
काठमाडौं । जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ रिलिज हुन १० दिन बाँकी रहँदा भारतमा आक्रामक टिकट बिक्री भएको छ ।
व्यापार विश्लेषकका अनुसार जसरी यसले अग्रिम टिकट बिक्री गरिरहेको छ, उसैगरी भारतमा बम्पर व्यापार गर्नसक्ने देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ‘अवतार २’को एड्भान्स बुकिङमा एक लाख भन्दा बढी टिकट बिक्री भएका छन् ।
८४ हजारभन्दा बढी टिकट भारतमा थ्रीडी र आइम्याक्स संस्करणका लागि हुन् । सोमबार बेलुकासम्म ‘अवतार २’ले ४ करोड २४ लाख भारु बराबरको टिकट बिक्री गरेको छ ।
फिल्मले चाँडै ५ करोड भारुको आँकडा छुने अनुमान छ । एड्भान्स टिकट बिक्रीको आँकडा हेर्दा फिल्मले भारतीय बक्स अफिसमा १० करोड भारुभन्दा बढीको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।
मार्भल फिल्मको जस्तो सामाजिक सञ्जालमा ‘अवतार-२’ लाई लिएर भयंकरै हल्ला त छैन, तर बुकिङ चाहिं आक्रामक देखिएको छ ।
पुस १ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको नेपालमा अग्रिम टिकट बुकिङ खुलाइएको छैन । तर नेपालमा पनि यो फिल्मलाई लिएर निकै चर्चा छ । डिज्नेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले नेपाली बक्स अफिसमा राम्रो कमाइ गर्न सक्ने जनाइएको छ । नेपालमा चाहिं अर्को सातादेखि टिकट बिक्री गर्ने वितरक तथा मल्टिप्लेक्सले जनाएका छन् ।
यसैबीच, फिल्मलाई नेपाली समयानुसार गएराति बेलायतको राजधानी लण्डनमा भव्य प्रिमियर गरिएको छ । निर्देशकसहित कलाकारहरु यतिबेला लण्डन पुगेका छन् ।
प्रतिक्रिया 4