+
+

रविश कुमारको ‘गुडबाई लेटर’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते ७:२४

एनडीटीभीमा दुई दशकभन्दा लामो समय काम गरेपछि पत्रकार रविश कुमारले  गत  बुधबार पदबाट राजीनामा दिए। उनको त्यो राजीनामाको जानकारी भने एनडीटीभीकी अध्‍यक्ष सुपर्णा सिंहले दिइन्।

एनडीटीभीबाट राजीनामा दिएको एक दिनपछि रविश कुमारले आफ्नो युट्युब च्यानलमार्फत पुष्टि गरे। यसपछि शनिबार उनले एनडीटीभीमा सँगै काम गर्ने कर्मचारीको नाममा एउटा बिदाइ पत्र लेखे। उक्त पत्र यस्तो थियो :

नमस्कार,

यो बिदाइको पत्र हो। जानुभन्दा पनि यहाँ मलाई आएका ती दिनहरुको याद आइरहेको छ। भाडाको घरबाट यहाँसम्‍म आउने बाटोको हावा निकै राम्रो लाग्थ्यो कि म एनडीटीभी गइरहेको छु। मलाई नाइट सिफ्ट पनि दिन जस्तो लाग्थ्यो।

मलाई लिफ्टबाट आउन कहिल्‍यै पनि राम्रो लाग्दैनथ्यो। भर्‍याङको एउटा विशेषता हुन्छ कि तपाईं प्रत्‍येक दिन चढ्ने र ओर्लिने दुवै एकै पटक हेर्न सक्नुहुन्छ। यहीबेला मलाई धेरै अनुहार याद आइरहेका छन् जो यहाँ धेरै वर्ष पहिल्यै हिडिसके र कोही अझै पनि यहीं छन्। अनि कोही पछि पनि रहनेछन्।

यो बेला मलाई कमाल खान धेरै याद आइरहेको छ। उनी गएपछि लखनऊ नै विरानो लाग्न थालेको छ। याद त मलाई जितिन भुटानीको पनि आउँछ जसको बलियो हातमा क्यामरा राखेर हामीले कैयौं कठिन शूट पूरा गरेका थियौं।

शेषनारायण सिंह, आवेद सिद्दिकी पनि त्यतिकै याद आइरहेको छ मलाई। उनीहरु दुवैजना यतिबेला यो संसारमा छैनन्। स्व.  नारायण राव याद आइरहेको छ जसले मलाई यहाँ नियुक्ति पत्र दिएका थिए। उनको आवाज विना एनडीटीभी नै एनडीटीभी लाग्दैनथ्यो।

गुड मर्निङ इन्डियाको दिन याद आइरहेको छ। स्मिता चक्रवर्ती पाँचौं तलामा आउनु, दिव्‍या लारोइयाको मन्द स्वरमा गल्ती भन्‍ने, काममै डुबिरहने रेणु राव, शिवानी शर्मा, रुबिना खान शापु मलाई याद आइरहेका छन्।

अरूण थापर, मोनिका, सालेहा वसिम, शेन, सत्‍येन वांग्चू, अर्पित अग्रवाल, आशिष पालिवाल, तरूण भारतीय, स्मृति किरण, प्रियंका झा, बेत्सी, बोनिटा, नताशा बधवार, मनीष बधबार, यास्मिन, रुपाली तिवारीहरु त्यो नाम हो जो एनडीटीभीमा पहिलो पटक सम्झिनुपर्ने हिस्सा बन्‍यो मेरा लागि।

चेतन भट्टाचर्जी त मेरो त्यहाँदेखि यहाँसम्‍म मेरा साथै रहे। उनकी जीवन साथी नताशा जोग पनि त्यस्तै सम्झिने खालको हुनुहुन्थ्यो। यिनीहरुको बीचमा रहेर शानदारसँग काम गर्ने अनुभव र आनन्दसँगै आयो मलाई। गुड मर्निङ इन्डियाको जुन पहिचान बन्यो, काँधमाथि काँध राखेर काम गर्ने जुन जोश–जाँगर थियो, त्यो मेरो दिमागबाट कहिल्‍यै पनि हटेन।

