+
+

वीरगञ्ज आईसीपीमा थन्किए १८ सय नयाँ सवारी साधन

सुरेश बिडारी सुरेश बिडारी
२०७९ मंसिर २१ गते १८:४८

२१ मंसिर, वीरगञ्ज । आयातकर्ताले जाँचपास गराएर नलगेपछि वीरगञ्ज भन्सार नाकामा सयौं नयाँ सवारी साधन थन्किएका छन् । वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) परिसर नयाँ सवारी साधनले भरिभराउ छन् ।

आयात वृद्धिका कारण विदेशी विनिमयको सञ्चिती घट्दै गएको भन्दै सरकारले १३ वैशाख २०७९ देखि नै ५० हजार डलर भन्दा महँगा डिजल तथा पेट्रोल गाडी आयातमा प्रतिबन्ध लगाएको थियो ।

यो प्रतिबन्ध अब मंसिर मसान्तपछि मात्रै खोल्ने सरकारको तयारी छ । आयातकर्ताले पुरानै एलसीबाट भारत तथा तेस्रो मुलुकबाट आयात गरेका सवारी साधन आईसीपी परिसरमा ल्याएर पार्किङ गरी राखेका हुन् ।

बुधबारसम्म आईसीपी परिसरमा ४६० नयाँ कार, ८५ वटा जीप र १ हजार ३०५ वटा बस ट्रक गरी १ हजार ८५० वटा नयाँ सवारी साधन छन् । त्यस्तै ६२८ वटा लोड गाडी आईसीपी परिसरमा पार्किङ गरिएका छन् ।

आयातकर्ताले भन्सार जाँच पास गराएर सवारी साधन नलग्दा आईसीपी परिसर नयाँ गाडीले भरिभराउ देखिएको छ । अत्यधिक मात्रामा सवारी साधन थन्किएपछि आईसीपी परिसरमा पार्किङ स्थल ओगटिएको छ । चौकीको अधिकांश भाग नयाँ सवारी साधनले भरिभराउ छन् । जसले गर्दा मालबाहक गाडी आवागमन र पार्किङमा समेत समस्या भइरहेको छ ।

आईसीपीको सञ्चालक संस्था इन्टर मोडल यातायात विकास समितिका शाखा अधिकृत तर्कराज जोशीले नयाँ गाडी थुप्रिएर पार्किङ स्थलको अभाव हुँदा सडकमै सवारी पार्किङ गर्नुपर्ने अवस्था आएको बताए ।

‘नयाँ गाडी छिट्टै लगिदिनुस् भनेर आयातकर्तालाई आग्रह गरेका छौं, तर लगिरहेका छैनन् । गाडी बिक्री भइसकेपछि मात्रै भन्सार जाँच पास गरेर लैजान्छन्’, उनले भने ‘यहाँ पार्किङ स्थल खोजी खोजी गाडी राख्नु परेको छ ।’

गाडी बिक्री नभएको कारण देखाएर कम्पनी वा डिलरलाई पैसा दिनुनपर्ने, गाडी छुटाएर लैजाँदा लाग्ने राजश्वको ब्याज बच्ने जस्ता कारणले आयातकर्ताले बिक्री भइसकेपछि मात्रै गाडी उठाउने गरेका छन् ।

भन्सारमा अड्किएका सवारी साधन छुटाएर लैजान वीरगन्ज भन्सार कार्यालय, इन्टर मोडल यातायात विकास समितिले यो नाकाबाट सवारी साधन आयात गर्ने मुख्य आयातकर्ताका प्रतिनिधिहरुसँग पटक पटक आग्रह समेत गरेको छ ।

कम्पनीका प्रतिनिधिहरुले भने तत्काल सवारी साधन जाँचपास गराएर लैजान सक्ने अवस्था नरहेको प्रतिक्रिया दिने गरेका छन् । आयातकर्ताहरुले बैंकले अटो लोन नदिएकाले नयाँ सवारी साधनको खरिद बिक्री नै ठप्प भएको, सवारी साधन छुटाएर काठमाडौं वा अन्य गन्तव्यसम्म लैजान लाग्ने रकम नभएको बताउने गरेका छन् ।

सवारी साधन जाँचपास गराएर काठमाडौंमा भाडाको गोदाम राख्दा लाग्ने खर्च र त्यसका लागि तिर्नुपर्ने ब्याज भन्दा आईसीपीमा पार्किङ शुल्क तिरेर राख्ने लागत निकै कम हुने भएकाले उनीहरुले यसो गरेको भन्सारका अधिकारीहरु बताउँछन् ।

मुलुककै सर्वाधिक राजश्व संकलन गर्ने भन्सारको रुपमा चिनिने वीरगन्ज भन्सार कार्यालयले पछिल्ला महिनाहरुमा लक्ष्य अनुरुप राजश्व संकलन गर्न सकेको छैन । भन्सारको राजश्वमा मुख्य योगदान नयाँ सवारी साधन र इन्धनको छ । नयाँ सवारी साधन जाँचपास घटेपछि त्यसको नकारात्मक असर राजश्व असुलीमा देखिएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नवराज ढुंगानाले देशको आर्थिक अवस्थाका कारण नयाँ सवारी साधन नाकामा नै थन्किएको बताए । ‘कोभिड महामारी पछि देशको आर्थिक अवस्था विग्रेको छ, बजारमा गाडी किनेर चढ्ने क्षमता भएका मानिस कम छन् । बैंकले भेहिकल लोन पनि उपलब्ध गराउन पनि छोडेको छ’ उनले भने ‘गाडी किनेर प्रतिफल प्राप्त नहुने भएपछि गाडी किन्ने कुरै भएन ।’

तैपनि आफूहरुले आयातकर्तालाई गाडी छिटो लैजान र आईसीपीमा ठाउँ खाली गरिदिन आग्रह गरेको उनको भनाइ छ । उनीहरुले पनि थोरै थोरै गरेर गाडी भन्सार जाँचपास गरेर लगिरहेको उनले बताए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?