
१९ मंसिर, काठमाडौं । आम चुनावपछि बसेको सत्ता गठबन्धनको पहिलो बैठकका दुई एजेन्डा थिए : चुनाव समीक्षा र आगामी सरकार । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक दुवै एजेन्डामा निष्कर्षविहीन रह्यो ।
अहिले बालुवाटारबाट नेताहरु निस्कने क्रम जारी छ । यसै सन्दर्भमा अनलाइनखबरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संक्षिप्त टेलिफोन वार्ता गर्यो :
आजको बैठकमा तपाईंहरुले के कुरा गर्नुभयो ?
आम चुनाव सफलतापूर्वक सम्पन्न भइसकेपछि आज हामीले सम्पूर्ण किसिमले छलफल गर्ने प्रयास गर्यौं । सानातिना समस्याहरुको बीचमा पनि चुनाव भव्य, शान्तिपूर्ण ढंगले आयोजना भएको छ । हामीले सबै मतदातालाई धन्यवाद दिने निर्णय गरेका छौं । कर्मचारी, सुरक्षाकर्मी, निर्वाचन आयोग सबैलाई धन्यवाद दिँदै एउटा वक्तव्य पनि पास गरेका छौं । नागरिक समाज र तपाईंहरु मिडियालाई पनि हाम्रो धन्यवाद छ । चुनाव राम्रो भयो भन्ने बैठकमा कुरा भयो ।
चुनावको समग्र समीक्षा चाहिँ के रह्यो ?
त्यो चैं आज हुन पाएन । निर्वाचन आयोगले सबै नतिजा प्रकाशित गरिसकेपछि हामी एउटा टुंगोमा पुग्ने कुरा भयो । अहिलेसम्म आएको नतिजा भनेको लगभग नतिजा हो । कम्प्लिट पिक्चर अब केही दिनमा आइसक्छ होला ।
सरकार बनाउने छलफल त पक्कै सुरु भयो ?
त्यो पनि पहिले आयोगकै अन्तिम नतिजाको सूचनापछि सुरु हुन्छ । हामी जे गर्छौं सहमतिबाटै गर्छाैं । गठबन्धनकै सरकार बन्छ । आज चाहिँ मूलतः धन्यवाद दिने बैठक नै हो ।
तपाईं र शेरबहादुर देउवा दुवै प्रधानमन्त्रीका आकांक्षी देखिनुभएको छ । कति दिनमा टुंगो लगाउनुहुन्छ ?
त्यस्तो आकांक्षी भन्ने केही छैन । हामीले संविधानको रक्षाका लागि सँगै लडेको हो । यहाँसम्म सँगै आएका छौं । अगाडि पनि गठबन्धन सँगै अगाडि बढाउने हो । दुई–चार दिनमा निर्वाचन आयोगले अन्तिम नतिजा दिएर राष्ट्रपति कहाँ पठाउला । त्यसपछि स्वतः त्यो विषय अघि बढिहाल्छ ।
गठबन्धन कायम त रहन्छ ?
अवश्य कायम रहन्छ । चुनावका बेला सानातिना असमझदारी कतै भए होलान्, तर त्यसले गठबन्धनलाई कुनै असर गर्दैन । अगाडि कसरी जाने भन्नेबारे खासै प्रश्नहरु छैनन् पनि । हामीले जे टुंगो लगाउँछौं, सहमतिमा टुंगो लगाउँछौं ।
प्रतिक्रिया 4