त्यहीं चिनजान भएका थिए मनहर, जसले मलाई रिपोर्टर बन्‍ने सपना उधारोमा दिएका थिए। रिपोर्टर बनाउने सपना उसको थियो र म रिपोर्टर बनें। मनहरबाट मैले धेरै कुरा सिक्‍ने मौका पाएँ र उनीसँगै धेरै बसाइहरु बसें जुन अहिले पनि मेरो मानसपटलमा ताजा भएर रहेका छन् ।

अर्कोतिर एउटा सोचमा डुबेका मान्छे काम गरिरहेका हुन्थे जसलाई हामी अहिले पनि बाबा भनेर बोलाउँछौं, उनी हुन् मनोरञ्जन भारती। जहिले भेट्दा पनि उसले मलाई भन्थ्यो, ‘काम सिक्नु है, सम्पादन गर्न पनि सिक्नु अनि रिपोर्टिङ पनि गर्नू, अनुवाद पनि गर्नू।’

बाबा आफूलाई पछाडि राखेर पनि अरुलाई अगाडि बढ्‍ने हौसला दिइरहन्थे। मनहरपछि बाबाले यो सबै जिम्मेवारी आफ्नो काँधमा लिए कि अब हामी दुवैलाई जसरी पनि रिपोर्टर बन्नु छ। तर रिपोर्टर बन्‍ने मौका भने मलाई मिल्यो। सुटिङ गरेर फर्किएपछि कम्प्युटरको छेउमा एउटा सानो डायरी राखिदिनु अनि भन्नु कि लेखिदिनुस्। बाबा सधैं नै सुटिङबाट काम सकाएर आउने गर्दथे। अनि लाग्थ्यो, आफ्नो र अरुको पनि काम कसैले निकै मिहिनेत गरेर फर्किएको छ।

बाबाको यही सामान्य कुरा हामीभित्रको आत्मविश्वास जगाउने काम गर्दथ्यो। मलाई यही कुराले सधैं खुसी बनाउँछ कि रुघाखोकी लागेका बेला पनि मनोरञ्जन भारती (बाबा) रमन म्यागासेसे घोषणाको दिन पनि कार्यस्थलमा उपस्थित भएका थिए। तर यति मात्र भनेका थिए कि तपाईंलाई भोलि आउनु अनिवार्य छ, मलाई रुघा लागेको छ। फेरि पनि आए। बाबासँग मैले एक चिज चाहिं चोरें। त्यो भनेको बाबामाथि असुरक्षा छैन। मलाई हुर्काए अनि सधैं हुर्किएको देखेर आफ्नो छाती उँचो बनाए। बाबा तपाईं यो मायालाई कहिल्यै बुझ्न सक्दैनौ।

गुड मर्निङ इन्डिया बन्द हुने बित्तिकै पाँचौं तलाबाट दोस्रो तलामा आइयो। जहाँ धेरै प्रतिभाहरुले आ-आफ्ना आकार लिइरहेका थिए भने कोही एकापसमा ठोक्किइरहेका थिए। यही बीचमा हामी सबै छेउमा रहेको गोलो टेबलमा आ-आफ्नो ठाउँ खोजी गरिरहेका थियौं। जहाँ वर्तिकादेखि लिएर निडर एकता कोहलीसम्‍म। एकता कोहलीले त्यतिबैले बोल्न सिकाइन्। तर ठीकसँग बोल्न आएन। हितेन्द्र, उदय, विजय त्रिवेदी, प्रितपाल कौर, विजय त्रिवेदीसँग भेटघाट भयो। विजयको डायरी कसले पो चोर्न खोजेनन् होला। कति पटक मागे, दिएनन् पनि। हो, त्यही गोल डेस्क हिन्दी डेस्क भनेर चिनिन्थ्यो। एक दिन त्यो डेस्क ठूलो भयो र एनडीटीभी इन्डिया च्यानल बन्यो। त्यसपछि त अरु च्यानलबाट पनि कैयौं साथी आए र कतिपय साथी हिंडे र कतिपय भने जहाँको त्यहीं बसे।

