
काठमाडौं । १४ वर्षपछि विनय श्रेष्ठ र नम्रता श्रेष्ठलाई फिल्ममा जोडीको रुपमा हेर्ने दर्शकको प्रतीक्षा टरेको छ । केही महिनाअघि भारतको सिक्किमबाट घोषणा गरिएको फिल्म ‘ग्रहण’मा यी दुईले अनस्क्रिन रोमान्स गर्ने बताइएको थियो ।
सन् २००८ मा रिलिज भएको आलोक नेम्बाङ निर्देशित ‘सानो संसार’मा यी दुई पछिल्लोपटक देखिएका थिए । यी दुई कमब्याक हुने प्रतीक्षामा फ्यानहरु खुसी थिए ।
तर ‘ग्रहण’बाट विनय बाहिरिएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले फिल्मको अन्तिम ड्राफ्ट चित्त नबुझेकाले आफूले प्रोजेक्ट छाडेको बताए । उनको ठाउँमा दिव्यदेव भित्रिने भएका छन् । उनीसँग निर्माताको मौखिक सहमति पनि भइसकेको छ ।
निर्देशक राजीव गुरुङले दिव्यदेवलाई प्रस्ताव गरिएको जानकारी दिए । ‘विनयजीको ठाउँमा दिव्यदेवसँग काम गर्ने सहमति भएको छ । यसमा दुवै पक्ष राजी छौं,’ उनले भने ।
अब कथावस्तुमा हेरफेरसहित फिल्मलाई नेपालमा छायांकन गर्ने तयारी छ । पुस १५ गतेपछि फिल्मको छायांकन गर्ने तयारी छ । यो फिल्ममा सारुक ताम्राकारको पनि अभिनय हुनेछ ।
दिव्यदेवको कुरा गर्दा उनी अभिनित ‘चिसो एस्ट्रे’लाई समीक्षकले रुचाएका थिए भने पछिल्लो फिल्म ‘हिजोआजका कुरा’ बक्स अफिसमा असफल रह्यो । ‘रुदाने’ उनको प्रतीक्षित फिल्म हो ।
प्रतिक्रिया 4