
१९ मंसिर, बारा । कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको सिंचाइ कार्यालय परिसरमा रहेका ५ वटा गाडीका ७ वटा ब्याट्री चोरी भएको छ । कलैया उपमहानगरको ग्रेडरको १५० एम्पियरका २ वटा ब्याट्री र ५ वटा ट्याक्टरका १०० एम्पिपयरका ५ वटा ब्याट्री चोरी भएको नगर प्रमुख बिनोद साहले जानकारी दिए ।
७ जना ट्राफिक प्रहरी र ४ जना कलैया उपमहानगरपालिकाका स्टाफ बस्ने गरेको स्थानबाटै चोरी हुनु लज्जास्पद भएको प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताए । साहले लगभग ३ लाखको हाराहारीमा पर्ने ब्याट्री चोरी भएको बताए ।
अस्थायी ट्राफिक पोस्ट कलैयाको प्रांगणबाट सो मात्रामा चोरी हुनुलाई अत्यन्तै गम्भीरताका साथ लिनुपर्ने मेयर साहले जनाएका छन् । चोरी भए पनि आजैबाट नयाँ ब्याट्री जडान गरेर भएपनि सरसफाइ महाअभियानलाई जारी राख्ने मेयर साहले बताए ।
बारामा पछिल्लो समयमा चोरीको घटनामा वृद्धि हुँदा नागरिक समाज चिन्तित भएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले चोरी भएको विषयमा अनुसन्धान शुरु गरेको र यथाशीघ्र चोरलाई पक्राउ गर्ने बताएका छन् ।
प्रतिक्रिया 4