दिबांग, एनपी सिंहसँग भेट भयो। तब कति धेरै नयाँ मान्छेको आउजाउ हुन्थ्यो। त्यो बेलाको राम्रो, नराम्रो अनुभव सबै धुमिल भइसके। तर ती सबै यादहरु अहिले पनि ताजै छ। म ती सबै अनुभवहरुलाई महिमामण्डन गर्न चाहन्‍न किनकि सबै प्रकारका अनुभवको एक किसिमको भूमिका हुन्छ व्‍यक्ति र संगठनको भूमिकामा।

यद्यपि, यही कार्यक्षेत्रमा एक जना डाक्टर पनि थिइन्, डा. नाजली। जो आजसम्म मेरो चिन्‍ता गर्छिन्। धेरै वर्ष पहिले हामीहरुलाई यहाँ टीका पनि लगाउन अवसर मिल्यो। कति धेरै यादहरु जोडिएका छन् झन् त्यहाँ। आरफा, अभिसार, प्रसून सबै यहीं भेटेका थियौं। जो यहाँबाट गएर पनि आफ्नो काम गरिरहेका छन्।

दोस्रो तलाको संसार नै कमलको थियो, यहाँ आउने बित्तिकै डा. रायलाई हेर्नुपर्‍यो। राधिका रायलाई पनि। मलाई डा. रायको त्यो भाषण याद छ, जब स्टारभन्दा पर रहेर एनडीटीभीलाई आफ्नो च्यानल बनाउनु थियो। उनले एउटा कुरा भनेका थिए कि सबैको एउटा आफ्नै स्टाइल हुनेछ। मात्र कसैले पनि कानुनी गल्ती नगरोस् र सतर्क रहोस्। एउटा डेस्क हुनेछ जसले कपी चेक गर्नेछ तर उसको निर्णय अन्तिम हुने छैन। डेस्कको सम्पादक र रिपोर्टरबीच बहस हुनु जरूरी छ। चर्काचर्की पनि हुनुपर्छ कि यो सही हो र यो होइन भनेर।

तर धेरै मानिसले यी कुराहरु भुलिसके, मलाई त्यो तादात्म्य भने याद रह्यो। हुन त सबैको लागि थियो। तर त्यो स्वतन्त्रता मैले भने आफ्नो जीवनशैलीमा अपनाएँ। राजदीप हिंडेपछि उनले मलाई भनेका थिए: तिमी जस्तो चाहन्छौं त्यस्तै लेख र काम गर। तिम्रो आफ्नै स्टाइल छ। त्यसलाई धेरै जाँचबुझ नगर। मात्र कानुनी कुरालाई ध्यानमा राख्‍नु किनकि त्यो एउटा महँगो झट्का हो। यसले हाम्रो धेरै समय बर्बाद गर्छ।

त्यतिबेला पनि डा. रायले भनेका थिए, तिम्रो रिपोर्टको अलग्गै शो हुनुपर्छ, त्यो पनि तिम्रो नामबाट। रविशको रिपोर्ट भनेर।

पहिलो पटक उनले त्यो कुरा भनेका थिए। पछि आनिनको समयमा यही नामबाट सार्वजनिक भयो। तर भनेको बेला भने सार्वजनिक भएको थिएन। तर म त्यही तरिकाले काम गरिरहें। यो सही हो कि त्यसपछि डा. रायले मेरो काममा एक पटक पनि रोकटोक गरेनन्। यो कुरा पनि एउटा ध्रुवसत्य नै हो। म के भन्‍नु र लेख्नु। यही कुरालाई लिएर कहिल्‍यै पनि मलाई डा. रायले इसारा गरेनन्।

