
काठमाडौं । अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को छायांकनबिनै मुम्बईबाट काठमाडौं फर्किएका छन् । गत महिना त्यसतर्फ लागेका उनी सुटिङ नभएपछि फर्किन बाध्य भएका हुन् ।
‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने उक्त फिल्ममा रणवीर कपुर, रश्मिका मन्दाना, अनिल कपुर, परिणिती चोपडा लगायतको मुख्य भूमिका छ । विपिन पनि महत्वपूर्ण भूमिकामा अनुबन्धित भइसकेका हुन् ।
मुम्बईमा एनिमलको छायांकन पनि भइरहेको छ । त्यसयता विपिन ६ पटक काठमाडौं-मुम्बई आउजाउ गरे । ‘आज ठ्याक्कै १ वर्ष २१ दिन भयो एनिमल भन्दै बसेको । उता पनि काम भएन र यता पनि भैरहेको छैन’ अनलाइनखबरसँग बिपिनले भने ।
‘उता मुम्बईबाट फोन आउँछ र आउनुस् भनेका छन्,’ उनले भने ।
विपिन यतिबेला निकै दबाबमा छन् । आगामी एक वर्षभित्र उनले चार नेपाली फिल्ममा काम गर्नुपर्नेछ । जसमा प्रसाद २, डामाडोल, भष्मे डन र सफल केसीको अनटाइटल फिल्म । यी चारै फिल्ममा अनुबन्धित भइसकेका विपिनलाई दुईतिर सेड्युल मिलाउनुपर्ने बाध्यता छ ।
‘एनिमल भनेर बसेको एक वर्ष भयो । नेपालमा पनि चार फिल्म यस वर्ष गर्नुपर्ने हुन्छ । यता पनि मेरो नैतिक जिम्मेवारी छ,’ उनले भने, ‘छाडेकै स्थिति चाहिं होइन तर परिआए एनिमल छाड्ने स्थिति पनि आउन सक्छ ।’ काम नहुँदा समय खेर गएकोप्रति उनको गुनासो छ ।
‘मलाई मेरो पिकआवर खेर गइरहेको जस्तो लागिरहेको छ । अब मिलाएर अघि बढ्नुपर्छ । जे हुन्छ राम्रैको लागि हुन्छ,’ विपिनले भने ।
प्रतिक्रिया 4