक अवस्थाका कारण पनि समस्या आएको उनको भनाइ छ । यस वर्ष नै बझाङ, दार्चुलामा निर्माण भएका जलविद्युत आयोजनाहरुको करिब एक सय मेगावाट विद्युत अत्तरिया सबसबस्टेसनमार्फत यस क्षेत्रमा वितरण गर्न सकिने हुँदा भोल्टेजको समस्या धेरै समाधान हुने उनले बताए ।

उनले कर्णाली , सेती, र महाकाली नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि ४०० केभीका प्रसारण लाइन निर्माण हुन लागेको बताए । लमही-छिन्चु, छिन्चु दोदोधारा, दोदोधार-नयाँ अत्तरिया(दैजी) ४०० केभी प्रसारण लाइन अध्ययनको क्रममा रहेका छन् । लमही, मातीपुर छिन्चु र नयाँ अत्तरियामा ४००/१३२ सबस्टेसन निर्माण गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरण टोलीले प्रस्तावित प्रसारण लाइनको रुट तथा सबस्टेसन निर्माण गरी ठाउँ, सञ्चालित सबस्टेसन, निर्माणाधीन आयोजननाहरुको पनि अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?