डा. राय धेरै राम्रो सुट लगाउने गर्थे। कहिलेकाहीं लाग्थ्यो– आफ्नो कोट र टाइ मलाई दिएको भए ! उनीसँग त्यो कोट र टाइ माग्‍ने हिम्मत कसैसँग थिएन। तर मागेको भए चाहिं पक्का दिन्थे।

उनले विदेशबाट ल्याएका चकलेटको भने याद छ मलाई। त्यसका पनि धेरै किस्साहरु छन्। जब डा. राय मेरो स्टोरीको लिंक पढ्थे, त्यो साँझ आफैंमाथि बिन्दास हुने साँझ हुन्थ्यो। सबैले उनलाई प्रणय नै भनेर बोलाउँथे। तपाईं कसैको पनि सर हुनुहुन्थ्यो, न तपाईंको सरमा प्रणय राय हुने घमण्ड देखियो।

राधिका रायले जब न्यूजरुम छाडिन्, त्यसपछि स्क्रिप्टको त्यो गुणस्तर कहिल्‍यै पनि फर्किएर आएन। म उनको लेखाइको सधैं कायल रहें। स्क्रिप्ट लेख्ने समय थरीथरीका प्रश्‍न सोध्नमा उनीसँग कोही पनि सक्दैनथे। ग्राफिक्सदेखि लिएर सम्पादन र भिजुअलमा पनि उनी निकै उत्कृष्ट थिइन्। बाहिर सुटिङ गरिरहेका मानिसहरुको दिमागले भन्थ्यो कि कतै मिसेज रायले देखिन् भने त ! उनको प्रश्‍नको सामना गर्न सक्‍दैनथे र जब प्रशंसा हुन्थ्यो त लाग्थ्यो कसैले पनि रोक्‍न सक्दैन।

म यो कार्यालयमा चिठ्ठी छाट्‍नेदेखि लिएर समूह सम्पादक पनि बनें। यही कार्यालयमा मेरो एउटा अर्को रेकर्ड पनि रह्‍यो घटुवाको। केही घण्टाका लागि मलाई रिपोर्टरबाट घटुवा गरिएको थियो। त्यो बेला मलाई आयशा कगल र राधिका बोर्डियाले बचाएका थिए। बाबाले राजदीपलाई भने। राजदीपले पनि कुरा गरे। त्यति बेलासम्म हंगामा मच्चिएको थियो।

र त्यस दिनदेखि मेरो दुनियाँ नै बदलियो। मेरो अनुभवको गहिराइमा धेरै कुरा भए पनि मलाई त्यस दिन राधिका रायले मलाई बचाइन्। त्यसले मलाई पुन: रिपोर्टरमा फर्काइदियो। त्यो पत्र आज पनि मसँग सुरक्षित छ। मैले त्यो पत्र प्रत्‍येक वर्ष पढ्‍ने गरेको छु। डा. राय र राधिका रायलाई धन्यवाद गर्न चाहँदिन। त्यसले सबै कुरा समाप्त हुन्छ किनकि धेरै कुरा भन्न बाँकी छ।

मैले कुराकानी गर्दा पैसा मागेको थिइनँ। रातो माइक मागे जसलाई उनले मेरो घर पठाइदिएकी थिइन्।

यो एउटा निकै सुन्दर कुरा हो कि राधिका रायले आफ्नो एनडीटीभीको एउटा सानो हिस्सा मलाई सुम्पिदिइन्। जिन्दगी यादहरुको यात्रा हो। मबाट केही गल्ती भएको होला। भएकै होला। त्यसलाई बिर्सिदिनुस्।

तपाईंले एउटा च्यानल मात्रै होइन सानो एउटा भारत नै बनाउनुभएको थियो जहाँ आसामदेखि बानो हरालु, ओडिसादेखि सपद महापात्रा, हैदराबाददेखि उमा तथा टीएस सुधीर र कलकत्ताबाट मोनी दी  निकै चर्चित थिए। केरलका बाबी नायर पनि थिए। चेन्नईबाट सैम डैनियल तथा संजय पिंटो तथा झेनिफर। बंगलुरूबाट माया शर्मा। एउटा विहारी यत्रो सबै भारतको सबै आश्चर्य र आनन्द उठाएर बाँचिरहेको छ।

