
१९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाईसी) सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको खाता नखोल्न वा व्यावसायिक सम्बन्ध स्थापना नगर्न बैंकहरुलाई निर्देशन दिएको छ ।
गत शुक्रबार बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै केन्द्रीय बैंकले केवाईसी सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्न वा व्यावसायिक सम्बन्ध स्थापना नगर्न वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्न निर्देशन दिएको हो ।
‘प्रचलित कानुन बमोजिम ग्राहक पहिचान सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्नेछ । यस्तो अवस्थामा संस्थाले आवश्यक ठानेमा शंकास्पद कारोबार/गतिविधि प्रतिवेदन वित्तीय जानकारी इकाइमा पेश गर्नुपर्नेछ’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ ।
यदि कुनै ग्राहक सम्पत्ति शुद्धीकरण वा आतंकवादी क्रियाकलापमा संलग्न रहेको शंका लागेमा त्यस्तो ग्राहकको पहिचान प्रक्रिया अगाडि बढाउँदा शंका गरेको विषय ग्राहकले आभाष हुने देखिएमा संस्थाले ग्राहक पहिचान प्रक्रिया अगाडि नबढाई शंकास्पद कारोबार/गतिविधि प्रतिवेदन वित्तीय जानकारी इकाइमा पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
यस्तै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको निर्देशन अन्तर्गत तर्जुमा गरिएको नीति तथा कार्यविधिमा आतंकवादी क्रियाकलाप तथा आम विनाशकारी हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी नियन्त्रण सम्बन्धमा छुट्टै प्रावधान राख्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।
‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को परिच्छेद ६ (ख) मा उल्लेखित व्यवस्था पालना हुने गरी आतंकवादी क्रियाकलाप तथा आम विनाशकारी हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धमा निरन्तर अनुगमन गर्नका लागि कार्यप्रणाली अवलम्बन गर्नु पर्नेछ’ निर्देशनमा भनिएको छ ।
प्रतिक्रिया 4