
काठमाडौं । नेशनल लाइफ इनस्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । १८ मंसिर आइतबार सम्पन्न कम्पनीको ३४औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिले आर्थिक वर्ष (आव) २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गरेको हो ।
कम्पनीको ३४औं वार्षिक साधारण सभाले आव २०७७/७८ को लागि चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सो बोनस सेयरमा कर प्रयोजनका लागि लाभांश पारित गरेको हो । नेपाल बीमा प्राधिकरणले २०७९ चैत्र मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउनु पर्ने बाध्यात्मक व्यवस्था गरेकोमा हालको पारित भएको बोनस सेयरपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ पुगेको छ ।
आव २०७७/७८ मा कम्पनीको सबै वित्तीय सूचांकहरु सकारात्मक नै रहेको छन् । कम्पनीको कुल बीमा शुल्क ३५.१५ प्रतिशतले वृद्धि भई १२ अर्ब ५२ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
जीवन बीमा कोष २५.६३ प्रतिशतले वृद्धि भई ४२ अर्ब ४ करोड पुगेको । कुल लगानी २३.२० प्रतिशतले वृद्धि भई ३९ अर्ब २४ लाख ७० करोड रुपैयाँ पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम लगानी गर्न कम्पनी प्रयासरत रहेको जनाएको छ ।
कम्पनीको आव २०७७/७८ को बीमांकीय मूल्यांकन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन अनुसार पर्याप्त ‘फ्युचर बोनस प्राभिजनिङ’ गरेर बीमितहरुलाई दिइ आएको बोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको जनाएको छ ।
प्रतिक्रिया 4