पत्र धेरै लामो हुनेछ। मैले यहाँ केही शानदार भिडियो सम्पादक भेटें। श्रीनि, रमन, दुई जना प्रवीण, कुलदीप, संजय, प्राणेश, भरत, समय गजबका मान्छेहरु थिए। सैन्डी संदीप बलहारा एक सम्पादक थिए। उनी आफ्नै मनका मनमौजी, तर कहिलेकाहीं मन चलेमा शानदार सम्पादन भइजान्थ्यो।

मलाई अचम्म लाग्थ्यो कि यी सबै सम्पादकहरु मेरै स्टोरीको समयमा एक ठाउँमा भेला भइसक्थे कि सबैसँग यस्तै हुन्थ्यो ? सबै एकसे एक वरिष्ठ सम्पादकहरु थिए, जब म नयाँ रिपोर्टर थिएँ, त्यतिबेला पनि उनीहरु जीउज्यान लगाएर हेर्दथे। त्यस्तै क्यामरा म्‍यानहरु पनि त्यस्तै थिए। यति सम्‍मान त यहाँ आउनु अगाडि कहीं पनि भएको थिएन। नरेन्द्र गोडावली, धनपाल, कानन पात्रा, जितिन भुटानी, मोहम्मद मुर्सलिन, आजम, मनोज ठाकुर, शशि, लाइली, नताशा बधवार। रुपने पाहवा तपाईं याद आइरहनुहुन्छ। नरेन्द्र गोडावली तथा धनपाल सबैभन्दा वरिष्ठ क्यामरापर्सन थिए। जब उनी मसँग सुटिङ गर्थे त सबैभन्दा जुनियर बनेर रहन्थे। यो त्यो टिमवर्क थियो जुन मैले एनडीटीभीमा भएको बेला देखें र मेरो आफ्नै जीवनको हिस्सा पनि बन्‍यो।

प्रेम, सुधीश राम, पूजा आर्या, अनामित्रो चकलाध पनि याद छ मलाई। शारिकसँग पनि यहीं भेट भयो जो क्‍यामेरा छाडेर रिपोर्टर बन्न चाहन्थे। पटनाके हबिब तथा भोपालको रिवाज तथा मुम्बईको राकेशलाई भुल्न सक्दिनँ। कानन, राकेश तथा सचिनप्रति आभार। तपाईंहरु तीनैजना कोभिडको समयमा घरमा आएर धेरै चिज सम्हालिदिनुभयो। सचिन विना त समय कटाउनै मुस्किल हुन्छ। तपाईंहरु सबैले मलाई विरामी भएको देख्नुभयो तर कामसँग कहिल्‍यै पनि सम्झौता गर्न दिनुभएन।

देवना द्विवेदीले मलाई कहिल्‍यै पनि हुन्न भन्नु भएन। जेभन्दा पनि उहाँले त्‍यसको सजिलै बाटो निकालेर दिनुभयो। सधैं यो तपाईंकै हो भनेर हक लगाएर प्रयोग गर्नुस् भनेर आँट र भरोसा दिनुभयो। बंदनाको एउटा कथा बताउन चाहन्छु यहाँ। स्वतन्त्रताको ५० वर्षमा मैले एउटा स्क्रिप्ट लेखेको थिएँ जुन त्यो सिरिजको ब्रिफ भन्दा पनि निकै फरक थियो। पढ्दै बंदनाको आँखा चम्कियो र उनले भनिन् : शानदार छ। त्यसपछि उनले आफ्नो घरमा लिएर गइन्। उनको बुवा र ससुराले उक्त स्क्रिप्ट पढे र आएर उनीहरुले पनि भने: शानदार छ।

