+

पारा तेक्वान्दोः ग्राण्ड प्रिक्स फाइनलमा सृजनालाई स्वर्ण, विश्व वरीयतामा छलाङ

२०७९ मंसिर  २३ गते ८:०२ २०७९ मंसिर २३ गते ८:०२
पारा तेक्वान्दोः ग्राण्ड प्रिक्स फाइनलमा सृजनालाई स्वर्ण, विश्व वरीयतामा छलाङ

२३ मंसिर, काठमाडौं । नेपालकी सृजना घिसिङले विश्व पारा तेक्वान्दो ग्राण्ड प्रिक्स फाइनल (जी१०) प्रतियोगितामा नेपालका लागि स्वर्ण जितेकी छन् ।

साउदी अरेबियाको रियादमा गएराति सम्पन्न फाइनलमा पारा तेक्वान्दो के ४४ विधाअन्तर्गत ५२ केजीमूनि तौलसमूहमा विश्व वरीयताको शीर्ष स्थानमा रहेकी क्याभडर मेरयेम बेटुललाई १२-० अंकका आधारमा पराजित गर्दै ऐतिहासिक स्वर्ण जितेकी हुन् ।

नेपाली पारा तेक्वान्दो खेलाडीले ग्राण्ड प्रिक्स फाइनल खेलेको यो पहिलोपल्ट हो । नेपालबाट सृजना र ओलम्पियन पलेशा गोवर्द्धन सहभागी थिए ।

के ४४ कै ५७ केजीमूनि तौलसमूहमा सहभागी पलेशा भने क्वाटरफाइनलमै इरानकी इव्राहिमी रोजासँग ८-२ अंकका आधारमा पराजित हुँदै बाहिरिएकी थिइन् ।

सृजनाले क्वाटरफाइनलमा विश्व वरीयताको दोस्रो स्थानमा रहेकी मेक्सिकोकी जेसिका क्वीजानोलाई प्रतिस्पर्धात्मक खेलमा ८-७ अंकका आधारमा पराजित गरेकी थिइन् । सेमिफाइनलमा तेस्रो वरीयताकी ब्राजिली खेलाडी क्रिष्टियन नासिमेन्तोलाई १५-१३ अंकका आधारमा हराइन् ।

यो स्वर्ण जितेपछि सृजनाले पारा तेक्वान्दोको आफ्नो तौलसमूहको विश्व वरीयतामा छलाङ मारेकी छन् । १४औं वरीयतामा रहेर प्रतियोगिता खेल्न साउदी पुगेकी उनी फर्किँदा सातौं वरीयतामा उक्लँदैछिन् ।

सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने पारा ओलम्पिकमा सिधा सहभागिताका लागि विश्व वरीयता निकै नै महत्वपूर्ण छ । नेपाल तेक्वान्दो संघले खेलाडीको वरीयता सुधारकै लागि ग्राण्ड प्रिक्स फाइनलमा सहभागी गराउने निर्णय गरेको हो ।

यो स्वर्ण जितेर १०० अंक कमाएकी सृजनाको अहिले ११२ अंक पुगेको छ । पेरिस पारा ओलम्पिकमा हरेक तौलसमूहमा शीर्ष ६ स्थानमा रहने खेलाडीले सिधा छनोटको अवसर पाउँछन् । त्यसका लागि सृजनाले यस्तै प्रतिस्पर्धा अझै जित्नुपर्नेछ । टोकियो पारा ओलम्पिकमा दुई वर्षअघि पलेशा गोवद्र्धनको सहभागिता वाइल्ड कार्डमार्फत भएको थियो ।

पारा तेक्वान्दोमा के ४४ विधा भनेको दुईमध्ये एउटा हातको कुहिनाभन्दा मूनिको भाग नहुनु हो । नेपालका दुवै खेलाडी एउटै विधाका हुन् । त्यसो हुँदा घरेलु प्रशिक्षणका क्रममा पनि एकअर्कालाई सहयोग भइरहेको छ ।

सृजनाले यसअघि एसियन पारा युथ गेम्समा रजत पदक जितेकी थिइन् । त्यस्तै डब्लूटी प्रेसिडेन्ट कपमा पनि उनले रजत जितेकी थिइन् ।

ग्राण्ड प्रिक्स फाइनल पारा तेक्वान्दाे सृजना घिसिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय