
१८ मंसिर, विराटनगर । प्रदेश १ मा सरकार बनाउने नेकपा एमालेको प्रयास अप्ठ्यारोमा पर्ने देखिएको छ ।
४० सिट (प्रत्यक्ष जितेको र समानुपातिकबाट आउन सक्ने अनुमानित) सहित प्रदेशसभाको सबभन्दा ठूलो दल बनेको एमालेलाई सरकार बनाउन थप ७ सांसदको समर्थन चाहिन्छ ।
चुनावी तालमेल गरेको राप्रपाले ६ सिट पाएको छ भने जनता समाजवादी पार्टी (जसपा) ले प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकतर्फ एक सिट पाउने पक्काजस्तै छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । प्रदेशसभामा बहुमत पुग्ने देखेपछि एमालेमा मुख्यमन्त्रीका दावेदार रहेका झापा ५ (२) बाट निर्वाचित हिक्मतकुमार कार्कीले दलहरुसँग छलफल समेत थालेका थिए ।
तर बहुमतका लागि निर्णायक बनेको जसपाका अध्यक्ष उपेन्द्र यादवको आइतबार दिउँसोको अभिव्यक्तिले एमाले झस्किएको छ ।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको सहकार्य सकिएको घोषणा गरेका थिए । सँगै उनले सरकारमा जाने हतारो नभएको बताए । ‘अहिले हामीलाई सरकारमा जाने कुनै हतार छैन, हामीलाई हाइसञ्चो छ,’ यादवले भने, ‘जसलाई हतार छ, अगाडि बढ्नका लागि शुभकामना छ । हामी भने अब केका लागि सहकार्य गर्ने वा समर्थन गर्ने भन्ने नीतिमा आधारित भएर निर्णय लिनेछौं ।’
जसपा प्रदेश १ उपाध्यक्ष राजकुमार यादव पनि छलफलको सबै ढोका खुला रहेको बताउँछन् । सबै मत परिणाम सार्वजनिक भएपछि छलफल गरेर अगाडि बढ्ने भन्दै उनले भने, ‘हामीले उठाएको मुद्दा समेट्ने अवस्थामा सहकार्य हुनसक्छ ।’
नेताहरुका अनुसार जसपा केन्द्रदेखि प्रदेशसम्म सत्ता गठबन्धनतिर नजिक हुने सम्भावना छ । ‘पार्टीको राष्ट्रिय अध्यक्षले नै एमालेसँग सहकार्य सकियो भनेपछि प्रदेशमा एमाले नेतृत्वको सरकारमा जाने कुरा नआउला,’ जसपाका एक नेता भन्छन्, ‘हामी सत्ता गठबन्धनसँग नजिक हुने सम्भावना छ ।’
जसपाले साथ दिएको अवस्थामा प्रदेश १ मा पनि उनीहरुकै सरकार बन्ने देखिन्छ ।
नेकपा एमालेले २५ वटा सिट जितेको छ । समानुपातिकमा पनि एमालेले १५ सिट पाउनेछ । प्रत्यक्षमा २ सिट जितेको राप्रपाले समानुपातिकतर्फ ४ सिट पाउने देखिन्छ । मुख्यमन्त्रीका लागि तयारी गरिरहेका एमाले प्रदेश सभा सदस्य कार्की भने जसपासँग सहकार्य नटुट्ने र आफ्नो पार्टीले बहुमत जुटाउने बताउँछन् ।
प्रतिक्रिया 4