जब उक्त विशेष कार्यक्रम चल्यो हंगामा मच्चियो। रजत निर्माता थिए, पछि रविश रिपोर्टको निर्माता भए। एनडीटीभी इन्डियाका प्रोडक्शन टीम मात्र यही कुरालाई लिएर बहस गर्ने गर्थे कि कसरी फरक तरिकाले गर्ने। स्रोतसाधन कम छ तर त्यसको चिन्ता छैन। गर्ने त अलग नै हो। जब प्राइम टाइमको कसैले अलग समीक्षा गर्नेछन् त्यतिबेला दुई निर्माताले फरक तरिकाले सम्झनेछन्। स्वरलिपि तथा विपुल पाण्डे।

दुई जनाले कसरी शो गरे त्यो त उनीहरुले नै बताउन सक्छन्। मेलै धेरै पटक भनेको थिएँ कि आज मेरो मन छैन। तर उनीहरु दुई जनाले कहिल्‍यै पनि भनेनन् कि हाम्रो पनि मन छैन आज। स्वर गएपछि म त टुटिसकेको थिएँ तर विपुल पाण्डेका कारणले म फेरि सम्हालिन पुगें। मनप्रित, ग्रेट डाइरेक्टर रचना, शानदार डाइरेक्टर शिवानी शूद तथा अनुदीप, बिस्वा, सम्मी। कार्यस्थल आउँदा सम्मी साहबले बनाएको खाना खान्थे। तपाईंहरु सबैको कहानी र झगडा याद छ मलाई। पीसीआर टीको त झनै कुनै जवाफ नै छैन। जो हिंडिसके र जो बाँकी रहेका छन्। अब त म पनि हिंडिसकेको छु एनडीटीभीबाट। तर पनि तपाईंहरु सबैजना धेरै याद आउनुहुन्छ मलाई । शिवानी शूद तिमी शानदार छौ। नरुनू है। अलिकति पनि होइन। एक जना पायल थिइन्। उनी मेरो जीवनबाट कहिल्‍यै पनि जान सक्दिनन्।

धेरै अप्ठ्यारो महसुस भइरहेको छ। एउटा एउटा नामसँग आफ्नो यो यात्रालाई सम्झार्न अनि याद गर्न। संजय अहिरवाल र महुआ चौधरीलाई सम्झिरहेको छु। संजय सधैं गलतलाई नजिकबाट चिनिहाल्थे। आनिनको आत्मविश्वास र उनको जानकारीले संसार नै चकित पर्थ्यो। आनिनका कारण पत्रकारिताको पेशालाई भित्रैबाट चिन्न सकें र सिक्न पनि पाएँ। सुनील शैनीसँग धेरै राम्रो सम्बन्ध बनिसकेको थियो। काम सँगसँगै हुन्छ र हुँदैनको बहसबीच उनलाई हेरेर आफू समन्वय गर्न सिकें। उनी शानदार नेतृत्वकर्ता हुन्। उनको कठोरताका कारण धेरैले आफ्नो समस्‍याका कथा छन् र ती कथाहरुबीचमा सुनीलको गुण देखे, त्यसले मलाई धेरै सहयोग मिल्‍यो। सायद सुनीलको कामै यस्तै थियो कि उनको भागमा नै सबै चिज राम्रो आउँदैन। पर्दा पछाडि बसेर काम गर्नेहरु आफैंले आफैंलाई कृतज्ञता भन्छन्। तर उनको काम कतैबाट पनि कृतज्ञता गर्ने खालको छैन।

अखिलेश, निहाल, सुनील सिंह मुम्बई, अभिषेक शर्मा मुम्बई, सोहित र पुजा भारद्वाज, पुर्वा चिटनिस मुम्बई, राजीव पाठ, अहमदावाद, हर्षा कुमार सिंह जयपुर, श्रीनगरबाट नाजिर साहब, तपाईंहरु हाम्रो यादका अंश हुनुहुन्छ।

