
१९ मंसिर, काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । बैठक दिउँसो ३ बजे बस्ने भनिए पनि एक घण्टा ढिलो गरी सुरू भएको हो ।
बैठकमा सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस नेता कृष्ण सिटौला, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल, माओवादी केन्द्रका महासचिव देव गुरूङ र नारायणकाजी श्रेष्ठ लगायत उपस्थित छन् ।
बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने एक नेताले जानकारी दिए ।
सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडेका थिए । मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट जितेको छ ।
यसैगरी माओवादी केन्द्रले १८, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेका छन् । प्रदेश सभामा प्राप्त सिट हेर्दा पनि सत्ता गठबन्धनले नै सरकार गठन गर्ने सम्भावना देखिन्छ ।
प्रतिक्रिया 4