जब कोही एनडीटीभी छाडेर जान्‍थे, गुडबाय मेल लेख्ने गर्थे। मैले धेरै जनाको गुडबाय मेललाई सम्हालेर राखेको छु। कतिपयको त प्रिन्ट लेआउट नै आएको थियो। कोहीले त धेरै नै राम्रो गुडबाय मेल लेखेका पनि थिए। केहीको गुडबाय मेलले खुसी पनि भएँ त केहीकोले निकै स्तब्ध नै बनायो। त्यसैकारण यसको कोमाथि के असर पर्‍यो होला, मलाई त थाहा छैन। तर गुडबाय मेल आफैंमा एउटा गज्जबको साहित्य हो।

जसले पनि यो मेललाई हेर्न सक्छन् कि एनडीटीभी छाडेपछिको समयमा के के कुरालाई याद गरेका थिए। कति सम्झन्छन् र याद गर्दा रहेछन्। तर थोरै यादहरुलाई भने मेल निकै कम छन्। तर मेरो गुडबाय मेल साँच्‍चै नै लामो भएछ ! जो जो यहाँ छुट्नुभयो, उहाँहरु मेरो हृदयमा हुनुहुन्छ। समय समयमा याद आइरहनुहुनेछ। यो पत्रमा नाम मात्र नामको छैन। प्रत्‍येक नामसँग केही न केही साइनो गाँसिएको छ, राम्रो पनि नराम्रो पनि।

तारा राय, तपाईं जति नै शान्त भए पनि तपाईं मेरो मानसपटलबाट हराउनुहुन्न। तर तपाईंको यो अन्दाज धेरै मन पर्छ। पर्दा पछाडि रहनु पनि एउटा कला हो। कम बोल्नु झन् त्योभन्दा धेरै झटिल कला हो। तारा यो विछोडको दिन हो तर तपाईं आकाशतर्फ हेर्नुस्। त्यहाँ कति धेरै ताराहरु छन्। यस्तो होइन कि मेरो कुराले कसैलाई चोट नपुगेको होस्। कुनै अप्ठेरो नपरेको होस्। तर सुन्‍नुहुन्छ भने मलाई माफ गर्नुस् है। सबैसँग विनाशर्त राखेर माफी माग्दैछु। तपाईंको सहयोग, रिस, मायाको सामू मेरो शिर झुकाउँछु। तपाईंको माया मिलिरहोस्। म अब हिंडिसकेको छु।

यो बिदाइ पत्रमार्फत केही समयको लागि मात्र फर्किएको छु। जानु पनि यसैलाई भन्छन् कि गएकै छैन जस्तो। लागोस् कि कतै फेरि त आएनन्। जहिले पनि आउन सक्छ ! तपाईंहरु पनि सबै यही हो, जसको कारण करोडौं दर्शकसामू पुग्‍न सकें। म तपाईंहरुकै मिहिनेतको एउटा अनुहार हुँ। बाहिर दर्शकहरु उदास छन्, भित्र तपाईंहरुमध्‍ये पनि धेरै जना। केवल यही च्यानल बदलिरहेको छ। यो देशमा प्राय: धेरै समय बदलिइरहेको छ। तपाईंहरु पनि सबै इतिहासको पानामा महत्वपूर्ण मोडमा उभिनुभएको छ, फर्किएर हेर्दै गर्नुहोला।

 कति धेरै सपनाहरु यहाँ पूरा भए, त्यसको कुनै हिसाबकिताब नै छैन। कतिपय चिज त यस्तो पनि भयो होला जुन सपना भन्दा पनि कम थिएन होला। एउटा सपना भने अधुरै रह्‍यो। सोचेको थिएँ कि यहींबाट अवकाश लिन पाऊँ। सबै सहयोगीहरु मलाई भर्‍याङदेखि अर्चनाको पार्किङसम्म आउनेछन् र म त्यहाँ फर्किएर गुडबाय भनुँला। तर त्यस्तो भएन। ठीक यसको उल्टो लगातार कहीं पनि नरोकी हिंडिसकेछु।

उही तपाईंको

रविश कुमार

अनुवाद : सहदेव चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?